प्रधानमन्त्रीका ‘प्रेस सल्लाहकार हटाउन बामदेवको सुझाव,फेरि गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैनः ओली

मंसिर २०,२०७७

-आस्था न्यूज

मंसिर २०,२०७७ काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच आइतबार नेकपाको स्थायी कमिटी बैठक तय भएको छ । शनिबारको सचिवालय बैठकमा ओलीले आइतबार बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले कार्यसूचिसहित पूर्वनिर्धारित बैठक गर्ने निर्णय लिएका हुन् । 
 
सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गम्भीर संकट रहेको र यसलाई समाधान गर्न थप छलफलको खाँचो रहेको बताएका थिए ।
 
‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरोबीचमा कुरा भयो । तर त्यसमा केही सहमति, निष्कर्ष केही भएको छैन । 
 
भोलि स्थायी कमिटीको बैठक बोलाएकै छौं,’ दाहालको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यही सचिवालयमा छलफल गरेर एउटा निष्कर्ष निकालौं न भन्ने पनि छ । तर त्यसो गर्नु उपयुक्त हुन्छजस्तो लाग्दैन । स्थायी कमिटी बैठकमा जाऔं । भोलि प्रस्ताव बाँडौं । त्यसपछि अध्ययन गर्न भनौं । त्यसपछि स्थायी कमिटीकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल गृहकार्य गरौंला ।’
 
दाहालको प्रस्तावमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापाले दाहालको प्रस्तावमा सहमति जनाएका थिए ।
 
सचिवालय सदस्य ईश्वर पोखेरलले पहिला सचिवालयकै बैठकमा छलफल गरेरमात्रै स्थायी कमिटीमा जाँदा राम्रो हुने भए पनि सचिवालयमा नसकेपछि स्थायी कमिटीमा जानु नै उपयुक्त हुने बताएका थिए । उनले आफूले आफ्ना विचार त्यहीँ राख्ने पनि बताएका थिए । महासचिव विष्णु पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले सचिवालयको औचित्य समाप्त भइसकेको हो त भनेर प्रश्न गरेका थिए ।
 
त्यसपछि बोलेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठकको औचित्य नरहेको बताएका थिए । ‘प्रचण्डको लान्छना पत्र छलफलको निम्ति उपयुक्त होइन । त्यसलाई फिर्ता लिनुपर्छ । यसलाई लिएर स्थायी कमिटीमा जान सकिन्नँ । स्थायी कमिटीको बैठक भोलि बस्दैन । यहीं छलफल गरौं ।
 
एउटा निष्कर्ष निकालौं । त्यसपछि मात्रै स्थायी कमिटीको बैठक हुन सक्छ,’ शनिबारको सचिवालय बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै एक सदस्यले भने, ‘तपाईंहरुको तयारी पुगेको होला । पुगेको छ भने बैठक गर्नुस् । स्थायी कमिटीमा फेरि गालीगलौज सुन्ने र रत्यौली नाच्ने मलाई मन छैन ।’
 
ओली बोलेलगत्तै बोलेका वरिष्ठ नेता नेपालले ओलीको कार्यशैलीको आलोचना गरेका थिए । सचिवालयका ती सदस्यका अनुसार नेपालको भनाई थियो, ‘तपाईंलाई अझै पनि म नै सुप्रिम भन्ने भ्रम छ । हामी सबै बराबर हौं । तपाईंका दास हैनौं । आफ्नो कुरामा आत्मालोचन गर्नुस् पहिला । अरुका कुरा पनि सुन्नुस् ।’
 
त्यसपछि अध्यक्ष दाहालले ओलीलाई जवाफ दिएका थिए । एक सदस्यका अनुसार दाहालको भनाई थियो, ‘स्थायी कमिटीमा रत्यौली खेल्न जाने हो रु स्थायी कमिटी परिपक्व छैन रु अब त्यहीं छलफल गर्नुपर्छ । सबै निकास त्यहीँबाट आउँछ ।’
 
त्यसपछि बोलेका सचिवालय सदस्य रामबहादुर थापाले तीन सदस्यीय कार्यदल बनाउन प्रस्ताव गरेका थिए । थापाले सचिवालय वा स्थायी कमिटीबाट कार्यदल बनाउँ भन्ने प्रस्ताव बहुमत सदस्यले अस्वीकार गरेको थियो । थापाको प्रस्तावमा पोखरेल र पौडेलले समर्थन गरेका थिए । महासचिव पौडेलले कार्यदलमा गौतमलाई बस्न प्रस्ताव गरेका थिए । गौतमले पौडेलको प्रस्ताव पनि अस्वीकार गरेको ती सदस्यले बताए । 
 
सचिवालयका अर्का एक सदस्यका अनुसार वरिष्ठ नेता खनालले गोरखापत्र ओलीको मुखपत्र भएको भन्दै प्रश्न उठाएका थिए । ‘गोरखापत्र अहिले केपी ओलीको मुखपत्र मात्रै हो ? त्यसो गर्न लाज लाग्दैन रु त्यस्तो बनाउन राज्यको आचारसंहिताले दिन्छ ?’ खनालको भनाई थियो ।
 
उपाध्यक्ष गौतमले त नामै तोकेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार हटाउन सुझाव दिएका थिए । ‘उनले तपाईंलाई बदनाम बनएका छन् । बडो प्रतिवाद गरेको होलान् भन्ने सोच्नु भएको होला तपाईंले । त्यसो गरी गरी तपाईंलाई सिध्याईदिन्छन्,’ गौतमको भनाई थियो । यसरी ओलीको असहमतिबीच सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।