दोहोरो कर खारेज गर्न अर्थमन्त्रीसँग उद्योगी व्यवसायीको माग

मंसिर १७,२०७७

-

मंसिर १७, २०७७ काठमाडौं ।
उद्योगी व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीहरुले बताएका हुन् । 
 
उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुले बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरु दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् ।
 
महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए । यसरी दुई सरकारबाट कर असुली गर्नु कानून विपरित भएको उनले बताए ।  यस्तै देशको आर्थिक विकासमा कतिपय कानूनहरु बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताए । 
 
त्यसका लागि कुनकुन कानूनहरु परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाव दिन लागेको पनि अध्यक्ष गोल्छाले बताए । 
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यस तर्फ ध्यान दिन माग गरे । 
 
यस्तै सरकारले निर्यातलाई अझबढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्न सुझाव दिए । 
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्र प्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए । 
 
निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धि जस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताए । 
 
कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीति मार्फत सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थभन्त्री पौडेलले बताए ।