नेपालमा कोरोना संक्रमण समुदायमा फैलियो, आजबाट एन्टिबडी परीक्षण सुरु

आश्विन २३,२०७७

-

असोज २३,२०७७ काठमाडौं ।
सरकारले कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा खटाएको छ। काठमाडौँमा तालीमपश्चात टोलीलाई आज प्रदेश खटाइएको हो।
 
महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने अध्ययन गर्न टोली परिचालन गरिएको बताए। अध्ययनबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएका छ वा छैन र फैलिएको रहेछ भन्ने कुन तहमा रहेको छ भन्ने पनि पत्ता लगाउने उनले जानकारी दिए। 
 
एन्टिबडी परीक्षणका लागि समुदायमा ‘सेरो प्रिभिलेन्स’ अध्ययन गरिने छ। टोली आज सम्बन्धित स्थानीय तहमा पुगेर शनिबार स्थानीय प्राविधिकसँग तालीमपश्चात आइतबारबाट रगतको नमूना सङ्कलन गर्नेछ। नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ। सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ। 
 
गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरमै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो। 
 
संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हुन्छ तर नेपालमा कुनै खासखास ठाउँमा (क्लस्टर) मा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।