युवा बिचारले हुन्छ, शरीरले होईन

आश्विन ०३,२०७७

यज्ञ भट्टराई

-यज्ञ भट्टराई

असोज ३, २०७७ काठमाडौं ।
  • यज्ञ भट्टराई-
 
हाम्रो देश नेपालमा खासगरी वि.स. २०६० को दशक पछाडी अधिकांश युवाहरु विदेस पलायन भएको, स्वदेसमै रहेका पनि निस्क्रृय भएको, सकारात्मक सोचयुक्त, उद्यमशील, सिर्जनशील, कर्तव्यप्रति प्रतिवद्द, चरित्रवान, आत्मनिर्भर एवं स्वावलम्वी, उर्जावान, गतिशील हुन नसकेको  तथा अवाञ्छित गतिविधि जस्ता कार्यमा संलग्न हुने गरेको, भ्रष्ट प्रवृति एवं स्वार्थकेन्द्रीत प्रवृति हावी हुने गरेको जस्ता आरोपहरु लाग्ने गरेको छ । 
 
 
तथापी त्यस्तो अवस्था देखिदै पनि आएको छ।खासगरी वि.स.२०५० को दशक अगाडिसम्म युवाहरु शासकहरुवाट हुने अन्याय अत्याचारविरुद्द संघर्ष गर्ने, उर्जाशील एवं क्रियाशील हुने, समाजमा हुने वेथिति एवं कुरीतिहरु विरुद्द लडने, देशको कुनाकाप्चासम्म पुगेर सेवा गर्ने एवं सेवाभाव भएका, दुख परिश्रम गर्न सक्ने, चरित्रवान, निष्ठावान, सदाचारयुक्त एवं शीलवान युवाहरु हुने  गरेको कुरा ईतिहांसको अध्यनबाट र अगुवाहरुको भनाईबाट थाहा पाउन सकिन्छ ।
 
केही राजनीतिमा लागेका युवाहरु पनि कतिपय सुविभाभोगी देखिए, ठेक्कापट्टा एवं विचौलिया जस्ता गतिबिधिमा संलग्न रहे, फोस्रा एवं रित्ता कुरामात्र गरिरहने भनी आलोचना समेत भए/गरेको पाईन्छ।
 
 
वर्तमान नेपालको राजनीतिमा समेत खासगरी युवाले नेतृत्व लिन सकेनन एवं नयाँ विचार दिन सकेनन, युवाहरुले नयाँ प्रयोग र सिर्जनामा साहस गर्न सकेनन तथा व्यवसायिक एवं कुशल भएनन, सामाजिक उत्तरदायित्व वहन गर्न सकेनन, उमेरले  साठीसत्तरी वर्ष कटेका एवं धेरै उमेर भएका व्यक्तिहरुले विभिन्न राजनीतिक दलहरुमा नेतृत्व गरिरहे, युवालाई नेतृत्व गर्ने मौका दिएनन भन्नेजस्ता आरोप लाग्ने गरेको पनि छ र वास्तविक रुपमा हेर्दा पनि धेरै राजनीतिक दलहरुमा नेतृत्व तहमा त्यस्तो अवस्था पनि देख्न सकिन्छ ।
 
 
शाव्दिक अर्थमा युवा भनेको जवानीले नछाडेको र बुढ्याईले नछोएको व्यक्तिलाई भनिन्छ। शारीरिक रुपमा भन्दा सामान्यतयाः सोह्र वर्षभन्दा माथि र तीस वर्ष मुनिको व्यक्तिलाई युवा एवं युवति भनिन्छ । राष्ट्रिय युवा नीति, २०७२ तथा युथ भिजन २०२५ ले समेत १६ देखि ४० वर्ष उमेरका व्यक्तिलाई युवा भनेको छ ।  नेपालको तथ्याङकलाई हेर्ने हो भने कूल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत जनसंख्या युवाको रहेको छ । उत्पादनशील जनसंख्याको हिस्सा ५७ प्रतिशत रहेको छ । त्यसैगरी विदेशमा रहेको उत्पादनशील जनशक्ति ७ दशमलव ३ प्रतिशत रहेको पाईन्छ। नेपालबाट दैनिक एक हजार युवा विदेसिने गरेको अवस्था छ भने करिव ६० लाख युवा देश वाहिर रहेका छन।
 
 
राजनीति भनेको खासगरी नागरिकको सुरक्षा कायम गर्ने, नागरिकका मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति हो । राजनीति राज्यको शासन व्यवस्थासंग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । सवै नीतिको मूल नीति एवं मियो नै राजनीतिलाईमानिन्छ । नेता भनेको कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व्यक्ति एवं कुनै समाजमा नेतृत्व दिन सक्ने अगुवा हो ।
 
 
कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने, नेतृत्व गर्ने, बाटो बनाई दिने व्यक्तिलाईनेता भनिन्छ । नेताले नेतृत्व गर्ने हो । नेतृत्व भनेको कुनै दल वा जनसमुदायको समुदायिक कल्याण गर्ने कार्य हो । नेताले गर्ने कार्य एवं अगुवाले गर्ने कार्यलाई नै नेतृत्व भनिन्छ । कुनै नयाँ कुराको खोजमा या नौलो सिद्धान्तको प्रतिपादनमा सवैभन्दा पहिले सफल हुने कार्य नै नेतृत्व हो । नेतृत्व गर्ने नेता गतिशील, सक्रिय, उर्जावान, सशक्त, कर्मठ, निष्ठावान, चरित्रवान , क्रियाशील, सिर्जनशील, दुरदर्शी ,युवा चित्त भएको  हुनुपर्दछ भन्ने मान्यता छ।
 
 
युवा हुनु भनेको कुनै  शरीरको अवस्थासंग अर्थात उमेरसंग मात्र सम्वन्धित छैन र हुनुहुदैन । उमेरले मात्र युवा हुनुको कुनै अर्थ र सम्बन्ध छैन । उमेरले बुढो भएको भए तापनि कुनै पनि व्यक्तिको युवाचित्त हुन सक्छ भने उमेरले युवा भए तापनि कुनै व्यक्तिको बुढोचित्त हुन सक्छ । मानिस वाहिरबाट बुढोहोस, शरीर चाउरी परेको किन नहोस तर भित्रबाट जवान, उर्जाशील , कृयाशील, विवेकशील छ भने त्यसलाई बुढो मानिदैन । बुढो भनेर शरीरिक मापदण्डबाट मात्र मापन गर्न सकिदैन । 
 
बुढोपनलाई त्यसभित्र कस्तो चित्त छ, कति उर्जाछ , कस्तो सोँचविचार छ वा निष्ठा र ईमान्दारिता कस्तो छ भनेर तौलिईन्छ। भनिन्छ धेरै जसो युवा बुढो भएर जन्मन्छन, बाच्छन एवं जिउछन र मर्छन तर कोही थोरै सौभाग्यशाली हुन्छन जो युवा भएर बाँच्छन, युवा भएर जिउँछन र युवा भएर मर्छन । जस्तै सुकरात , महात्मा गान्धी, नेन्सल मंडेलालाई कहिले बुढो हुनु परेन । त्यसैगरी महाथिर मोहम्मद, ली क्वान बूढो भएका छैनन। 
 
 
हाम्रो देशमा पनि राष्ट्रकवि माधवप्रसाद घिमिरे कहिले पनि बुढो हुनु भएन ।  युवा हुने विचारले हो, चित्तले हो, चेतनाले हो, चित्त आफैमा जवान हुन्छ कहिल्यै बुढो हुँदैन, सदा ताजा नै हुन्छ । चेतना एवं विचार युवा हो र सधै युवा नै हुन्छ तर चेतनालाई हामीले आफ्नै काम एवं  कर्मले बुढो बनाएका छौँ । ओशो भन्नुहुन्छ कहिल्यै कुनै मानिस बुढो जन्मिएको छैन तर मनबाट हेर्ने हो भने मानिस कैयौपटक बुढो जन्मिएको छ ।
 
 
आजका हामी धेरै युवाहरुको चित्त जिवन्त छैन, जुन जीवनको गति, उत्साह, आनन्द, उर्जा हो त्यो छैन भएको पनि सुशुप्त अवस्थामा छ तसर्थ हामी युवक हुन सकेका छैनौ । यदी हामी युवा हुन सकेको  भए वा हाम्रो राजनीतिमा लागेका र उमेरले युवा  देखिने व्यक्तिहरु साँच्चिकै युवक जस्तो भएको भएमा देशको नेतृत्व लिने थिए । हाम्रो देशका नागरिकले दरिद्रता, दिनता र दुखका दिन विताउनु पर्ने अवस्था आउने थिएन ।
 
 
दिनका दिन सिमानामा देशबाहिर श्रमगर्न जानेको भिड हुने थिएन ,मरुभूमिमा जोखिमयुक्त कार्य गर्न जानु पर्ने थिएन ।  देशको गरिवी १८ दशमलव ७ प्रतिशत  र बहुआयामिक गरिवी २८ दशमलव ६ प्रतिशत रहेकोमा त्यो हटिसकेको हुने थियो । वेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेकोमा उक्त दर हुदैनन्थ्यो । प्रतिव्यक्ति आय अमेरिकी डलर १०४७ बाट धेरै माथि हुने थियो । 
 
 
त्यसैगरी आर्थिक वृद्दी दर ६ दशमलव ८ प्रतिशतबाट अझ माथि गएको हुने थियो ।युवक वा युवा चित्त हामीसंग भएको भए हाम्रो समाजमा रहेको अन्धविश्वास, भष्ट्राचार एवं अनियमितता, महिला हिंसा, लैंगिक विभेद, असमान व्यवहार, गरिबी र वेरोजगारी लगायतका समस्याहरु रहने थिएनन । हामी कस्ता युवा छौँ भन्दा हामी भित्र विद्रोह, क्रान्ति छैन , गल्तिको अगाडी झुक्छौं तर वदलिन र रुपान्तरण हुन चाँहदैनौ । जिन्दगीलाई नयाँ आयाम र नयाँ दिशामा लैजान खोज्दैनौ,  टुलुटुलु हेरेर मात्र बसिरहन्छौँ र वसिरहेका छौ । हामीसंग भएको उर्जा पनि खण्डित गरेका छौँ, समाजलाई जोडन होईन तोडनमा लगाएका छौँ, अनुचित कार्यमा खर्चेका छौँ।
 
 
हाम्रो देश नेपाल एउटा धनी देश हो तर यहाँ हामी गरिब मानिस भएर बस्न बाध्य भएका छौ। हामीसंग जवानी छैन जसले देशमा लुकेको धनलाई प्रकट गर्न सकोस र देशलाई धनवान बनाओस । देशमा धन लुकेको छ तर हाम्रो देश बुढो जस्तो भएको छ । भनिन्छ बुढो केही गर्न सक्दैन, धन खजनामा रहिरहन्छ तथा धन जमिनमा दविएर रहन्छ तर बुढो भोकै मर्छ । हाम्रो देशमा युवा चित्त भएको भए  एवं उमेरले र चित्तले युवा भएर देशको नेतृत्व लिन सक्ने सार्मथ्य भएका युवा भएको भए देश गरिव हुनुपर्ने कुनै कारण थिएन ।
 
 
हाम्रो देशमा के कुराको कमी थियो र? तर हामी अरुसंग माग्ने धुनमा छौं । हामी युवा भारत गएका छौं, अमिरेका, युरोप गएका छौं, कतार अरव ,मलेसीया लगायतका देशमा गएका छौं र हात फैलाएका छौं, श्रम बेचेका छौ, पसिना बगाएका छौं, रोगी अपाङ्ग भएका छौं, ज्यान गुमाएका छौं र अन्तमा हाम्रो समाजलाई नै खल्वलाईरहेका छौ। 
 
 
सारा विश्वमा गएर अरु देशको लागि श्रम गरिदिन, पसिना वगाउन हामीलाई कतिपनि हिचकिचावट छैन त्यसैमा गर्व गरेका छौ तर हाम्रो आफ्नो देशमा लुकेको धन प्रकट गराउन, बाँझा बनेका जमिनमा हरियो तरकारी फलाउन, आफ्नो देशमा श्रम गर्न, पसिना बगाउन र श्रमको सम्मान गर्न लाज र शरम लाग्छ अनि हामी कुन अर्थमा जवान र युवक भयौ ? हामीले माग्न जान्यौ, परनिर्भरता हुन जान्यौ तर आफै आत्मनिर्भर हुन जानेनौ ,अन्तरनिर्भर हुन खोजेनौ, आफ्नो देशको माटोमा फलाउन जानेनौ खोजेनौ,  खाली परनिर्भरतामा रुमलियौ । उत्पादन गर्न त आफ्नो देशमै  आफ्नो माटोमै श्रम गर्नु पर्छ । हामिलाई आफ्नो देशमा श्रम गर्नु भन्दा अन्यत्र गएर श्रम गर्न र माग्न सजिलो लागेको छ ।यसर्थ लाग्छ की हाम्रो देशमा उमेरले बुढो भएको व्यक्ति बरु कहिलेकाँही युवा होला तर उमेरले युवा भएका धेरैजसो व्यक्ति सधै बुढो भएको अवस्था छ।
 
 
भनिन्छ सन् १९६२ चीनमा अनिकालको स्थिति आएछ, त्यस समयमा वेलायतका केही धनी मानिसले जहाजमा खानेकुरा, लत्ताकपडा, औषधी राखेर चीनमा पठाएछन । त्यसको जवाफमा चिनिया नागरिकहरुले हामी मर्न तयार छौं तर भिख स्वीकार गर्दैनौं भनी ठूलोठूलो अक्षरले जहाजमा लेखेर टासेर पठाएछन । ती चिनिया नागरिकहरु जवान थिए,उनीहरुको युवा चित्त थियो र यसप्रकारको हिम्मत गर्न सके । जहाँ उनीहरु भोकले मरिरहेका छन, खाना आएको छ तर उनीहरुले बरु हामी भोकै मर्न तयार छौं तर अरुसंग भिख माग्दैनौं भनी लेखिदिए तसर्थ चीन आज विश्वकै महाशक्ति वन्ने तरखरमा छ ।
 
 
त्यसैले भनिन्छ युवाको लागि भोको मर्नु बरु त्यति नराम्रो होईन जति भीख माग्नु हुन्छ । जवानी हुनु  एवं युवा हुनुको मतलव सिर्जना गर्नु हो, नेतृत्व लिनु हो, सम्मिलित हुनु हो । जवानी एवं युवा हुनु भनेको निष्कृय हुनु होईन् । कुनै जुलुश हेरेजस्तै उभिएर टुलुटुलु हेर्ने चित्त युवा चित्त होईन् । युवाले त जीवनई सुन्दर बनाउनको लागि, समाज तथा राष्ट्रमा सम्वृद्धि ल्याउनको लागि श्रम गर्छ, विचार तथा सिद्दान्त प्रतिपादन गर्छ, अन्याय अत्याचार ,सामाजिक विकृति तथा कुरीति, भष्ट्राचारको विरुद्धमा लड्छ एवं विद्रोह गर्छ र यस्ता कार्यलाई स्वतन्त्र चित्तले हेर्छ। समाज नष्ट हुँदै गरिरहेको छ, हरेक क्षेत्रमा समस्या बढ्दै गइरहेको छ तर युवा टुलुटुलु हेरिरहेको छ भने त्यो युवा हुंदैन । 
 
 
युवा हुन त समाजको कुरुपतासंग असौन्दर्यतासंग, शोषणसंग, जीवनलाई विकृत बनाउने तत्वसंग लडनुपर्छ । यो लडाई कुनै व्यक्तिसंगको लडाई होईन यो कुनै फाईट होईन यो त समाज सुधार गर्ने सामूहिक लडाई हो। सुन्दरता, सत्य र सम्वृद्धिको लागि जति युवा लडछ उति निखारिन्छ र नेतृत्वमा पुग्छ ।
 
जवानी एवं युवा त संघर्षबाट उत्पन्न हुन्छ, संघर्ष गलतको लागि होईन, व्यक्तिगत फाइदाको लागि होईन, संघर्ष त सत्य, न्याय, श्रेष्ठता एवं विकृति र विसंगतिको अन्तका लागि हुनुपर्छ। युवाले त सत्यको लागि इमान्दारिताको लागि, भष्ट्राचार अन्तको लागि लडाईको मौका खोज्नु पर्छ । समाजमा सामाजिक न्याय र शान्ति स्थापना गर्न, समाजमा गरिने असमान व्यवहारलाई न्यून गर्न, आफ्नै माटोमा पसिना बगाउन ,श्रमको सम्मान गर्न केन्द्रित हुनु आवाश्यक छ ।
 
 
अतः कुनै पनि व्यक्ति उमेरले एवं शरीरले मात्र युवा हुँदैमा  उसमा नेतृत्व लिने सामर्थ्य हुन्छ र उसमा युवा चित्त छ भन्न सकिदैन । कुनै व्यक्ति उमेरले बुढो हुँदैमा उसले नेतृत्व लिनु हुँदैन र नेतृत्व दिन सक्दैन भन्ने पनि हुदैन । नेतृत्व लिनलाई युवा चेतना एवं चित्त हुनु पर्छ । युवा चित्तको निर्धारण शरीरको अवस्थाले निर्धारण गर्न सक्दैन । प्राकृतिक नियममा जसरी सागरको पछिल्ला छालहरुले अघिल्ला छालहरुलाई धकेल्दछ त्यसरी नै आफ्ना अग्रजहरुलाई उछिन्नु युवा चित्तको उत्तरदायित्व हुन्छ ।
 
 
युवा चित्तले अघिल्ला पुस्ताहरुबाट सिकी तिनीहरुलाई नै उछिन्ने उद्देश्य राख्नु पर्दछ । उमेरले युवा भएर पनि बुढो हुनुको कारण भय हो । जव चित्तमा भय हुन्छ तव युवा पनि बुढो हुन्छ । जति भय हुन्छ उति जोखिम उठाउन तत्पर हुंदैन । जति भयवित हुन्छ उति सुरक्षाको बाटो खोज्छ र सुरक्षाको कवच अपनाउन तत्पर हुन्छ । लोभ लालच बढछ अनि पद, धनको आशक्तिमा पथभ्रष्ट हुन पुग्छ । पदको खोजीमा, आफ्नो पक्षको खोजमा, धनको लोभमा फस्दछ । यसर्थ भयको कारणबाट जीवनमा कहिले पनि क्रान्ति र रुपान्तरण हुन सक्दैन, व्यक्ति आफू रुपान्तरण नभएसम्म समाज पनि रुपान्तरण हुँदैन, किनकी व्यक्तिहरुको समूह नै समाज हो।
 
 
जिवनमा रुपान्तरण नभएसम्म र व्यक्तिको मनस्थिति नवदलिएसम्म परिस्थिति वदल्न सजिलो हुदैन। नयाँ समाज निर्माणको लागि युवा चित्त भएको नेतृत्व हुनुपर्छ । चिनीया राजनेता फानचोङयानले भने झै राज्यका मामिलाहरुबारे चिन्तित हुन पहिलो हुने तर सुविधा भोग गर्ने कुरामा अन्तिम हुने आर्दशलाई सदा मनमा लिएर देशभक्तिको परम्परामा अगाडि बढनु पर्ने हुन्छ ।आफ्नो चरित्रलाई सदा संयमित राख्नु पर्दछ । देशले शरीरले मात्र युवा होईन् विचारले, चेतनाले, चित्तले युवा भएको कडा परिश्रमी, नयाँ प्रयोग र सिर्जनामा साहस गर्ने नेतृत्व खोजेको छ। आजका हामी युवाहरुले यसतर्फ बिचार गर्नु जरुरी छ ।