संघीय परिषद्को अध्यक्ष भट्टराईलाई बनाउँने जसपाको निर्णय

कार्तिक ०४,२०७७

-

कार्तिक ४,२०७७ काठमाडौं ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष चयन भएका छन् । जसपाको मंगलबारको केन्द्रीय कार्यकारिणीको बैठकले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।
 
भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय लिएको जसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए । बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनका लागि समायोजन कार्यदल पनि गठन गरिएको श्रेष्ठले बताए ।
 
जसपाको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो भने भट्टराईको नाम पार्टी एकताका लागि निर्वाचन आयोगमा पठाएको निवेदनमा अशोक राईभन्दा पछाडि थियो ।
 
पार्टीको विधान परिमार्जन गर्ने र विधानमा आधारित नियमावलीसमेत बैठकबाट पारित गरिएको बताइएको छ । जसपाको बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै विरोधसमेत गरेको छ ।
 
कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत राजपाले गरेको छ ।