Trending :
 

हे सरकार, किन घुमाएर मार्छो, सोझै मारिदेउ !

चैत्र २०,२०७६

-

•विनोद त्रिपाठी–
  तपाईलाई खोकी लाग्यो, रुघा लाग्यो । वा ज्वरो आयो । तर, अहिले तपाईले उपचार पाउनुहुन्न । तपाई फनफनी घुम्नुस, कसैले तपाईको कुरा सुन्नेवाला छैन । तपाईका आफन्त टाढिनेछन् । साथीभाईले चिन्ने छैनन् । बरु तपाईलाई कोरोना लागेको भन्दै क्वारेन्टाइनमा थुनिदिन्छन् । त्यहाँ तपाईले औषधी उपचार केहि पाउनुहुन्न । अनि तपाई मर्नुको विकल्प हुन्न । मरेपछि पनि तपाईको आत्माले सुख पाउन्न । दाहसंस्कार गर्न कोहि जाँदैनन् । किनकी तपाईलाई कोरोना लागेको आरोप लाग्नेछ ! 
 
 सरकारका सुचनाहरुले दिनदिनै भनिरहेको छ, रुघाखोकी, ज्वरो आयो भने तपाईलाई कोरोना भएको हुनसक्छ ।’ सरकारले जनतामा यसरी भ्रम छरिरहेको छ, मानौं कोहि खोक्दा खोक्दै क्षयरोग लागेर थला परिरहेको छ भने पनि उसलाई जर्वजस्ती कारोनाको तक्मा भिराइन्छ । उसलाई कोरोनाको आशंकामा ज्युँदै मारिन्छ । 
 
नरदेवी गुरुङदेखि बावुराम थापाको मृत्युको कारण ‘लकडाउन’
 
 धनकुटा महालक्ष्मी नगरपालिकाकी नरदेवी गुरुङलाई यहि चैत १८ गते मंगलबार विहान ज्वरो आयो । उपचार गर्न उनलाई धनकुटादेखि विराटनगरका विभिन्न अस्पताल पुर्याइयो । कुनै अस्पतालले उपचार गर्न मानेनन् । कर्मचारीदेखि चिकित्सकहरुले उनको गुहार कसैले सुनेनन् । त्यहि दिउँसो साढे तिन बजे उनको मृत्यु भयो । उनलाई कोरोना भएको थिएन । उच्च रक्तचापको कारण ज्वरो बढेको थियो । यदि उनले समयमै उपचार पाएको भए, उनि बाँच्थिन् । 
  पाल्पाका बावुराम थापा ज्वरो बढेपछि उपचारका लागि चैत १३ गते भैरहवा पुगे । कोरोना भएको शंकाकै भरमा उनलाई क्वारेन्टाइनमा राखियो । आफन्तलाई भेट्न दिइएन । उपचार पाएनन् । औषधी भएन । तिन दिनपछि उनको मृत्यु भयो । कोरोनाले होइन । टाइफाइडले उनको मृत्यु भएको पुष्टि भयो । चिकित्सक, कर्मचारी र सरकारका अधिकारीका कारण उनको मृत्यु भएको दुखेसो पोख्दै परिवारले अहिलेसम्म शव उठाउन मानिरहेको छैन ।
 
 चैत १५ गते शनिबार ।  भक्तपुरका राजेश श्रेष्ठको निधन भयो । मलामी पाउनै समस्या पर्यो उनलाई । राजेशलाई कोरोना भएको थिएन । बल्लतल्ल श्रीमती रिनाले छोराछोरीको सहयोगमा पशुपति आर्यघाटमा शव पुर्याइन् । दाहसंस्कारका लागि पैसा पुगेन । पशुपति विकास समितिले उनिहरुको रोदन सुनेन । निकै सोर्सफोर्स चल्यो । केहि मनकारीको जोडवलले बल्लतल्ल साँझमा राजेशको अन्त्यष्टि भयो । 
 रुपन्देही तिलोत्तमाकी लक्ष्मी परियार भारतवाट सुनौली आइन् । उनि सुत्केरी भएको १० दिन मात्र भएको थियो । आफ्नो घर बस्न आएकी उनलाई नेपाल सरकारले छिर्न दिएन । चैत १८ गते उनि भारततिरै फर्कन विबश भइन् । कति पीडा भोगिन् होला उनले । सुत्केरीको त्यो पीडामा सरकारले लकडाउनलाई ध्यान दियो, तर नागरिकलाई सुरक्षा दिन चाहेन । 
 माथि उल्लेखीत हृदयविदारक केहि घटना ‘लकडाउन’ले सृजना गरेका परिणाम हुन् । वाहिर आउन नसकेका यस्ता घटना कति होलान्, कसैले अनुमान गर्न सक्दैन ।  लकडाउन हुनु भन्दा पहिले यस्तै कहाली लाग्दो निर्मम सामाजिक परिवेश थिएन । जब सरकारले लकडाउन लगायो, अनि परिस्थिति यसरी बदलियो कि, समाज, आफन्त, साथीभाई र सरकार नागरिकहरुको पक्षमा रहेन । भाग्यले बाँच्नेहरु बाँचीरहेका छन् । नत्र, कोरोनाको भय देखाएर हाम्रो समाज नै हामीसंग टाढिरहेको छ । यो बातावरण सृजना गर्ने काम सरकारले गरिदियो । 
 
लकडाउन नभएपनि स्वस्थ रुपमा चलिरहेको छ, आधा विश्व
 
  धेरैलाई लागेको हुन सक्छ, लकडाउन लगाएका देश सुरक्षित छन् । यदि यो सोचिरहनु भएको छ भने, आंशिक गलत हुनेछ । यहाँ लकडाउनको विरोध गर्न खोजिएको होइन । तर, परिस्थितिले कोरोना रोक्न खोज्दा अन्य कारणले मृत्यु झेल्नुपर्छ भने लकडाउन लगाउनुको अर्थ के रह्यो र भन्न खोजिएको मात्र हो । 
 बेलारुस युरोपको ठुलो भुभागमा फैलिएको देश हो । यो देशमा अहिलेसम्म लकडाउन गरिएको छैन । बेलारुस सरकारले लकडाउन लगाउन आवस्यक छैन भनिरहेको छ । यहाँ कोरोना भाइरसका कारण भयावह स्थिति छैन । जहाँकी लकडाउन लगाएका युरोपका धेरै देशहरुमा कोरोनाका कारण हजारौं मानिस मरिरहेका छन् । बेलारुस सरकारले भनेको छ, जनतालाई दुख दिएर लकडाउन लगाउनुको अर्थ छैन ।’
 
 चीनवाट फैलिएको कोरोना भाइरसले विश्वलाई विरामी पारेको छ । तर, चीन वरपरका केहि देशहरुले लकडाउन लगाएका छैनन् । पुर्वी एशियाका केहि देशहरु लकडाउन नलगाएपनि कोरोनावाट कुनै नागरिकले ज्यान गुमाउनुु परेको छैन । भियतनाम । यो देशले अहिलेसम्म लकडाउन लगाएको छैन । लकडाउन नलगाएपनि कोरोना भाइरस फैलिएको छैन । चौपट धेरै जनसंख्या भएको देश हो यो । ९ करोड ६० लाख भन्दा बढि जनसंख्या भएको यो मुलुकमा कोरोना भाइरसका संक्रमित २ सय पनि नाघेको छैन । अहिलेसम्म कोरोनाले कोहि मर्न परेको छैन । 
 
 हङकङ, सिंगापुर, जापान लगायतका मुलुकले पनि लकडाउन लगाएका छैनन् । जापानले अन्तराष्ट्रिय उडान मात्र बन्द गरेको छ । आन्तरिक रुपमा निर्वाध तरिकाले जनजिवन चलिरहेको छ । नेपालले पनि यी उदाहरण सिक्न सक्छ । विदेशवाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न लगाएर देश भित्र निर्वाध काम गर्ने बातावरण सृजना गर्नुपर्छ । कुनै संवेदनशिल स्थानलाई मात्र ब्लक गरेर अनुशन्धान गर्न सक्छ । सिमानामा अनिवार्य कडाइ गर्न सक्छ । तर, लकडाउनले पारेको दीर्घकालिन असर बारे नेपाल सरकारले ध्यान दिएन भने अबस्था यो भन्दा जटिल बन्नेछ । कोरोनाबाट हामी एकजना बँच्न हामीले हजारौं नेपाली मारिहेका हुनेछौं ।
 
अहिले पीडा भोग्ने नेपालीले कोरोनाको ध्यान दिएकै छैन । उसलाई कोरोनाले भन्दा यस्ता अनेक समस्यावाटै ज्यान जाला जस्तो भएको छ । कोरोना वाहिर देशवाट आएको रोग हो । यो रोगको निदान भनेको सिमानाबाट आउनै नदिनु हो । किनकी हालसम्म देखिएका ५ जना संक्रमित पनि विदेशवाट आएका हुन् । उनिहरु निको हुँदैछन् । दुईजनालाई निको भइसकेको छ । त्यसैले, विदेशवाट आउनेलाई सम्मानपुर्वक क्वारेन्टाइनमा अनिवार्य राखेर आन्तरिक लकडाउन खोल्दै अन्य नागरिक बँचाउन सरकारले ध्यान दिने कि नदिने ?
 
नेपाली समाज कठोर वन्दै गयो 
 
लाग्छ, हाम्रो नेपाली गुण विस्तारै मर्दे गएको छ । हाम्रो गुण भनेको विवेक, संवेदनशिल, सहयोग, कोमल मन, माया, प्रेम थियो कुनै बेला । साँझमा टुप्लुक्क घरमा देखिएको अपरिचितलाई देउता सम्झेर घरको सबैभन्दा राम्रो ओछ्यानमा लगेर सुताउँथ्यौं । अहिले न घरमा हुनेहरुमा दया छ, न पाहुना हुनेहरु विश्वासी छन् । यति खराब निर्दयी वन्दैछौं हामी । 
 
हो अहिले कोरोना भाइरसको जोखिम छ । तर, कोरोनाको जोखिम छ भन्दैमा अन्य रोगले मानिस मर्देन ? अन्य रोग लाग्दै लाग्दैन त ? अरु रोगका कारण विरामी भयो भन्दैमा कोरोना भनेर अपराधी करार गरिदिने ? फेरि कोरोना भइहाल्यो भनेपनि उसको के दोष ? कति नबुझेको हामीले ? ‘प्रत्येक पाँचजना मध्ये एकजनालाई रुखाखोकी, ज्वरो, खोकी आदि नेपालीलाई भइरहन्छ ।’ अब ति नियमित हुने विरामीलाई कोरोना भयो भनेर उसलाई झन कष्ट दिने ? कति पापी भयौं हामी । कति अपराधी भयौं हामी । हे भगवान , केहि नेपालीलाई त बुद्धि देउ, बहुमत नेपालीहरुमा यति निर्दयिता कसरी कहाँबाट उत्पति भएको होला ! 
 
केहि दिनदेखि धेरै ब्यक्तिहरु उपचार नपाएका खबर सार्बजनिक भइरहेका छन् । विरामी भएर अस्पताल गएकाहरुलाई अस्पतालले चिकित्सकले शुरुमै कोरोनाको नजरले हेरिदिने रहेछ । आफन्त साथीभाईहरुले उस्तै ब्यवहार गरिदिने रहेछन् । फलानो चिकित्सक अस्पताललाई भनिदिन पर्यो भनेर उनिहरुको रोदन मात्र सुन्न परेको छ । लौन भगवान, उपचार गर्न पनि सोर्सफोर्स लगाउनुपर्ने ! कसरी बाँच्ने हो यो समाजमा ? 
 
 मानिसलाई नटोक्ने  जनावर( खशी, बाख्रा, रांगा, कुखुरा) को बध गर्छौं हामी । खुशीयाली मनाएर मासु खान्छौं  । तर, सडकमा छोडिएका कुकुरले दैनिक मानिसलाई टोकेर जिवनभर अपांग बनाइदिएकोमा पनि वेखुशी हुँदैनौं हामी । गत बर्ष मात्रै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा काठमाडौं उपत्यकाका कुकुरले टोकेका ३५ हजारले उपचार गराएछन् । टोक्ने कुकुर र कुकुर मालिकमा दया छ हामीमा । ति कुकुरले टोकेर अपांग हुनेप्रति अधिकारकर्मीहरुको प्रवचनले जिवनभर ति दुखी मुटुहरु  कति घोचिरह्यो होला ! यो कस्तो दया होला ?  सडकका कुकुरको ब्यबस्थापनको आवाज उठ्दैन यहाँ । तर, लाग्दै नलागेको कोरोना भाइरसको आरोप लगाएर मानिसलाई हामी मारिरहेका छौं । यो कस्तो, नर्कमा प्रवेश गरिरहेका छौं !
 
 सभ्य समाज र सकारात्मक सोचको विकास हुन सकेन सकेन, झन झन समाज अपराधीकरण तर्फ यसरी उकालो लाग्यो, मानौं नेपालीहरुको सबै पहिचान समाप्त भइसक्यो । केहि सहयागी मनहरुको संख्या झन झन सांगुरिदै गएको छ । कठोर मनहरु बढदै गएको छ । अहिले त झन यो कोरोनाको संक्रमणले अन्य रोगवाट मृत्यु भएका पीडित परिवारले मलामी पाउन नसकेका खबर सुन्न पर्दा हाम्रो नेपाली गुण अब के बाँकी रह्यो र ! साँच्ची नै यो समाज कता जाँदैछ ? विरामी हुँदैमा कोरोना करार गरिदिने यो समाजले कहिले सकारात्मक सोच्ला ? कोरोना लाग्दैमा मानिस मर्देन है भन्ने चेत्ने कहिले ? 
 सरकारका मन्त्री जनता रोइरहेको बेला देश लुट्न तछाडमछाड गरिरहेका छन् । जनता घर भित्र थुनिएका बेला सरकारका मन्त्रीदेखि विचौलियाहरु धमाधम सरकारी ढुकुटी रित्याइरहेका छन् । 
 हामी सरकारलाई अनुरोध गर्छौं, विदेशीको कुरा नसुन । नागरिकको कुरा सुन । कि जनतालाई सजिलै बाँच्न देउ । होइन, भने सोझै मारिदेउ । धनकुटाकी ५२ बर्षिया नरदेवी गुरुङका झैं अल्पायुमा घुमाएर नमारिदेउ । ज्वरो आयो कि औषधी नपाएर मर्नुपर्ने कहिलेसम्म ? हे सरकार जवाफ देउ । 
 
अहिले अन्य विरामीले एम्बुलेन्स पाएका छैनन् । केहि अस्पतालहरुले विभिन्न विरामीहरु भर्ना लिन मानिरहेका छैनन् । अस्पताल गयो कि सिधैं क्वारेन्टाइनमा हालिदिने । अनि न उपचार न कुनै हेरविचार । यस्ता छट्पटिएका हजारौं नेपालीहरु तट्पिरहेका छन् । आफन्तहरु गुहार मागिरहेका छन् । उनिहरुका आफन्त कति रोए होलान् । जुन कुरा पछिल्ला दिनहरुका दर्जनौं घटनाले पुष्टि गरिसकेका छन् । यी र यस्ता घटनाहरुले हामी भित्रको संवेदनशिलता मर्दे गएको केहि हदसम्म पुष्टि गरिसकेको छ । यो कठोरता हाम्रो समाजबाट कहिले हट्ला ? 
 (तस्विरहरु :  नयाँ पत्रिका,अन्नपुर्णपोष्ट,  विभिन्न अनलाइन र समाजिक संजाल )
 ( लेखक त्रिपाठी, नेपाली पत्रकारितामा चर्चित सम्पादक हुन् । उनले देश र जनताको पक्षमा खरो रुपमा कलम चलाउँदै आएका छन् ।)