मेलम्ची खानेपानी वर्षा सुरु भएपछि नआउने

बैशाख २७,२०८१

-आस्था न्यूज

बैशाख २७, २०८१ काठमाडौं ।
काठमाडौं उपत्यकामा आइरहेको मेलम्ची खानेपानी वर्षा सुरु भएपछि नआउने भएको छ ।
 
मेलम्ची खानेपानी आयोजनाले उपत्यकामा पानी सुरुङमार्फत पठाउन प्रयोग हुने मुख्य स्थान हेडवर्क्स नै स्थायीरूपमा निर्माण गर्न नसक्ने भएपछि बाह्रै महिना मेलम्ची पानी उपत्यका ल्याउने योजना अधुरो हुने देखिएको हो ।
 
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा मेलम्ची आयोजनाको अस्थायी मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति  गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । तर, यो पटक पनि वर्षामा पानी नआउने पक्कापक्की भएको छ ।
 
१ असार २०७८ को बाढीले निर्माण सकिएको पानी छान्ने संयन्त्रसहित पक्की हेडवर्क्स पुरेपछि वर्षैपिच्छे वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलाको पानी सोझै सुरुङमा हालेर काठमाडौं ल्याउने गरिएको छ, तर यसपटक पनि त्यस्तै हुने भएको हो ।
 
३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पुर्‍याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्ची पानी ल्याउने नमिल्ने अयोजनाले नै जनाएको छ ।