शिव र साउने सोमबारको महत्व

श्रावण ०५,२०७७

-

साउन ५,२०७७ काठमाडौं ।
 
शिव वायुको रूप हो तर चन्द्रमा वायुभन्दा माथि रहेको हुन्छ। वायुबिना चन्द्रमाको कल्पना भने हुनै सक्दैन। त्यसैले शिवको शिरमा चन्द्रमा बसेका कारण शिवलाई सोमनाथ अथवा चन्द्रमाको मालिक भनिन्छ। 
 
चन्द्रमाका अनेक नाममध्ये एक सोम पनि एक हो। यिनै सोम शिवको शिरमा बसेका कारण सोमबार शिवको पूजा, अर्चना र उपासना विशेष रूपले गर्ने गरिएको हो। सोमबारमा पनि विशेषगरी पाँचवटा सोमबार साउन महिना शिवको आराधनाका लागि विशेष मानिन्छ। सूर्य कर्कट राशीमा प्रवेश गर्ने हुनाले साउन १ गतेलाई साउने संक्रान्ति पनि भनिन्छ। कर्कट राशीको स्वामी चन्द्रमा हुन्छ।
 
नेपालको राजधानी काठमाडौंमा रहेका शिवालयमध्ये विशेष रूपमा रहेको श्री पशुपतिनाथको मन्दिर प्राचीन कालदेखि नै विश्वभरका हिन्दुको प्रमुख आराध्यदेवको रूपमा विश्व प्रसिद्ध छ। पशुपतिनाथको मन्दिर सनातनीहरूको श्रद्धा र आस्थाको केन्द्रको रूपमा पूजनीय छ।
 
यसलाई पवित्र तीर्थस्थलका रूपमा विश्वका हिन्दुले लिने गरेका छन्। त्यसैले पशुपतिमा सधैंभरी भक्तजनको भीड लाग्ने गर्दछ। त्यसमध्ये प्रत्येक वर्ष साउन महिना, तीज र शिवरात्रीमा ठूलो भीड लाग्दछ। प्रत्येक फागुन कृष्ण चतुर्दशीका दिनमा शिवरात्री पर्व मनाइन्छ। यस दिन आराध्यदेव पशुपतिनाथ अर्थात् शिवजीको आराधना गर्दै देश विदेशबाट आउने सनातन धर्मालम्वीको ठूलो संख्यामा भीडका साथ दर्शन गर्ने गर्दछन्।
 
शिवको शुभजन्मको स्मरणोत्सव पनि यसै दिनमा मनाइन्छ। तर, हाम्रा प्राचीन ग्रन्थशास्त्रहरूले देवीदेवता ऋषिमुनि आदिको पूजाउपासना गर्न निश्चित पक्ष, तिथि र बार तोकिदिएको छ। एकादशीमा तुलसी र विष्णुको, मंगलवार गणेश, शनिबार पिपल, पूर्णिमाका दिन चन्द्रमा, आइतबार सूर्य भएजस्तै शिवलाई सोमबार पूजा गर्ने प्रचलन छ। भगवान् शिवका अनेक आभूषण, आयुध र गहनामध्ये शिरमा चन्द्रमा रहेको छ।
 
साउनको सोमबार महिला दिदीबहिनीले परिवारजनको सुस्वास्थ्य, दिर्घायू, मनोकामना सिद्ध होस् भनी ब्रत आराधना गर्छन्। प्रकृतिले पनि रुप परिवर्तन गर्ने र पृथ्वी नै हरियाली भएकाले शिव भगवान्को विशेष पूजाअर्चना गरी हरियो चुरा, हरियो पोते, हरिया वस्त्रलाई महत्वपूर्ण पहिरनका रुपमा महिलाले लगाउँछन्।
 
खेतीपातीको समयमा पनि किसानहरुले शिवको शिरमा गंगा बसेकी हुनाले गंगा नदीलाई सम्झी पूजाअर्चना गर्नुका साथै विभिन्न रोगबाट बचाउन शिवको आराधना गर्छन्। रोगबाट बचाउने भएकैले शिवलाई विद्यनाथ पनि भन्ने गरिन्छ।
 
शिवले पुत्र गणेशको शिरमा हात्तीको शिर प्रत्यारोपण गराउन लगाउनु भएको थियो। समुन्द्र मन्थन गरेर निस्केको विषलाई शिवले घाँटीमा राखेका कारण उहाँको घाँटी नीलो भयो, त्यसैले उहाँलाई निलकण्ठ पनि भनिन्छ। शिवको घाँटीमा बसेको बासुकी नागले कालकुट विषको प्रभाव कम गरेको थियो। 
 
ज्योतिषशास्त्र अनुसार काल सर्प योग पर्‍यो भने पञ्चमी तिथि वा सोमवार नागलाई दूध चढाउने गरिन्छ। नाग शिवको घाँटीमा बसेको एवं शिवसँग सोमवार साम्बन्ध रहेको हुँदा नाग पूजा पनि सोमबार गरिएको हो।
 
ज्योतिषशास्त्रले चन्द्रमालाई मनको कारक ग्रह मानेको छ। मन नियन्त्रण गर्नेले मात्र कामवासनालाई विजय गर्छ।  शिवले कामदेवलाई जित्नु भएको थियो। यसरी चन्द्रमा, गंगा, नाग, प्रकृति आदि सँग शिवको विशेष सम्बन्ध छ भने हरेक क्षेत्रमा चन्द्रमासँग नजिक भएका कारण उहाँको सोमबार पूजा उपासना गरिन्छ।