खेर गएको युवा समय

आश्विन १२,२०७७

-विप्लवी न्यौपाने

विप्लवी न्यौपाने 

१२ असोज २०७७ l                   

खुब याद आउँछ त्यो बालापन! रमणीय थियो। अविस्मरणीय छ। मलाई गाउँमा सबैले माया मान्थे। सबैजनाले चलाख, जिज्ञासु, राम्री छ भन्थे। शनिबारको दिन दिउँसो ३ बजेसम्म पधेँरामै सरसफाइ गर्दागर्दै समय बित्थ्यो। हाम्रो ग्रुपमा ८, ९ जना थियौं। लुगा धोएर कसैले खेतको आलिमा त कसैले खरबारीमा लुगा सुकाइन्थ्यो। मौसम अनुसार खेलहरु खेलिन्थ्यो; कालोपातीको चुङ्गी, लुकामारी, कपर्दी, चु, गोट्टा आदि।

 

 विद्यालयबाट आएर घरको पिढीँमा झोला फाल्यो अनि खेल्नलाइ पुगिहाल्थ्यौ। खेल्नको लागि चौर, धारा, आगँन प्रयोग गर्थ्यौ। खेल्दाखेल्दै झगडा पनि पर्थ्यो। २,४ दिन रिसायो। रिसाएको मान्छेको नाम लिन पाइदैन्थ्यो। कहाँ सकिन्थ्यो र नबोलिकन बस्न। केही दिनमै बोल्थ्यौ।  बिहान म सधैं अबेलासम्म सुत्थे। हतार हतार गृहकार्य गर्थे र विद्यालय पुग्थे। एसेमब्लीमा त म प्राय छुट्थे। समयानुकूल जङ्गलमा जान्थ्यौ। कटुस, फुस्रे, लालीगुराँस, चौतारो, गाय, एैसँलु खान्थ्यौ। उबेला फोनहरु थिएनन्। फाेटाे खिच्नेबारे खासै थाहा थिएन।

 

म विद्यालयमा सधैं प्रथम हुन्थे। पुरस्कार वितरण कार्यक्रममा कति धेरै कापी, सिसाकलम पाउँथे। सरसफाइ पुरस्कारमा साबुन पाउँथे। खुब जोगाएर प्रयोग गर्थे त्यो साबुन। विद्यालयमा हामी खाजाको रुपमा प्रायः मकै, भट्ट, चामल र चिनी, कोदोको रोटी, भुटेको भात, निबुवा र नुन खुर्सानी खान्थ्यौ। विद्यालय पर बस्न मिल्ने मौवाको रुख थियो, चौर थियो। त्यहीँ बसेर नास्ता खान्थ्थौ। बजारको खानालाई खासै जोड गर्दैन्थ्यौ। मैले अध्यन गरेको विद्यालयको वातावरण, संस्कार, गुरुहरुको बोली अरु विद्यालयको तुलनामा निकै फरक खालको थियो। समग्रमा विद्यालयको परिवेश अत्यन्तै राम्रो र अनुकरणीय थियो।

 

 म जन्मिएको गाउँ पनि साच्चै सुन्दर छ। बाहुन समाज, मिलेको बस्ती छ। यहाँ गाउँमा रक्सी बेच्न नपाइने नीति छ। पसलेले पनि यो नियम पालना गरिरहेका छन्। मादक पदार्थ बेचबिखन गर्न नपाउदा यहाँका युवाले मात्ने अवसर पाएका छैनन्। प्रत्येक घरमा शिक्षित मान्छे छन्। मेरो गाउँमा सबैजनासंग राम्रो स्तरको पेशा छ। गाउँमा केही पर्यो भने ``भाइ सल्लाह´´ गर्छन र मिलेर समाधान गर्छन्। बुढाँपाकाहरु भेट भएर गफगाफमा मस्त हुन्छन्। युवाहरु आआफ्नो काममा व्यस्त छन्। बेलाबेलामा नाचगान, भजन, किर्तन, पुजाआजा भैराख्छ। यसले समाजप्रतिको सद्भाव,स्नेह जोगाइराखेको छ।

 

समग्र नेपालको स्थिति त दयनीय नै छ। नेपाली समाजमा धेरै नराम्रा पक्षहरु छन् जसले उन्मुलन हुन पनि निकै समय लिनेछन्। तैपनि पुर्ण उन्मुलन होला भन्न म सक्दिन। समाज, व्यक्तिहरु खासै सभ्य भएजस्तो मलाई लाग्दैन। व्यक्ती एक्लैले समाज परिवर्तन गर्न त सक्दैन। सकारात्मक परिवर्तन आफैंबाट थाल्न जरुरी छ। उच्च ओहोदामा पुग्नेले पनि आफ्नो पृष्ठभुमि स्मरण गरिराख्नुपर्छ। सरल र सहज बन्नुपर्छ। अनावश्यक तछाडमछाड, महिपन गर्नु व्यर्थ छ। आफ्ना सन्तानलाई कस्तो बनाउने त्यो अभिभावकको हातमा हुन्छ त्यसैले सानैदेखि असल कर्म गर्न, जिम्मेवार बन्न, सेवा गर्नसक्ने हिसाबले संस्कार सिकाउनुपर्छ।