सप्तरीमा क्वारेन्टिनमा बसेकासहित तीन जनाको मृत्यु

श्रावण २१,२०७७



साउन २१,२०७७ काठमाडौं ।
कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।
 
जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
 
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । उपचार हुन नसकी धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै मृत्यु भएको अस्पताललले जनाएको छ ।
 
यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
 
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।