कर्मचारीको अभावमा खाद्यको चामल वितरण हुन सकेन !

आश्विन १४,२०७७

-

असोज १४,२०७७ काठमाडौं ।
रुकुम-पूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन ।  रुकुम-पूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो ।
 
कर्मचारी नभएकै कारण जिल्लामा अहिले ठेकेदारमार्फत खाद्यको चामल वितरण भइरहेको छ । जसले गर्दा सबै नागरिकले सहज रुपमा खाद्य संस्थानको चामल नपाएको गुनासो गरेका छन् । 
 
ठेकेदारमार्फत खाद्यको चामल जिल्लामा पुगे पनि सीमित ठाउँमा मात्र वितरण हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका-२ पेल्माका सूर्य बुढाले बताए । 
 
जिल्लामै शाखा स्थापना भई कर्मचारीको व्यवस्थापन गरेमा जिल्लावासीलाई धेरै सहज हुने उनको भनाइ छ । जिल्लामा अहिले खाद्य डिपो कार्यालय शोभा गाउँ र तकसेरा वितरण केन्द्र गरी दुई ठाउँबाट चामल वितरण भइरहेको छ ।
 
विगतका वर्षमा शोभा डीपोमा मात्रै एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिँदै आएको थियो । कर्मचारी अभावकै कारण निर्धारित कोटाको चामल वितरण हुन नसकेपछि पछिल्ला केही वर्षमा चामलको कोटा घटाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम-पश्चिमका नीमित्त प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
 
जिल्लामा कर्मचारी नभएपछि चामल नियमित रुपमा बिक्री भएन । “निर्धारित कोटा अनुसारनै पठाएको चामल थन्किएपछि केही वर्षयता रुकुम-पूर्वमा कोटा घटाएर चामल पठाइरहेका छौँ”, उनले भने । 
 
पछिल्ला केही वर्षमा जिल्लामा पठाएको चामल यहाँको मागभन्दा निकै कम भएको खड्काको भनाइ छ । यस वर्ष जिल्लाको दुई ठाउँमा गरी एक हजार २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । 
 
शोभा डिपोमा ७०० क्विन्टल र तकसेरा विक्री केन्द्रमा ५००  क्विन्टल चामलको कोटा निर्धारण गरिएको रुकुम-पश्चिम कार्यालयका निमित्त प्रमुख खड्काले बताए ।
 
निर्धारित कोटाको चामल खपत भई थप माग गरेमा आवश्यकतानुसार जिल्लामा खाद्य संस्थानको चामल पठाइने उनले बताए । अहिले चामल वितरणका लागि ठेकेदारसँग ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको बताइएको छ । 
 
सम्झौताको काम सकिने बित्तिकै दशैं अगाडि नै गाउँमा चामल पु¥याउने गरी काम अगाडि बढाइने बताइएको छ । शोभा डीपोका लागि दाङबाट र तकसेराको लागि भैरहवाबाट चामल आउने छ । रुकुम पश्चिममा रहेको खाद्य संस्थानको शाखाले दुवै जिल्लामा काम गर्छ । 
 
पटकपटक रुकुम–पूर्वका सरोकार निकायलाई डिपो स्थापना गरिदिन आग्रह गरिए पनि ध्यान नपुगेका कारण खाद्य आपूर्ति गर्न समस्या भइरहेको प्रमुख खड्काले बताए । 
 
रुकुमकोटमा शाखा स्थापना गर्नुका साथै हाल ठेक्कामार्फत वितरण भइरहेका ठाउँ गरी जिल्लाभर १० वटा डिपो कार्यालयको स्थापना गर्न गत वर्ष सिफारिस गरी पठाए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको खड्काले बताए ।