सरकार नै संविधान उल्लंघनमा उत्रनु दुःखद भयोः संविधानविद् प्रा.शाक्य
-
असोज ४,२०७७ काठमाडौं ।
नयाँ संविधान लागु भएको पाँच वर्ष पूरा भएको अवसरमा साझा पार्टीले संविधानविद् प्रा. पूर्णमान शाक्यलाई निम्त्याएर संविधानको बहुकोणिय बहस चलाएको छ ।
उपत्यका विशेष साझा अभियानले आयोजनामा गरेको अन्तरकृयामा वरिष्ठ अधिवक्ता समेत रहेका प्राध्यापक शाक्यले ‘नेपालको संविधान २०७२ ः अभ्यास , अवसर र चुनौति’ शीर्षकमा विश्लेषणात्मक विद्वत प्रवचन दिएका थिए।
नेपालको संविधानमाथि आफ्नो विचार राख्दै संविधानविद् शाक्यले कुनै पनि राष्ट्रको संविधान विश्वकै सर्वश्रेष्ठ वा देशको निकृष्ट संविधान नहुने भन्दै देशको समस्या समाधान गर्ने संविधानलाईनै राम्रो संविधान भन्न मिल्ने धारणा राखे ।
संविधानको भावना विपरित सरकारले पार्टीगत, गुटगत र निश्चित स्वार्थ अनुरूप कतिपय निर्णय गरेको भन्दै सरकारको आलोचना समेत गरे। ‘सरकारले राष्ट्र हितको कुरामा ध्यान दिन नसक्नु दुःखको कुरा रहेको संविधानविद् शाक्यको भनाई थियो ।
साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले संविधानको मूल मर्म र भावना बमोजिम सरकारले काम गर्न नसकेको भन्दै संघीयता, समावेशिता, जनजिविका, शिक्षा र स्वास्थ्य क्षेत्रमा संविधानले दिएको अधिकार बमोजिम काम नभएको टिप्पणी गरेका थिए।