Trending :
 

मनको व्यवस्थापन यसरी गरौं

कार्तिक १७,२०७७

यज्ञ भट्टराई

-यज्ञ भट्टराई

कार्तिक १७,२०७७ काठमाडौं ।
  • यज्ञ भट्टराई-
हाम्रो वरपर टोलछिमेक, गाँउ तथा समाजमा अक्सर व्यक्तिहरु बदलिरहेको,भडकिरहेको, अस्थिरतामा रुमलिरहेको देखिरहेका छौं । हामी कतिपय व्यक्तिहरु एकठाँउमा जन्मेहुर्केका हुन्छौ ,घरपरिवार त्यहा हुन्छ,समयक्रमसंगै नजिकैको सदरमुकामको शहर राम्रो देखिन्छ र त्यहा घर बनाउछौ, त्यो पनि विस्तारै बदल्ने क्रम शुरु हुन्छ र प्रदेशको राजधानीमा घर बनाउछौ,त्यसैगरी अव देशकै राजधानी राम्रो देख्छौ र पून त्यहा महल बनाउछौ र त्यो पनि वदली विदेसतिर आकर्षित हुन्छौ। 
 
हामीहरु अक्सर घर, गांउ, शहर बदलिरहन्छौ । एकैखाले कपडा लगाउदा लगाउदा हामी अघाउछौ र भन्छौ दोश्रो कपडा चाहियो, एउटै घरमा वस्दा वस्दा अघाउछौ र भन्छौ दोश्रो घर चाहियो । त्यसैगरी पति एवं पत्‍नी पनि बदलिरहेको देखेका छौ । भौतिक वस्तु एवं कार, कपडा, गरगहना बदलिरहन्छौ । हेरक चिज वदलिरहन्छौ पद बदल्छौ, घर बदल्छौ, वर्षमा कयौपटक कार्यालय वदलिरहन्छौ, पत्नी बदल्छौ, पति बदल्छौ, साथी एवं मित्र बदल्छौ, शत्रु बदल्छौ ,काम एवं पेशा बदल्छौ , दल वदल्छौ यो क्रम चलिरहेको हुन्छ ।
 
हामी अक्सर दोस्रोसंग तुलना गरिरहेका हुन्छौ ,प्रतिस्पर्धा गर्छौ, दोस्रोको राम्रो देख्छौ जसले हामीलाई दुख सिवाय अरु केही दिएको हुदैन । हामी जीवनमा जुन व्यर्थ छ त्यही खरिद गर्छौ  जसको कुनै मूल्य छैन । जीवनमा हामीले पद, पैंसा,शक्ति, सुनचांदी, जग्गा जमिन तथा घर महलले भर्न खोज्छौ यी सवै अन्तमा फोहोरको दूर्घन्द जस्तै हुन्छ जुन हामीले पत्ता पाउंदैनौ । हामीलाई जीउन मुस्किल छ, दुख, चिन्ता र अशान्ती छ यो शारा हामीले जम्मा गरेको दुर्घन्दवाटै आउंछ र हामीबाटै पैदा हुन्छ । 
 

हामी अक्सर अर्काको अनुकरण गर्छौ र दुख एवं वेचैनीमा पर्छौ । हामीमा संशय (दोधार) छ, यो गर्दा वा त्यो गर्दा, यसो गरु वा उसो गरु यंहा जांउ वा त्यहाँ जांउ हाम्रो चित्त डावांडोल छ, हामी भित्र खण्ड खण्ड छ, आधा मन कुनै कार्य गर भन्छ, आधा मन नगर भन्छ, यसरी मन खण्डमा वाडिएको छ, हामी दुवै तर्फ एक साथ जान खोज्छौं । हामी अक्सर अरुको सम्बन्धमा निर्णय लिदा कहिल्यै आफ्नो सादृश्यले लिदैनौ । यदी कोही खराव गर्छ भने त्यसलाई हामी खराव मानिस भन्छौ तर आफू खराव गर्छौ भने विवशता भन्छौ । 

 
अरुलाई हामी त्यसको जस्तो गरी कहिल्यै सोचदैनौ, समताको वोध हामीमा अक्सर आउदैन। कुनै न कुनै स्वार्थलाई केन्द्र बनाएर हामी वाचेका हुन्छौ, जति स्वार्थको केन्द्र बनाएर हामी वाचेका हुन्छौ, जति स्वार्थको केन्द्र वलियो हुन्छ ,त्यति हामीमा अशान्ति हुन्छ । आफ्नो स्वार्थको वारेमा, सम्बन्धको वारेमा जो ज्यादा सोच्छ उ त्यति दुखी बन्छ र कम सोच्ने व्यक्तिको दुख क्षीण हुन्छ। स्वार्थको वृद्धिले अशान्तिलाई जन्म दिन्छ । भनिन्छ जिससले सेवालाई जोड दिनुको कारण मान्छेले आफ्नो स्वार्थलाई विर्सियोस भनेर नै हो । 
 
हामीले दोहोरो मापदण्ड बनाउछौ आफ्नो लागि एउटा मापदण्ड हुन्छ भने बाँकी अरुको लागि दोश्रो मापदण्ड बनाएका हुन्छौ। यो सव काम मनको कारणले गर्दा भए हो । मनको स्वभाव एवं नियम भनेको हामी जे गर्छौ त्यसबाट अघाउछौ । मन परिवर्तनशील छ, मन सधै सनसनीको खोजीमा हुन्छ । दुईको साथमा मनको खेल दुविधा एवं सुविधासंग चलिरहन्छ, मनले केही छिन मनोरन्जन त दिन्छ तर हाम्रो जीवनलाई नष्ट गरिरहेको हुन्छ । बदल्ने काम मनोरन्जन हो, मनोरन्जन भनेको मनोघात एवं मनोनाश गर्ने हो ,यो अन्तत घातक हुन्छ। मनको कारण मानिस जटिल भएको छ एकथोक भन्छ, अर्कोथोक गर्छ, एक मान्छ , अर्को देखाउछ , मानव अस्तव्यस्त खण्ड खण्डमा विभाजित छ । 
 
मन के हो?
 
सामान्य अर्थमा मन भन्नाले प्राणीहरुको अनुभव ,इच्छा, विचार, संकल्प एवं विकल्प आदिलाई नियन्त्रित तथा परिचालित गर्ने अन्तकरणको अंश वा वृत्ति एवं चित्त, दिल वा हृदयई बुझिन्छ। मन शरीरभित्रको अदृश्य भाग हो जसबाट विचारको उत्पति हुन्छ ।यो मस्तिष्कको कार्यशक्तिको द्योतक हो । इच्छा, कामना , अभिलाषा, रुचीलाई मन भनिन्छ । मन वाहिरबाट संग्रह गरिएको विचारको जोड हो । मन असहज अवस्था,अशान्ति,सततप्रवाह तथा समस्या हो। मनको अर्थ स्मृति, कल्पना एवं भविष्य र अतितको चिन्ता हो ।मनमा विचार, कामना चलेको हुन्छ तथा पुरानो स्मृति आएको हुन्छ।
 
निद्रामा समेत मन सपनामा चलेको हुन्छ , मन व्यक्तिको व्याक्तित्वको सतहमात्र हो, यो गहिराई एवं केन्द्र होईन ।जव दोश्रो उपर सीमा बनाईन्छ त्याँहा मन हुन्छ। मनको अर्थ आफु र दोश्रो विचको सीमा रेखाका साथै अतितको अनुभव एवं स्मृति हो ।भनिन्छ मनको फैलावट नाम मनुष्य हो, मनुष्य शव्द मनले बनाएको हो,अंग्रेजी शव्द ःबल९मैन० नै मनको रुपान्तरण हो। मनमा महत्वकांक्षा हुन्छ, जहां महत्वकांक्षा रहन्छ त्याहा हिस्रक हुन्छ । 
 
जहां मन हुन्छ त्यंहा द्धन्द, अशान्ति, विरोध, पक्षपात रहन्छ । मन सधै द्धन्दमा रहन्छ, एकलाई पकडछ र अर्कोमा लडछ, मन कहिले शान्त हुदैन। मनको पासमा कुनै वृद्धि, विवेक हुदैंन, मन सिर्फ स्वपनवान हुन्छ, मनले केवल सपना देख्छ, कल्पना गर्छ, स्मृतितथा वासना गर्न सक्छ तर मनले सोच्न सक्दैन, मनको पासमा विचारको शक्ति हुंदैन । मन अव्यवस्थाको नाम हो । हरेक आकांक्षा मनको पोषण हो तथा हरेक दौड मनको नाम हो ,मन अतित र भविष्य होतर वर्तमान होईन।
 
 
मनोविज्ञान अनुसार मानिसको मनका तीन हिस्सा छन् ति हुन चेतनमन, अर्धचेतन मन र अचेतन मन । चेतनमन वा सचेतमन जुन मनको पहिलो हिस्सा हो त्यो माथि सतहमा हुन्छ, जसमा थोरै प्रकाश छ । दोश्रो हिस्सा जुन अर्धचेतन मन हो त्यो अलि तल रहन्छ , त्यस मनमा कम चेतना हुन्छ । तेश्रो हिस्सा अचेतन मनहो जुन सवैभन्दा तल देवेको हुन्छ र जुन विल्कूल चेतनारहित हुन्छ । मानिसले चेतन मनमै जादा जोड दिने गर्दछन र सारा जीवन यही मनमा व्यतित हुन्छ यो चेतन मनबाट जीवन जान्न सकिदैन । 
 
 

जीवनको जरो तथा मूल कुरा अचेतन मनमा हुन्छ जुन अदृश्य हुन्छ, गहिराईमा एवं केन्द्रमा हुन्छ जसमा हामी पुग्न सकेका हुदैनौ । जव यी तीन मन विच खण्डित हुन्छ तव मनुष्य टुटछ । यी तीन मन विचमा द्धन्द संघर्ष रहेमा मनुष्य खण्डित हुन्छ । अक्सर हाम्रो चेतनमन वाहेक अन्य मनमा ध्यान पुग्दैन । जुन चेतनमनमा भएको प्रकाश छ त्यसलाई अन्य दुईमनमा पनि लैजानुपर्छ ।जव अचेतनमनमा प्रकाश पुग्छ तव चित्त परिवर्तन हुन्छ, जागरण आउन शुरु गर्छ अनि तिनतहको मन जोडिन्छ । विज्ञानको सारा कथा सानो चेतन मनको मात्र हो, वाहिरको जगतमा जुन प्रयोग भएको छ त्यो चेतन मन हो । 

 
 
प्रेम, घृणा, लोभ, क्रोध, मोह, इर्श्या सव अचेतन मनबाट आउछ । ओशो भन्नु हुन्छ ूप्रत्येक मनुष्यको भित्र मनका दुई हिस्सा हुन्छन, आधा हिस्सा पुरुषको र आधा हिस्सा स्त्रीको हुन्छ । प्रत्येक मनुष्यको भित्र दुई मन छ ,एक मन पुरुषको र अर्को मन स्त्रीको हो । जुन पुरुष मन हो त्यसले तर्क गर्छ,विचार गर्छ, गणित गर्छ, विज्ञानको खोज गर्छ, विवाद गर्छ र त्यो पुरुष मन आक्रामक पनि हुन्छ। जुन स्त्री मन हुन्छ, त्यसले प्रेम गर्छ, अनुभव त्यसमा हुन्छ, दया हुन्छ, गित संगित त्यसमा पैदा हुन्छ, भावको उमङ्ग हुन्छ, तर्क हुर्दैन, विचार हुंदैन, गणित हुंदैन तर नाच उसमा हुन्छ, काव्य उसमा पैदा हुन्छ । जव यी दुईमनको मेल हुन्छ, जव यी दुईमन एक अर्कोमा घुलमिल भई एक हुन्छ तव जे पैदा हुन्छ त्यो धर्म हो।
 
भनिन्छ यस जगतमा तीन शास्त्र छन ती हुन विज्ञान, कला र धर्म। विज्ञान पुरुषको खोज हो, कला स्त्रीमनको खोज हो । विज्ञान र कला दुवै मिलेर धर्म बन्दछ। हामी मानव भित्र मास्तिष्क र हृदयको मेल हुनु जरुरी हुन्छ, अनुभूति र विचारको मेल हुनु आवश्यक हुन्छ, तर्क र भावको मेल हुनु पर्छ तव जीवन सार्थक बन्छ ।
 
 

मानवको अन्तस्करणमा चार भेद हुन्छन ति हुन मन, चित्त, वुद्धि र अहंकार । अन्तस्करणबाट जव कुनै कुरा सोचिन्छ त्यसलाई मन भनिन्छ, जव अन्तकरणले खोज गर्छ त्यो चित्त हो, मन वासनाहरुको पुञ्ज हो । भगवान श्री कृष्ण भन्नुहुन्छूपृथ्वी,जल, अग्नी, वायु,आकाश, मन,वुद्धि र अहंकार यी आठ प्रकारले विभक्त भएको मेरो प्रकृति छ। भित्री यात्राको पहिलो चिज मन हो, यो मानिस भित्रको मनन शक्ति हो। मानिसको मनको विशिष्ट रुप तर्कयुक्त अर्थात वुद्धि हो ।

 
 
भनिन्छ व्याक्तिको मन तीन केन्द्रमा वा पत्रमा वांडिएको हुन्छ । मनको पहिलो परिधी कर्मको हो, दोश्रो विचारको र तेश्रो परिधि भावको हुन्छ । मन विनाकाम एकक्षण पनि रहन सक्दैन, मनविना सोचाई एवं विचार जिंउदो रहन सक्दैन।भाव मनको गहिरो पर्त हो । वर्हिमुखी व्यक्ति कर्मप्रति आकंर्षित हुन्छ, वर्हिमुखी व्यक्तिले भित्रको अन्तरआत्माको देख्दैन, उसको आँखा बाहिरमात्र जान्छ । मन वर्हिमुखी हुन्छ ,मनको ध्यान दोश्रो उपर रहन्छ, मनले दोश्रोलाई चिन्छ,आफुलाई मनले चिन्दैन, मनले हामीलाई दोश्रो सित जोड्छ, मनले संसारसंग जोड्छ।
 
भनिन्छ साधारण मृत्युमा सिर्फ शरीरमात्र भर्छ तर मन मर्दैन । मन अनन्त जन्मको स्रोत हो । शरीर गिर्छ तर मन वासनासाथ चलिरहन्छ, कर्मको स्मृति साथ चल्छ जुन कर्म गर्न पाईएको छैन, त्यसको आकांक्षाको साथ मन चल्छ। भनिन्छ अज्ञानता अन्धकारमा भटकिन्छ ताकी ज्ञानी महाअन्धकारमा भटकिन्छ त्यसैगरी गरिव व्यक्ति कम अशान्त हुन्छ तर अमिर ज्यादा अशान्त हुन्छ। मनले हामीलाई चारैतर्फबाट घेरेको छ र जीवनको शारा उर्जा मनले लिएको छ, मनले होसमा वा वेहोसमा, जागेको वेला वा सुतेको वेला सताएको हुन्छ । रातमा सपना चल्छ, दिनमा विचार चल्छ, मनले नत जाग्न दिन्छ नत सुत्न दिन्छ ।
 
मनको स्वभाव/प्रकृति र अवस्थाः
 
मन चन्चल हुन्छ, चञ्चल हुनु भनेको मनको स्वभाव हो, यही मनको उपयोगिता र खतरा पनि हो । मन संसार जान्न चाहन्छ तर सत्य जान्न वाधक हुन्छ । मन धेरै शक्तिशाली र जिद्धी पनि छ । जीवन एक छ, अस्तित्व एकै छ तर मन भने कुनै पनि चिजलाई नटुक्राई हेर्न सक्दैन। कुनै पनि कुरालाई पूर्णतामा हेर्ने मनको स्वभाव हुदैन। मन जहिले पनि दुई चिजलाई छुट्याउछ भने तिनको विचमा अवरोध देख्छ । मनुष्यको आत्मा त एक हुन्छ तर उसको मन अनेक हुन्छन। मनुष्यको परिस्थिति एउटै हुन्छ तर उसको विचमा स्थितिहरु भिन्न भिन्न हुन्छन । मनका दुई अवस्था छन ,एक दौडिरहेको मन वा चलमन हो भने अर्को स्थिर रहेको मन वा अचल मन हो । 
 
दौडिरहेको मन भविष्यमा हुन्छ कल्पनामा, सपनामा हुन्छ, भविष्यको कुनै अस्तित्व हुंदैन, अस्तित्व त केवल वर्तमानको हुन्छ । अचल मन वर्तमानमा हुन्छ अचल मन भएको व्यक्ति धार्मिक हुन्छ । मन इन्द्रियहरुको जोड हो सारा इन्द्रिय आआफ्ना अनुभवहरु मनलाई सुम्पन्छन, मन ति सवलाई एकीकृत गर्दछ । श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ अर्जुन तिमी कम्तीमा पनि पाँच इन्द्रियहरुबाट हट र मनसम्म पुग, मनको पारी जुन चेतना छ जान्ने क्षमता छ त्यो म नै हुं । 
 
यस जगतमा चार किसिमका मानिस पाईन्छन , जुन आफुलाई शरीर मान्दछन ति शुद्र हुन्छन, जो आफुलाई मन मान्दछन ती वैश्य हुन्छन, जुन आफुलाई वुद्धि, विचार मान्दछन ती क्षत्रीय हुन्छन भने जो आफुलाई व्रहम वा परमात्मा एवं सत्यभन्ने जान्दछन ती व्रहमाण हुन्छन । यो व्यवस्था कुनै जातसंग सम्बन्धित छैन यो त स्वभावसंग सम्बन्धित हुन्छ । 
 

प्रत्येक व्यक्तिका दुई आयाम हुन्छन, दुई नभईकन मन हुंदैन, संसारमा व्यक्तिको प्रकट हुने उपाय मन हो, मनभित्र द्धन्द हुन्छ, दुईधारे चिज हुन्छ । रावणभित्र पनि राम हुन सक्छ र राम भित्र पनि रावण लुकेको हुन्छ । मनले नभएको कुरा माग्छ, पाएको कुरामा उसको चित्त बुझ्दैन । दोहोरो मापदण्डवाला मन सदा दुखमा रहन्छ यस्तो मन इमान्दार र संयक हुंदैन । इमान्दार मन दोहोरो मापदण्डबाट मुक्त हुनुपर्छ । मनको सवैभन्दा ठुलोक्षमता त्यो हो कि जुन आफैलाई धोका दिने क्षमता राख्दछ तर त्यस्तो खालको धोकामा पर्नाले कोही कहिल्यै पनि आनन्द र मुक्त पाउन सक्दैन ।

 
मनले स्वभाव चञ्चल भएको हुंदा कहिलेकांही केही चिजलाई स्वीकार गरिहल्छ र फेरी तत्काल केही वस्तुलाई अस्वीकार पनि गरिदिन्छ। मानिस धेरै वेइमान छ किनकी जो उसको मानमा आंउछ उ कहिल्यै पनि भन्दैन जो वाहिर भन्छ त्यो भित्र विलकूल हुंदैन । मनलाई जंहा जानबाट रोकिन्छ  मन त्यही जान तत्पर हुन्छ । मनले नभएको कुरा माग्छ र पाएको कुरामा उसको चित्त बुझ्दैन । मन कल्पना गर्नमा वडो कुशल छ ,मन अतितको स्मृति र भविष्यको कल्पनामा रहन्छ ।
 
मन समस्या हो, एक समस्या हल हुन्छ दोश्रो समस्या निर्मित हुन्छ । एउटा समस्याको समाधन दियो, दशवटा समस्यानिर्मित गर्छ, मनले संदेह शंका चिन्ता सिर्जना गर्छ। मन सारा विमारीको जड हो । वुद्ध भन्नुहुन्छ मन जवतक हुन्छ तवतक रोग हुन्छ, मन नै रोग हो । मनले जगतको पदार्थ जान्न सक्छ तर जगतमा छिपेको परमात्मा जान्न सक्दैन । भनिन्छ मनले चल्नेवाला व्यक्ति आस्तिक हुन सक्दैन । 
 

अहंकारलाई मनले वोक्छ र अहंकार मनको पहिलो सन्तान हो। अहंकारले काम, क्रोध, लोभ, मोह वोकेको हुन्छ । मन कपटी तथा चालवाज हो । मनले हरचिजको वाहना र तकं खोज्छ । मनले जाल फैलाउछ र जालवाट वंच्न पुन फेरी अर्कोजल फैलाउछ । मन पंडित वन्न चाहन्छ, मनले ज्ञान , प्रतिष्ठा , धन संग्रहको संग्रह गर्छ ।

 
 
मन व्यवस्थापनका उपायः
हामीले मनलाई उपयोग गर्न सिक्नुपर्छ, मनलाई भटकाउने होईन, भटकाउन चाहेर पनि मन भटकिदैन । हामी भटकन चाहन्छौ भने बरु मनले साथ दिन्छ । हामी क्रोध गर्न चाहन्छौ भने मनले क्रोध गर्छ, हामी चोरी गर्न चाहन्छौ भने चोरीको उपाय मनले बताउंछ, हामी भ्रष्ट हुन चाहन्छौ भने मनले भ्रष्टाचार गर्न सिकाउछ, हामी करुणा गर्न चाहन्छौ भने मनले  करुणा गर्छ, मन त्यही गर्छ जुन हामी गर्न चाहन्छौ । मन हाम्रो पछाडी चल्छ, मन छांयाँ हो, हामी जंहा जान्छौ मन त्यही जान्छ र पुग्छ । 
 
हामी स्वयम मनको मालिक हुन सिक्नुपर्छर मनलाई मालिक बनाउनु हुदैन। मनलाई वशमा राख्ने हो र स्थिर गर्ने हो। मनलाई चालु राख्ने र बन्द गर्ने कला सिकी मनको मालिक वन्नुपर्छ । मनलाई दवाउने पनि होईन, मनलाई दवायो भने रक्तविज जस्तो भएर आंउछ । मनलाई बदल्ने हो मनप्रति जाग्ने हो मनलाइ ठीकसंग जान्ने , बुझ्ने र देख्ने हो, जुन दिन मनबाट पार पाईन्छ त्यही दिन मुक्ति मिल्छ । अभ्यास र वैराग्यले मन वशमा आउंछ । अभ्यास बाह्रय र आन्तरिक स्थितिको परिवर्तन हो । 
 

जुन संस्कार, बानि व्यहोरा हामी भित्र जम्मा भएको छ त्यसलाई भत्काएर नयाँ दिशा दिनु अभ्यासको परिमाण हो । वैराग्य भनेको रागको जगतमा वितृष्णा हो । वैराग्यको भावना जागृत भएमा हामीले मनला विश्राममा पुर्‍याउन सकिन्छ । 

 
भनिन्छ शुभकार्य गर्नेको दूर्गती हुंदैन, कसैले शुभकार्य गर्न चाह्यो र कोशिस गर्‍यो भनेत्यसको मनमा शुभको विज अंकुरित हुन्छ । शुभ कर्म गर्नेले सफलता नपाए पनि त्यसको दूर्गती हुंदैन । हामी आज जे जति छौ त्यो हाम्रो विचार भाव र कमर्को जोड हो, यो हाम्रो अतितको पूरा श्रृङखला हो । धर्मको एवं सत्यको जगतमा प्रवेश गर्न स्वयमलाई जान्नु जरुरी हुन्छ । सवै किसिमका संशय र शंकालाई त्याग्नु पर्छ ।आफ्नोमनको अवस्थालाई परिवर्तन गर्नु पर्छ ।
 
अदृश्यको खोजी धर्म हो र दृश्यमा अलझीरहनु संसार हो तसर्थ मनमा आइरहने र गईरहने विचारलाई हेर्नुपर्छ । अध्यात्मा विद्या स्वयमलाई जान्ने विधा हो, स्वयमलाई जान्नाले आनन्द घटित हुन्छ । वासनालाई वैराग्यले काटन सक्नुपर्दछ वैराग्य भनेको जँहा हामीलाई सुखको ख्याल आउंछ त्यंहा सुख छैन भनी जान्नु हो। स्वअध्ययनमा लाग्नु ,अरुलाई दुख पुर्याउने वृत्तिको त्याग गर्नु, जस्तो हामी भित्र छौ त्यस्तैवाहिर पनि हुनु, अरुलाई दोष दिन छोडनु, कसैको निन्दा नगर्नु नै मन व्यवस्थापनका उपाय हुन ।
 
 
यो जगत प्रतिध्वनिको ठांउ हो, त्यहाँ हामी जे गर्छौ त्यो हामी माथि नै बर्सन्छ तसर्थ प्रकृतिको नियमसंगै हामी चल्नु पर्दछ । भगवान श्रीकृष्ण भन्नुहुन्छ काम, क्रोध र लोभ यी तीन नरकका द्धार हुन जसलाई बांच्ने इच्छा भनिन्छ, सवै लोभ कामवासनाको विस्तार हो । काममा तथा वासनामा वाधा दिने माथि क्रोध आउंछ । यदी हामीमा कुनै लोभ छैन भने हामीले कुनै मित्र पनि बनाउदैनौ र हामीमा क्रोध छैन भने कुनै शत्रु पनि बनाउदैनौ । काम, क्रोध र लोभ यी तीन चिजले जीवनमा दुख निम्ताउंछन र यी चिजलाई त्याग्नु पर्छ । 
 
ओशो भन्नुहुन्छ मनलाई प्रशन्नबनाउने प्रयत्‍न गर, जसै मन प्रशन्न राख्न सक्छौ तिमी मनको पार पाउछौ । भनिन्छ जहां इच्छा र आकांक्षा हुंदैन त्यंहा उपलव्धि हुन्छ । मनुष्यको जीवनमा त्यही घटना घटछ जो उसको धारणा हुन्छ ,धारणा नै जीवनको मूल शुत्र र आधार हो ,हामी जस्तो धारणा बनाउछौ त्यही हुन्छौ । आफ्नो धारणाले नै आफुलाई सुख वा दुख दिन्छ, आफ्‍नो धारणाको वाध्छ वा मुक्त गर्छ । वुद्ध भन्नुहुन्छ जस्तो विचार गर्छौ त्यस्तै हुने छौ । इन्द्रियहरुको माध्यमले पाईने सवै शुख क्षणभङगुर हुन्छन, यी सुख भोग्ने वेलामा त सुखद लाग्छ तर भोग्नासाथ दुखको अनुभव र धोका हुन्छ, अन्तमा परिणाम विष समान हुन्छ ।
 
 

हामीले जुन चिज जस्तो हो त्यसलाई त्यस्तै देख्नु पर्छ, आफ्नो कुनै धारणा विचमा ल्याउनु हुंदैन, तथ्यलाई कथ्य बनाउनु हुदैन र व्यर्थको कुरा भूल्नुपर्छ र सार्थकको कुरामात्र सम्झनु पर्छ । हामीले त्यही कार्य गर्नुपर्छ ,जो आफ्नो ह्रदयले गर्न भन्छ, जो आफुलाई गर्न योग्य लाग्छ त्यस्तो कार्य मात्र गर्नुपर्दछ । अर्काको अनुकरण, नक्कल गर्नु हुंदैन । लगनशील भई  निष्ठा र इमान्दारीताका साथ काम गर्ने र त्यसको परिणाम जे आउछ त्यसलाई अहोभावका साथ स्वीकार गर्न सक्नुपर्दछ ।

 
हाम्रो मन प्राय वेहोशीमा रहन्छ तसर्थ मनलाई होसमा राख्नु पर्छ, मनलाई माथि पनि चढाउनु हुंदैन र तल पनि झार्नु हुंदैन, केवल होसमा राख्ने प्रयास गर्नुपर्छ र विना सपना एवं कल्पना सत्यको साथमा जिउनुपर्छ । मानिसका सोचाई तीन प्रकारका हुन्छन । सकारात्मक सोच, नकारात्मक र सम्यक सोच । हाम्रो सोचाई यर्थातवादी र सम्यक हुनुपर्छ । नत धेरै आशावादी नत निराशावादी केवल सम्यक यतार्थवादी हुनुपर्छ । हामीले परिस्थितिलाई दोष दिन छाडी आफ्नो मनस्थितिलाई हेर्नुपर्छ र परिवर्तन गर्ने चेष्टा गर्नुपर्दछ। 
 
हामीले जीवनका सवै घटनाबाट प्रेरणा प्राप्त गरेर अगाडी बढ्नुपर्छ नकी बदलाको भाव । अनुकूल एवं प्रतिकूल परिस्थितिमा पनि साक्षी अर्थात समदर्शी हुनु नै समत्व वा समभाव हो । दृष्टिमा रुपमान्तरण भएमा सारा सृष्टि रुपान्तरण भएको आभाष हुन्छ । महिर्षि पतन्जली भन्नुहुन्छ आनन्दित व्यक्तिको प्रति मैत्री, दुखी व्यक्तिको प्रति करुणा, पूण्यवान प्रति मुदिता९प्रशन्नता० तथा पापी प्रति उपेक्षा यी भावनाको सम्वर्धन गर्दा मनमा शान्ति हुन्छ । वुद्ध भन्नुहुन्छ यदी तिमी दुखी छौ भने नितान्त आफैं जिम्मेवार छौ, भित्र हेर दुखको कारण खोज, यदी तिमी भित्रको कारण खोज्यौ भने बाहिर आफै फ्याक्न सक्छौ, तिम्रो प्रशन्नता रोक्न कसैले सक्दैन, प्रशान्नता आन्तरिक अवस्थाको हो वाहिरबाट आउंदैन्। 
 
जगत विभिन्न प्रकारका छन जस्तै हाम्रो वाहिरको जगत छ, व्यक्ति वा वस्तुको जगत छ, कर्मको जगत छ, संवेदना वा भावनाको जगत छ, यी सवै जगत नै समष्टिगत जगत हो, यस जगतप्रति मैत्रीभाव राखेमा शान्तिउत्पन्न हुन्छ भने वैरभाव राखेमा अशान्ति उत्पन्न हुन्छ तसर्थ जगत प्रति मैत्रीभाव राख्नु पर्छ । छोटा छोटा कुराहरुबाट पनि आनन्द र अनुभव लिन सक्नुपर्छ, जीवनमा हामी जे काम गर्छौ त्यसमा हामीले लाभ हानीको हिसावकिताव नगरी केवल जे गरिन्छ त्यसबाट आनन्द र खुशी लिनुपर्छ । 
 
कर्म आनन्द हो, लाभ हानीको हिसाव होईन, जुन कर्ममा फलको आशक्ति हुदैन उसमा आनन्द प्राप्त हुन्छ । जगत र वस्तुमा मैत्रीभाव र कर्ममा आनन्दभाव राख्नु पर्छ । सुख र दुखबाट मुक्तिको उपाय समता भाव हो, हामी चौविसै घण्टायात सुखको यात दुखको संवेदनामा रहन्छौ । सुख हुंदा होस वा दुख हुंदा उत्तेजनामा नआई समताभाव राख्नुपर्छ । उत्तेजना नै अशान्तिको कारण वन्छ। भनिन्छ सामाजिक क्रान्ति वाहिरको जगतमा भडकन्छ भने आध्यात्मिक कान्ति भित्रको जगतमा हुन्छ र आफुतक पंहुचन्छ तसर्थ संघर्ष होईन साधना जीवनमा आवश्यक हुन्छ ।
 
इन्द्रियलाई वशमा लिएर मनको रुपान्तरणमा लागि वासनालाई स्वयमं आफ्नो पछाडी लगाउनु पर्छ । हाम्रो इन्द्रिय एवं शरीरलाई आदतले होईन मनले वशंमा राख्नुपर्छ, मनलाई वुद्धिले र वुद्धिलाई आत्मा तथा परमात्माले नियन्त्रण गर्नुपर्छ । मन हटेपछि चेतना र जगतलाई देखिन्छ, चेतना शास्वत हो । जुन मनुष्यको कुनै पनि दौड हुन्छ उसको दिनरात सधै अशान्त हुन जान्छ, अशान्ति दौडिरहेको चित्तको छाँया हो ।जहां स्थिर चित्त हुन्छ त्यही शान्ति हुन्छ । मनको अभाव नै शान्ति हो, मनको पार जो जान्छ त्यसैले सत्यको प्राप्त गर्दछ । 
 
हामी शारीरको सम्बन्धमा धेरै होसियार रहन्छौ ,दैनिक स्नान गर्छौ तर मनलाई दैनिक सफा गर्दैनौ । हामी दुवै अतिमा होइन मध्यममा रहने हो भने मनको पार हुन्छ, हामी क्रिया र अक्रियाको विचमा रहन सक्नु पर्छ । हामीले चेतनमन, अवचेतन मन र अचेतन मनलाई एकीकृत बनाउने प्रयास गर्नुपर्दछ। हामीले खराव चिजलाई दमन गर्ने होईन निरीक्षण गर्ने हो त्यसप्रति जाग्ने हो । हाम्रो चेतनामा जे जे वृत्ति उठछ त्यसलाई हामीले पकडेर उसको पीछा गर्दै त्यो वृत्ति एवं चित्त जहाँबाट जन्मेको हो त्यही हामी पुग्नुपर्छ ।
 
वृत्तिलाई दमन गर्ने होईन पिछा गर्ने हो। ।वर्तमानमा जिउनु नै मनको मृत्यु हो र सत्यलाई जान्न जे छैन त्यसलाई नदेख्ने नै हो । मनको साथ छोड्नु पर्छ, जव मन जान्छ तव क्रोध , लोभ, मोह, वासना जान्छ । जव मनको साथ छोडिन्छ तव संसारमा कोहीपनि खराव रंहदैन। आचार्यरजनिश भन्नुहुन्छ तिमी मन होईनौ, तिमी त्यो हौ जो मनको जान्दछौ ,मनको देख्छौ, मनको पहिचान गर्छौ, मनबाट पछि हट, मनबाट दूर होउ, मनले मृत्युपछि पनि छोडदैन, मन उसले छोडन सक्छ तव जसले मन म हैन भन्ने जान्छन। फ्रायडले जसको मन विमार छ उसको मनको स्वस्थ्य गर्ने चेष्टा गरे । बुद्धले मनलाई मेटाउने र मनको छुटकारा दिलाउनेतिर लाग्नुभयो । 
 
बुद्ध भन्नु हुन्छ काम, क्रोध, लोभ, मोह, इर्श्या, जलन यी सवै जंगल काटिदेउ, जंगल मन हो त्यो काटिदेउ, रोगको स्रोत मन हो, स्रोत नै फालिदिएपछि रोग जान्छ। मनबाट पार पाउन मनको साक्षी बन्नुपर्छ । आफ्नो चेतना र विवेकलाई मनले सञ्चालन गर्ने होईन, चेतना र विवेकले मनलाई सञ्चालन गर्ने हो । मनबाट मुक्त नभएसम्म हामी जीवनबाट नै वञ्चित रहन्छौ । जव मन हाम्रो मालिक हुन पांउदैन तव एक निर्दोशिता सरलता पैदा हुन्छ, दम्भ, लोभ, क्रोध मेटिदै जान्छ ।
 
मनलाई हामीले जन्नुपर्छ मन भन्दा अलग हुन सक्नुपर्छ मनलाई देख्नु पर्छ, मनलाई दृश्य वनाई आफु द्रष्टा बन्नु पर्छ तव जीवनमा नयाँ किरण र ज्योति आउन सक्छ । मनबाट पारपाउन सव तरहको कल्पना, विचार छोडिदिनुपर्छ । हामी आध्यात्मिक हुन सक्यौ भने जीवनमा रुपान्तरण हुन सक्छ । अध्यात्म भनेको पूर्ण जीवनको कला हो, धर्मले व्यवहार रुपान्तरण गर्ने हो । र्धम भनेको मान्ने होईन जान्ने हो । सवै प्रकारका शव्दबाट, शास्त्रबाट, विचारबाट वच्नु नै धर्मको द्धार हो । 
 
ओशो भन्नुहुन्छ, खोजमा निर्भर हुनु भिक्षामा होइन, भागेर पाईदैन, जानेर पाईन्छ, सत्य त्यो कुरामा छैन जसको कुनै पसल छ जहांबाट तपाई किनेर ल्याउनु हुन्छ । इश्वर मोक्ष, ज्ञान वा सत्य कुनै रेडिमेट चिज होइनन, तयारी रुपमा उपलव्ध हुदैनन यो त पूरा जीवनको आहुती र पूरा जीवनको श्रम साधनको फल बन्छ, यो त अन्तिम फूल हो जुन आउंछू। भनिन्छ जसले मनसंग जिउछ उ साधक होईन, जो संकल्पको साथ जीउछ उ साधक हो । यदी फूललाई चिन्नु छ भने फूलको बारेमा सोच्ने होईन, विचार गर्ने होईन, हेर्ने हो, तथ्यलाई जान्न हेर्नु पर्छ, विचार मौलिक हुन सक्दैन, दर्शन मौलिक हुन सक्छ, द्रस्टा मौलिक हुन्छ ।
 
कवीर भन्नुहुन्छ इच्छाले दुखलाई आमन्त्रित गर्छ त्यसैले इच्छाहरु जतिकम हुनेछन त्यतिनै धेरै दुख मिल्ने छ । राजा दुखी छन, गरिव पनि दुखी छन, धनी पनि दुखी छन, केवल निर्मल विचार भएका शान्त मात्रै आफ्नो मनलाई जितेर सुखी एवं खुसी हुन्छनू। वुद्ध भन्नुहुन्छ नराम्रोलाई जागेर हेर्नु तर नगर्नु राम्रोलाई जागेर हेर्नु र गर्नु, अति चित्तलाई दिन दिनै शुद्ध गर्दै जानुू। त्यसैगरी ओशो भन्नुहुन्छ मन बदलिरहन्छ, मन हावा हो, जव शुभ गर्ने मन हुन्छ गरी हाल्नु, जव अशुभ गर्ने मन हुन्छ तर थोरै ढिलो गर्नु । नराम्रो गर्ने मन आयो भने केही समय रीकिनु सोच्नु किनकी यदी सोच्नको लागि रोकियो भने नराम्रो कहिल्यै पनि हुने छैन । शुभ गरेर पछुताउनु राम्रो कमसेकम अशुभ त टर्यो।
 
 

मनलाई विदा गर्ने उपाय ध्यान नै हो ।मनलाई सफा गर्ने माध्यम एवं तीन प्रकारमा मनलाई जोडने साधन र मनको पीछा गर्ने माध्यम ध्यान तथा योग नै हो। ध्यानको अर्थ मनलाई वाहिर फ्याक्नु हो, मन नरहनु  नै ध्यान हो ।यो स्वयम आफूलाई जान्नु हो र स्वयमको जागरण हो । भनिन्छ मनको नाश जंहा हुन्छ त्यहां मोक्ष प्राप्ति हुन्छ। मन संसारको द्धार हो भने ध्यान मोक्षको द्धार हो ।

 
अतः मन शान्त गर्न, मनलाई व्यवस्थापन गर्नको लागि मनको मालिक बनेर मनलाई चेतना र विवेकले चलाउनु पर्छ, मनलाई कहिल्यै पनि मालिक बनाउनु हुदैन । मन बन्द पनि रहोस र होस एवं जागरण पनि बनिरहोस, मन चुप रहोस, विचार बन्दरहोस तर बोध नहराओस । मनलाई स्नान गर्ने उपाय ध्यान एवं अन्तरआत्माको जागरण नै हो ,मनमा तीन स्थिति स्वपन, जागृत र सुशुप्त हुन्छन , सवप्न मन र सुशुप्त मन वन्द गरी मनलाई जागृत बनाउनु पर्दछ । त्यसैगरी मनको व्यवस्थापनको लागि गौतमवुद्धको आष्टाङगिक मार्ग सम्यक दृष्टी, सम्यक जागृति एवं स्मृति ,सम्यक कर्म ,सम्यक सम्वन्ध, सम्यक संकल्प, संयक स्वीकार ,संयक वाणी र संयक समाधीलाई अवलम्वन गर्न सकियो भने जीवन स्वस्थ्य समृद्ध र मस्त हुन सक्दछ ।