बाढी र डुबानले क्षति गर्न थालेपछि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

आषाढ २६,२०७७

-

असार २६,२०७७ काठमाडौं ।
 
अविरल वर्षापछि नदीमा आएको बाढी र डुबानले क्षति गर्न थालेपछि प्रदेश १ र प्रदेश २ का सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
 
शुक्रबार आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका छन् ।
 
उनले प्रदेशको आठवटै जिल्ला बाढीको उच्च जोखिममा रहेको भन्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
 
मुख्यमन्त्री राउतले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशनसमेत दिए ।
 
बैठकमा जोखिम न्यूनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारीबारे मुख्यमन्त्री राउतलाई जानकारी गराइएको थियो ।
 
प्रदेश १ मा सम्भावित जोखिम न्युनीकरणका लागि पूर्वतयारी अपनाउन जिल्लास्थित विपद व्यावस्थापन समितिलाई निर्देशन दिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।