कोविड–१९ मा सरकारको अपराधपुर्ण भ्रष्टाचार

श्रावण १८,२०७७

Sabina Khatiwada

-

 
 
● सविना खतिवडा--
 
   हाल विश्वभरि नै फैलिएको कोरोना भाइरस ( कोविड–१९) महामारीका कारण ठूलो संख्यामा मानिसहरुले ज्यान गुमाउन परेको छ । अझै पनि यस भाइरसले विश्वभरि नै भयानक स्थिति सिर्जना गरिरहेको छ । 
 
 नेपालमा पनि कोरोना भाइरसका कारण मानवीय क्षति बढिरहेको छ । अर्कोतिर प्राकृतिक विपत्तिले पनि अहिले नेपालमा ठूलो समस्या उत्पन्न गराएको छ । बाढी पहिरोका कारण नेपालको विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । हजारौं मानिसहरू आपतविपत को सिकार बन्न पुगेका छन् । बस्ने घर, जग्गा बाढी पहिरोले तहसनहस बनाइदिएपछि हजारौं परिवार घरबार बिहिन भएका छन् । 
 यस्तो कोरोना महामारीको घडीमा अर्को डरलाग्दो पीडा भनेकोे सरकारले गरेकोे भ्रष्टचार होे । 
 
यसले जनता  कति पीडामा  परेका  छन् ।  तर नेपाल सरकार भने निदाइरहेको छ । आफ्नो कुर्सी बचाउने अभियानमा तछाड मछाड गरिरहेछ । वास्तवमा भन्नुपर्दा कोरोना भाइरसको डर, र यसले निम्त्याएको विभिन्न समस्याका कारण अन्य रोग लागेका मानिसहरूलाई अस्पतालसम्म पुग्ने वातावरण सिर्जना भएको छैन ।  अस्पताल पुगेकाहरुको पनि लापरबाही र बेवास्ता भएको कारण ज्यान गुमेको छ । रोग लागेपछि कोरोना नै हो भन्ने धारणाको कारण कैयौंले अकालमा ज्यान गुमाउन परेको छ । 
 
 नेपाल सरकारले हरेक योजना उपयुक्त बनाउन सकेको छैन । यस समयमा विभिन्न पीडामा परेका गरिबहरूको अवस्था हेर्दा सबैको आँसु खस्छ । तर जनप्रतिनिधीहरु भने कहाँ कहाँ पहिरो गयो, बाढी गयो, को को मर्यो , को मर्न बाँकी छ भनी फोटो खिचेर अवलोकन गरेको अवस्था भन्दै समाजिक संजालमा स्टाटस लेखेर हाल्न भ्याइसके । तर ती पीडित पक्ष लाई राहतको व्यवस्था गर्न त परै जाओस् । 
 
कोरोना महामारीका कारण कैयौं युवाशक्तिहरु विदेशी भूमिमा अलमलमा परेका छन् । अब नेपाल सरकारले हरेक पीडामा परेका मानिसहरूको उद्दार गर्न सफल भएन भने ती युवाहरुको रगत पसिनाले सराप दिनेछ । तराई क्षेत्रमा बाढीले धेरै जनधनको क्षति भएको छ । पानीमा डुब्दै जीवन गुजारेका छन् । खाने लाउने केही छैन । नेतालाई चिनेकाहरु त ओत लागे होलान । तर ती पीडामा परिरहेका हजारौं परिवारहरू सरकारको आसमा छन् । हात थापिरहेछन् । तर ती हातमा आफ्नै आँशुको थोपा मात्र झर्छ । सरकारलाई मतलब नै छैन । यदि सरकारको ध्यान गएको भए त यो मौसममा बाढी पहिरो आउँछ, भनेर कुन ठाउँ जोखिममा छ, त्यहाँ पहिलेनै सूचना दिनु पर्दथ्यो । यो सरकारको गल्ती हो । यहाँ त नेताहरु भोट माग्दा मात्र आफ्नो भन्छन् । जितेपछि कसैलाई चिन्दैनन् । विभिन्न पहाडी भेगहरुमा पहिरोले पुरिएर कैयौं बेपत्ता छन् । भएको अन्नबाली बाढीले बगाएको छ । 
 
 पीडितहरु त्यस्तो अवस्था गुजार्दै आँसुको धारा बगाईरहेछन् । तर नेपाल सरकार भने हेलिकप्टर बाट टुलुटुलु हेरिरहेछन् । टेलिभिजनमा मान्छे मरेको संख्या सुनिरहेछन् । अनि यति मर्यो भनेर सामाजिक सञ्जालमा लेखिरहेछन् । हामीलाई कति मर्यो कति मर्न बाँकी त्यो चाहिएको हैन , सरकार । गरीब र आपत विपतमा परेका हरुको उद्दार गर । के मानिसको ज्यान भन्दा घुम्ने कुर्सी ठूलो होर ? कस्तो राक्षेसपन ! गाउँबाट पढ्न शहर बसेकाहरु यस कोरोना महामारीका कारण आफ्नो घर पुग्न सकिरहेका छैनन् । लकडाउनले रोजगार पनि गुमेपछि कोठा वहाल समेत तिर्न सकिरहेका छैनन् । बिजोक अवस्था गुजारिरहेका छन् । गाउँमा आफ्नो परिवार सुरक्षित छन् कि छैनन् भने चिन्ता लिइरहेका छन् । कतिले पीडा सहन नसकेर आत्महत्या समेत गरेका छन् । एक छाकले भोक टार्न बाध्य छन् । 
 
 तर तिनीहरूलाई राहतको व्यवस्था हुन सकेको छैन । सरकारले अरबौं खर्च गरे भन्छ । तर जो बोल्न जान्ने छन्, जो नेताको नजिक छन्, उनीहरूलाई त राहतको व्यवस्था भयो होला ।  तर पीडामा परेकाहरू माथि अझै पीडा थपिएको छ । सरकारले खर्चको विवरण पारदर्शी नदेखाउनुको कारण यहाँ भष्टाचार भएकै छ । अहिले त घुस लिने काम पनि सामान्य भइसकेछ । घुस लिनु, भष्टाचार गर्नु त अहिलेका धेरै नेताहरुको अनिवार्य काम वनिदिएको छ । यसमा अनौठो कुरै छैन । अब त्यस्ता नेताहरुलाई हामीले हटाउनपर्छ । 
 
 अहिलेको यस्तो बिजोक परिस्थितिमा बजारमा महंगी बढेको छ । तरकारीको भाउ सुन्दा गरिबको सातो जान्छ । गरीबलाई नुनपानी खान पनि धौ धौ छ । तर सरकार भने भ्रष्टाचार मा व्यस्त छ । अनि तास खेलेर आफ्नै पारामा मस्तले मासु चपाइरहेछन् । आफ्नो पदको लागि कुकुर र बिरालो जसरी झगडा गरिरहेछन् । तमासा देखाईरहेछन् । नाचिरहेछन् । देशमा के समस्या छ ? देश कुन स्थितिमा छ ? भन्ने कुराको त चिन्ता  छैन सरकारलाई । अब यो नाच्ने बेला हैन नेता ज्यू । तपाईंलाई जुन समस्याको बेला जितायौं अब तपाईंले त्यो दायित्व पूरा गर्नुपर्छ । कतिपय ठाउँमा पुल भत्किएका छन् । आज बनाएर भ्याएको सडक भोलीपल्ट खाल्टो परेको छ । कस्तो बिजोक !
 
  यस समयमा किसानहरूको धेरै दुःख र मेहेनत बाढी पहिरोले तहसनहस बनाएको छ । आफूले राहत पाउन नेताको आफ्नो हुनुपर्ने कस्तो शासन हो यो ? त्यस्ता आफ्नो र अर्कालाई भाग लगाउनेलाई अब हामीले सजाए दिनुपर्छ । म के भन्न चाहन्छु भने, आपतविपत सबै ठाउँमा आउँछ । तर हामीले धैर्यताका साथ जोखिमको सामना गर्न सक्नुपर्छ ।  सरकारले यो बेलामा बाढी पहिरो जान्छ है भनेर, जोखिमयुक्त ठाउँमा रहेकालाई जोखिममुक्त ठाउँमा सार्ने व्यवस्था गर्नुपर्दछ । 
 
 यस कोरोना महामारीका कारण अन्य रोग लागेका मानिसहरूको उपचारका आभावका कारण अकालमा नै ज्यान गुमेको छ । सरकारलाई यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु । एउटा गरिब, बेसाहाराको पीडा र आँसुको मूल्य बुझ्न एकचोटी तपाईं उनीहरूको  जीवनलाई नजिकबाट निहालेर हेर्नुहोस । तपाईंले मन थाम्न सक्नुहुन्न । केहीगरि, उनीहरुले राहत पाइहाले भने पनि  सडेका चामल, चिउरा मात्र पाउँछन् । तैपनि बाँच्ने आशले लामो सास फेर्दै मुस्कुराउँछन् । यस्तो देख्दा मेरो त मन नै भकानिएर आउँछ । तर सरकार भने आफ्नै स्वार्थमा लागिरहेछ । ठूल्ठूला नेताहरु नै आफ्नो पद गुम्ने हो कि भन्दै टोपी झिक्दै टाउँको कनाउँदैमा व्यस्त छन् । लाजमर्दो कुरा छ ! कोरोना महामारीका कारण धेरै पीडामा छन् । कोही भोकले अनि कोही रोगले मरेका छन् ।
 
 तर सरकार घुम्ने कुर्सीमा बसेर कोही मर्दैन अब भनिरहेको छ । तर ती भोका नांगाको आङ ढाक्न सरकार तत्पर देखिँदैन । वर्तमान समयमा समाजमा विद्यमान रहेका कुरीतिहरुबाट पनि मानिसको ज्यान गएको छ । जात, धर्म, वंशलाई  लिएर अन्धविश्वासको झुप्रोमा अल्झिएर एउटाले अर्कोलाई यातना दिइरहेको कुरा अबगत नै छ । अब यस्तो अन्धविश्वासलाई रोक्न हामीले जनचेतना फैलाउन पर्दछ । एउटा मानिसले अर्को मानिसलाई दुःख दिनु भनेको मानवता होइन । सरकारले यस्ता कुरीति हटाउन ठूलो पहल गर्नुपर्दछ । तर, यहाँ नेताहरुलाई फेसवुक, इन्टाग्राम, ट्वीटर आदिको चिन्ता छ । कति फलोअर्स पुगेछ भन्न मै व्यस्त छन् । यो लाजमर्दो कुरा हो ।  केही पाउन केही गुमाउन पर्छ, नेता ज्यु । 
 
 आफूलाई अरूले राम्रो भनेको सुन्न राम्रो काम गर्नुस् । अन्तमा, यस कोरोना महामारीका साथै अन्य प्रकितिक प्रकोपमा परी बिचल्लीमा परेकाहरुको राहतको लागि हामी सबैको हात फराकिलो हुनुपर्दछ । विषेशगरि, सरकारले आफ्नोलाई मात्र हैन हरेक पीडित परिवारलाई उज्यालो दिने काम गर्नुपर्दछ । दुःख भएर आफ्नै जीवनदेखि अतालिएका ती गरिबको पीडामा सरकारले मलम लगाउन सक्नुपर्दछ । बाढी पहिरोले  आफ्नो परिवारका सदस्य गुमाउनेहरुको पीडा भन्नै सकिंदैन ।  यस्तो समस्या समाधानमा सरकारको ध्यान जाओस् ।
 
म जुन कुरा सत्य छ, जे भइरहेको छ, त्यही बोल्छु, त्यही लेख्छु र सामाजिक कार्यमा निरन्तर लागिरहेकै हुन्छु । लागिरहनेछु ।  तपाईंले आफ्नो विचार अनुसार आलोचना र समर्थन दुवै गर्न सक्नुहुन्छ । प्रतिक्रिया दिन नभुल्नुहोला । धन्यवाद । 
 
गल्छी – २ धादिङ
(हाल अध्ययनरत सविना खतिवडा सामाजिककर्ता हुन् ।)