बुधबारदेखि टेलिकमको देशका २६ वटा सहरमा फोरजी सेवा सुरु

आश्विन १५,२०७६

-

असोज १५,२०७६ काठमाडौं ।
नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।
 
टेलिकमले मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।
 
त्यस्तै, साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो ।
 
पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उहाँले बताउनुभयो । ‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ ।
 
नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ ।
 
फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम कार्यालयमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।