जापानमा बस्ने जुनसुकै देशका नागरिकले निःशुल्क कोरोनाको खोप पाउने

मंसिर १७,२०७७

-

मंसिर १७,२०७७ काठमाडौं ।
जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।
 
दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानून नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
 
नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ ।
 
सरकारले छ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ । बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।
 
त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।
 
फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् ।
 
चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।
 
जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानून पारित भएको हो ।
 
तुलनात्मक रुपमा जापानमा कोरोनाभाइरसको महामारी कम देखिएको छ ।
 
जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ । एक लाख ५० हजार सङ्क्रमित भएका छन् ।