रुकुमका युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय समिति गठन हुने

जेठ २३,२०७७

-

जेठ २३,२०७७ काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिममा भएको युवाहरुको हत्याबारे छानबिन गर्न संसदीय समिति गठन हुने बताएका छन् ।
 
जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले उक्त घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने बताएका हुन् ।
 
प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।
 
जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग विवाह गर्नका लागि पश्चिम रुकुम गएका थिए । रुकुम पश्चिम सोतीकी केटीको घरमा पुग्दा नवराज लगायत १९ जना युवाहरूलाई गाउँलेले लखेटेका थिए । ती युवाहरूलाई हत्या गरेर भेरी नदीमा फालिएको आरोप पीडित पक्षले लगाएका छन् ।
 
मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् ।
 
 
उक्त घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ । घटनामा संलग्न थप ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । कांग्रेसकी सचेतक पुष्पा भुसालले शुक्रबार पनि सरकारी समितिमा संसदले विश्वास गर्न नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेकी थिइन् ।
 
त्यसपछि सभामुख सापकोटाले संसदीय छानबिन समिति गठनको घोषणा गरेका हुन् ।