क्यान इन्फोटेक २०२०

क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुदै

प्रवेश टिकट लाई पेपरलेस गरिने, पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला हुने

पौष ०२,२०७६

-पारस पोखरेल

२०७६ पुस २ गते बुधबार

काठमाडौँ l क्यान इन्फोटेक २०२० आयोजना हुने भएको छ l क्यान इन्फोटेक २०२० का सन्दर्भमा क्यान महासंघ द्वारा राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी दिईएको हो l यस पटकको क्यान इन्फोटेकलाई प्रभु -पेले प्रयोजन गर्ने भएको छ l

 

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ  । ६ दिन सम्म चल्ने सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो ।

 

सन २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गर्ने भएको छ  । प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल , कणार्ली प्रदेशको सुर्खेत र सुदरपश्चिम प्रदेशको धनगढीमा प्रदेश स्तरिय तथा प्रदेश ५ को नेपालगञ्ज मा जिल्ला स्तरिय प्रर्दशनीको आयोजना गरिने क्यानले बताएको छ  ।

 

२६ औं क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे, एसोसिएट प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड,  अफिसियल इन्सोरेन्स- प्रभु इन्सोरेन्स  तथा टिकट पार्टनरमा इ-पे ले प्रायोजन गरेको छ । सिल्भरप्रायोजन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन ले गर्ने भएको आयोजकले बताएको छ ।

 

यस पटकको सबै इन्फोटेकहरुमा प्रवेश टिकट लाई पेपरलेस गरिने भएको छ l   क्यान इन्फोटेक २०२० का लागि मिति २०७६ पौष ६ गते देखि अनलाईन बुकिङ्ग समेत खुल्ला गरिने छ l

 

पत्रकाहरुको प्रश्नको जवाफ दिदै क्यान महासंघका अध्यक्ष नारायण कुवरले सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने साथै एकै थलोमा नयाँ–नयाँ प्रविधिको प्रदर्शनी र उपकरणको अवलोकन तथा खरिद गर्न पाईने यस मेलामा चार लाखले अवलोकन  गर्ने  भन्दै सरकारको सहभागिताका लागि पहल भईरहेको  र अवलोकन कर्तालाई आकर्षणका लागि नयाँ कार्यक्रम समेत ल्याउने बताउनुभयो    ।

 

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको हो । यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने साथै  स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य लिईएको पत्रकार सम्मेलनमा महासचिव नारायण थापाले जानकारी दिनुभयो  ।

 

कार्यक्रममा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले प्रभु- पेले फरक रुपमा डिजिटलकरण गर्दै आफ्नो सेवा विस्तार गरिरहेकोले क्यान इन्फोटेक २०२० लाई पनि डिजिटल बनाउन सहभागी भएको जानकारी दिनुभयो l  

 

क्यान इन्फोटेक २०२० मा विभिन्न खण्डहरु रहने छन् जसमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थी द्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने क्यानले बताएको छ  ।

 

 

यस पटकको क्यान इन्फोटेक २०२० मा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।

 

 

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने बताईएको छ  ।

 

 सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो । क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित भएको थियो  ।