भगवान शिव र महाशिवरात्रिको महत्व: मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास

फाल्गुण ०९,२०७६

-

फागुन ९,२०७६ काठमाडौं ।
 
आज महाशिवरात्रि पर्व । पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ ।
 
शिवको अर्थ हुन्छ– कल्याण । भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ । त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन् ।
 
 
जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि ।
 
व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन् । महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।
 
शिवप्रिया रात्रिः शिवरात्रिः
 
शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ । मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए ।
 
कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ । शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ । भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो । महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ ।
 
शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ । यसै दिन शिव पार्वतीको विवाह भएको थियो । यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए ।
 
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन् । शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
 
पशुपतिनाथकै दर्शन किन ?
 
महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ । तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा दश लाख बढी दर्शनार्थी देश विदेशबाट आउँछन् । यस वर्षको महाशिवरात्री सोमबार परेको, सबै तिथि, करण, योग मिलेको हुनाले यो वर्ष अझ बढी श्रद्धालु भक्तजनको उपस्थित हुने अपेक्षा गरिएको छ ।
 
पशुपति नाथकै दर्शन किन गर्ने त रु पशुपतिनाथकै विषयमा विद्यावारिधि गरेका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डन भन्छन्– ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ । त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन् ।’ टण्डनको भनाइमा पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ । पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले मानिसहरु पशुपति नाथको दर्शन गर्छन् ।
 
फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्वपूर्ण दिनका रुपमा लिन्छन् ।
 
पूजा गर्ने विधि
 
भगवानको दर्शन कामना लिएर मात्र गरिन्न । व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ । सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ । शिवस्त्रोत्र पाठ, ध्यान, जप, शिवकिर्तन, महिमागान गर्ने वा ‘नमः शिवाय’ नामक पञ्चाक्षरी मन्त्र मात्रको जपले पनि शिव प्रसन्न हुनुहने र इच्छित कामना पूर्ण हुने उपप्राध्यापक पौडेलले बताए ।
 
पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ । मध्यरात शिवधुनी जगाइन्छ ।
 
शिवधुनी नै किन?
 
शिवरात्रिका दिन शिवधुनीमा साधकहरु मन्त्रमुग्ध हुन्छन् । व्रतालुले रातभर जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ । व्रत बस्नेले राति जाग्राम बसेपछि मात्र व्रत पूर्ण हुने भएकाले साधक रातभर जाग्राम बस्नुपर्ने उपप्राध्यापक पौडेले बताए । शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ । ४–४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ । शास्त्रमा यस्तो लेखिएको छ–
 
फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी ।
तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका ।।
 
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग ९मिलन० हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ । तर रात्रिमा जाग्राम बस्ने नाममा विष, भांग धतुरो खाएर लट्ठ हुने बानी भने धर्मका नाममा भित्रिएको विकृति हो ।
 
यसरी भयो प्रारम्भ
 
पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो रु भन्ने विषयमा विवाद भयो । विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे । त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए । पुराणमा भनिएको छ– ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः ।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए । यो लिंग निराकार ब्रह्मको प्रतीक हो ।
 
दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने– ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् रु यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए । त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ ।
 
पशुपतिनाथ त हरेक हिन्दुले एक पटक दर्शनको कामना गरेरै विश्वबजारबाट आउने गरेको डा। टण्डनले स्पष्ट पारे । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन् । हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ ।