क्यान इन्फोटेकमा अवलोकनकर्ताको भिड

फाल्गुण ०३,२०७६

-

फागुन ३,२०७६ काठमाडौं ।
 
काठमाडौंमा जारी क्यान इन्फोटेकको दोस्रो दिन ७५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । 
 
क्यान महासंघका महासचिव नारायण थापाका अनुसार बिदा भएकाले पनि शनिबार अवलोकनकर्ताको संख्या बढेको हो । मेलाको पहिलो दिन आइतबार करिब ३५ हजारले अवलोकन गरेका उनले बताए ।
 
बुधबारसम्म हुने मेला ४ लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ । 
शनिबार क्यान इन्फोटेकमा अवलोकनकर्तालाई लक्षित गरी विभिन्न ब्राण्डले छुट र अफरको घोषणा गरेका थिए । त्यस्ता स्टलहरुमा अवलोकनकर्ताको भीड लागेको थियो ।
 
यो वर्षको क्यान इन्फोटकमा स्टार्टअप र इन्नोभेसनलाई विशेष महत्व दिइएको आयोजकले जनाएको छ । 
 
स्टार्टअप र नवीनतम प्रविधिमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न भन्दै क्यानले सार्बजनिक सूचना निकालेर तथा  विभिन्न विश्वविद्यालय र कलेजमा पत्राचार गर्दै बिशेष स्टल उपलब्ध गराउने जानकारी दिएको थियो । 
 
अन्य स्टलको तुलनामा स्टार्टअप र इन्नोभेसनका स्टलमा अवलोकनकर्ताको संख्या कम भए पनि अवलोकनकर्ताको लागि जानकारीमूलक भएको बताए ।
 
प्रदर्शनीमा विशेषगरी विद्यालय व्यवस्थपन सम्बन्धी सेवा दिने स्टार्टअप, टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने जस्ता इन्नोभेटिभ आइडियाहरु प्रदर्शनीमा राखिएका छन् ।
च्याम्पियनसिपमा दोटा टु र सीएसओ गेमको प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ । दुवै खेलमा विजेतालाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ । दुवै गेममा ८–८ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।