नागरिकको समृद्धि र राज्यको मार्गदर्शन
यज्ञ भट्टराई-यज्ञ भट्टराई
पुस ५,२०७७ काठमाडौं ।
समृद्ध भनेको धनधान्य आदिले सम्पन्न एवं पुगिसरी आएको उन्नतिशील तथा उन्नत अवस्था हो। त्यसैगरी समृद्धिले समृद्ध हुनाको भाव वा अवस्था एवं सम्पन्नता तथा उन्नतिलाई जनाउछ । राज्यको स्थापना नै नागरिकको जीवन समृद्ध वनाउनको लागि भएको हो ।
सामाजिक सम्झौताको सिद्धान्त अनुसार पनि समृद्धिका लागि नागरिकले आफ्नो अधिकार राज्यलाई सुम्पेका हुन्छन । केवल वाच्नु मात्र नागरिकको समृद्धि होईन, नागरिकले गुणस्तरीय जीवन जिउनुनै समृद्धि हो ।
गुणस्तरीय जीवन भित्र मानवीय पहिचान तथा मर्यादा सहित रहन पाउनु साथै गुणस्तरीय आवास, गुणस्तरीय शिक्षा र स्वास्थ्य प्राप्त गर्नु, गुणस्तरीय रुपमा विकासका पूर्वाधारहरुमा पँहुच हुनुका साथै सडक, विजुली ,खानेपानी, संचार लगायतका साधनहरुको उपयोग गर्न पाउनु ,स्वच्छ वातावरणमा रहन पाउनु नै गुणस्तरीय जीवन तथा समृद्धि हो ।
हाम्रो देशमा अधिकांश जनताको अवस्था हेर्ने हो भने समृद्ध तथा गुणस्तरीय जीवन जीउन नपाएको अवस्था जगजाहेर नै छ ।भनिन्छ समृद्धि लिच्छिवीकालिन शासन व्यवस्थामा थियो , त्यसकाललाई स्वर्णयुग नै भन्ने गरिन्छ ।
नेपालको एकीकरणपश्चात आधुनिक नेपालको जन्म भयो । जङगवहादुरको उदयसंगै नेपालमा १०४ वर्षे राणा शासन कायम रहन गयो ।उक्त शासन व्यवस्थामा नागरिकको समृद्धि हुन सकेन भनेर प्रजातन्त्र ल्याउनु परेको हो ।
प्रजातन्त्रको आगमन पश्चात पनि समृद्धिका लागि विभिन्न समयमा विभिन्न आन्दोलन भई शासन व्यवस्थामा उतारचढाव हुदै आईनै रहयो । वि सं २०६२/०६३ को आन्दोलनपश्चात नयाँ संविधान वनाईयो ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्बारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको छ । नागरिकको गुणस्तरीय जीवनको लागि मौलिक हकहरुको व्यवस्था गरिएको छ ।
उक्त संवैधानिक व्यवस्था कार्यान्वयन गर्न मौलिक हक सम्वन्धी ऐन वनाईएको छ । नेपालको पन्ध्रौ आवधिक योजनाले समुन्नत, स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्र सहितको समानअवसर प्राप्त स्वस्थ्य, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक वसोवास गर्ने मुलुकको रुपमा विकास गर्ने समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालिन सोंच लिइएको छ ।
यो सोंचलाई पूरा गर्न ठूलो त्याग ,तपस्या ,परिश्रम र मेहनतको आवाश्यकता पर्दछ । बिडम्वना नै भन्नुपर्दछ हाम्रो समृद्धि नारामा र शब्दमा मात्रै रहने होकी भन्ने चासो र चिन्ता आम जनमानसको रहेको छ ।
केही सीमित वर्ग र व्यक्ति जसले राज्यको सम्पति दोहन गरेर अकूत सम्पति आर्जन गरी कालान्तरमा उक्त सम्पतीलाई पूर्खौलिकरण गरे तिनीहरुको लागि समृद्धि होला तर अधिकांश नागरिकले अझै गुणस्तरीय जीवन जीउन नपाएको अवस्था छ ।
समृद्धिको लागि हाम्रा वुद्धपुरुषहरुले लिएको मार्गलाई अवलम्वन गर्नु सान्दर्भिक देखिन्छ । तत्कालिन समयमा समृद्ध राष्ट्र निर्माणको सन्दर्भमा गौतमवुद्धबाट राज्यको न्यायप्रणाली एवं राज्य व्यवस्था सुधार्नको लागि श्रावस्ती राज्यका राजा प्रेसजनितलाई गौतम बुद्धले स्मरण गराएका थिए ।
राजा र बुद्धको वार्तालाप सुनिरहेका भिक्षु आनन्दले यि परामर्शलाई “कुट दन्तशुत्र” को संज्ञा दिएका थिए जुन यसप्रकार छ “ शारीरिक दण्ड, कैद या मृत्युदण्ड दिएर अपराधहरुको प्रभावी रोकथाम सम्भव हुँदैन ।
अपराध र हिंसा त भोक र निर्धनताको स्वभाविक परिणती हुन्छ । अत जनताको सहायता गर्न तथा उनीहरुको सुरक्षाको सर्वोत्तम उपाय अपनाउनका लागि स्वस्थ्य अर्थव्यवस्थाको निर्माण गर्नमा ध्यान केन्द्रीत गर्नु उचित हुने छ ।
गरिव किसानहरुलाई भोजन, बिज र उर्वरकहरुलाई उनिहरु आत्मनिर्भर नहुँदासम्म सहयोग दिइयोस, साना व्यापारिकका लागि ऋण दिइयोस । कार्य गर्न सक्ने अवस्थामा नरहेकाहरुलाई सामाजिक सुरक्षा सहित अवकास दिइयोस । गरिव मानिसहरुलाई करबाट मुक्त राखियोस । मानिसहरुलाई आफ्नो व्यवसाय स्वयम छान्ने अवसर दिइयोस ।
मानिसहरुले जे काम गर्न चाहन्छ सोही अनुसारका व्यवहारिक शिक्षाको प्रबन्ध गरियोस । मानिसहरुको स्वेच्छापूर्ण भागिदारीमाथि नै सही अर्थनीति आधारित होस” भनी देशमा भएको थियो ।
त्यसैगरी एक अर्को प्रसङगमा गौतम बुद्धले बञ्जिसंघको नेताहरुलाई देशलाई समृद्ध बनाउने सात मार्ग बताउनु भएको थियो जसमा “आपसमा मिलेर राजनीतिक विषयहरुमाथि विचार विमर्श गर्नु, सहयोग र एकताको भावना बनाईराख्नु, राज्यद्बारा निर्धारित विधि (कानून) को पालना गर्नु , सुयोग्य र चरित्रवान र नैतिकवान नेताहरुको सम्मान गर्नु तथा उनीहरुका शिक्षाहरुबाट चल्नु, बलत्कार र हिंस्रक अपराधबाट बचिरहनु, पूर्वजका समाधिहरुको रक्षा तथा नियमको पालना गर्नु यसो गर्नाले राज्यमा समृद्ध हुन्छ र बाहिरी देशले आक्रमण गर्न र जित्न समेत सक्दैन” भनी देशना गर्नुभएको थियो ।
एकपटक सम्राटले दार्शनिक लाओत्सुलाई प्रधानमन्त्री बन्न आग्रह गरेछन तर लाओत्सुले स्वीकार गरेनन्। सम्राटको धेरै जिद्धिपश्चात उनी प्रधानमन्त्री बन्न राजी भएछन । लाओत्सु प्रधानमन्त्री बनेकै दिन एउटा चोरलाई पक्री उनको सामु सजायको लागि ल्याइयो ।
उक्त चोर एउटा राजधानीमा बस्ने धनाढ्य मानिसको घरमा चोरी गर्दैगर्दा रंगेहात पक्राउ परेको थियो । उसले चोरी गरेको साविती वयान दिएको थियो । लाओत्सुले चोर र धनीव्यक्ति दुवैजनालाई बराबरी ६ महिनाको सजाय सुनाइदिए ।
त्यो धनी व्यक्ति जसको घरमा चोरी भएको थियो उसले लाओत्सुलाई सोध्यो “प्रधानमन्त्रीज्यू यस्तो घटना त इतिहाँसमा कहिल्यै भएको थिएन जसको घरमा चोरी भएको छ उसैलाई सजाय दिने रु” तपाँइको दिमाग त ठिक ठाउमा छ निरु भन्यो ।
लाओन्सुले जवाफ दिए” साँच्चै भन्ने हो भने तँपाईलाई चोरको भन्दा बढी सजाय दिनुपर्ने हो । म धेरै नै करुणावान व्यक्ति भएको हुँदा तँपाईलाई थोरै सजाय दिएको छु । यिनीहरुलाई यति धेरै गरीव कसले बनायो जसका कारण उसले चोर्नुपर्ने अवस्था आईपर्यो रु तँपाई त्यसको जिम्मेवार हुनुहुन्छ ।
चोरीको हरेक मुद्दामा मेरो यही फैसला हुनेछ, दुवै व्यक्ति जेल जानेछन । तँपाइको गल्ती धेरै गहिरो अक्षम्य छ तर चोरको गल्ती खासै धेरै छैन । उ गरिव छ, उसको लागि तँपाई जिम्मेवार हुनुहुन्छ उसले तँपाइको ढुकुटीबाट थोरै पैसा चोर्यो भने उसको गल्ती ठूलो भयोरु त्यो धन तँपाइले तिनै गरिवहरुबाट खोस्नु भएको हो, तँपाइ धनिभन्दा धनी बन्दै जानुभयो, उनीहरु गरिवभन्दा गरिव हुँदै गए तसर्थ तँपाइको अपराध ठूलो छ” भनी जवाफ दिएका थिए ।
समाजवादी नेता अगस्त बेबेलले भनेका छनू आर्थिक असमानता रहुन्जेल राजनीतिक स्वतन्त्रता कहिल्यै पनि बराबर हुन सक्दैन । स्वतन्त्रता त्यहाँ समाप्त हुन्छ जँहा एकले अर्काको जीवनलाई प्रभावित गर्छ अर्थात त्यहाँ अतिक्रमण हुन्छ, जँहा समताको नियम उल्लंघन हुन्छू भनेका छन ।
यसर्थ उल्लेखित वुद्धपुरुषहरु एवं दार्शनिकहरुका भनाईहरुलाई मनन गर्दा हाम्रो देशलाई समृद्ध बनाउनको लागि निम्न मार्गहरुलाई मन, वचन र कर्मदेखि नै अवलम्वन गर्न सक्नु पर्दछ ।
१. खुला बहस तथा छलफलः
कुनै पनि कुराको सुधारका लागि खुलारुपमा बहस र छलफल अघि बढाउनु पर्दछ ।त्यसैगरी जनताको विचारको आदानप्रदान गर्ने, जनतालाई शिक्षित गर्ने, जनताबाट सिक्ने, जनहितका लागि कार्य गर्ने एवं जनतासँग निकट सम्बन्धमा रहने कुरालाई राजनीति र कर्मचारीतन्त्रले प्राथमिकता दिनुपर्छ ।
राष्ट्रिय मुद्दा एवं समस्याहरुमा सवै राजनीतिक दलले बहस छलफल र परामर्श गरी निष्कर्ष निकाल्नुपर्दछ ताकी जुनसुकै दलको सरकार वनेपनि ति मुद्दाहरुमा केन्द्रित हुन सकियोस । बहस र छलफलबाट नै नयाँ कुराको आविश्कार हुन्छ । नेतृत्व वर्गले आफ्ना मनहरु स्वच्छ राखी तथ्यहरुबाट नै सत्यको खोजीगर्ने प्रयासमा लाग्नु पर्छ । हरेक राजनीतिक दल एवं कर्मचारीतन्त्र समेतले आम नागरिकले के चाहन्छन भन्ने कुरा मनमा लिई सोही अनुरुप कार्य गर्नु पर्दछ ।नागरिकहरु नै सच्चा नायक, शक्तिका स्रोत एवं इतिहासका सिर्जनाकार हुन भन्ने कुरालाई मनन गर्दै राज्य, सरकार तथा राजनीतिक दलहरुले निर्णय गर्दा खुला छलफल गर्ने र पारदर्शिता एवं जनसहभागितालाई अवलम्बन गरी नीति कानून, योजना र निर्णय निर्माण गर्न सक्नु पर्दछ ।
२. एकता, समन्वय र सहयोगको भावनाः
राष्ट्र एवं जनताको हितको लागि सवै राजनीतिक दल एवं वर्गहरुमा आपसी एकता हुनु पर्दछ ।मातृभूमिको माया गर्नु ,अरुसित मिलेर काम गर्नु र सहयोग गर्नु प्रतिष्ठाको कुरा हो भने मातृभूमिलाई हानी पुर्याउनु, अल्छी तथा विचौलिया तथा भ्रष्ट भई सित्तैमा अरुबाट लाभ लिने कार्य गर्नु लज्जाजनक एवं पापूर्ण कर्म हो भन्ने सिद्दान्तलाई सवैले मनन गर्नु पर्दछ । । देशभक्ति, समर्पण, मित्रता, शिष्ट्ता, सामाजिक सदभाव, सामाजिक उन्नति, राष्ट्रिय एकता, सामाजिक एकता, पारिवारिक एकता जस्ता पक्षलाई सवैले आत्मसात गर्नुपर्दछ । जनताको सुख दुखमा सहभागी भई सबैका हितका लागि आपसी एकता, सहयोग र समन्वयको माध्यमबाट विकास कार्यमा लाग्नु गर्नुपर्दछ । समाज परस्पर अन्तरनिर्भर छ तसर्थ सामूहिक एवं व्यक्तिगत कर्मले भविष्यको सिर्जना गर्न मद्धत पुर्याउदछ भन्ने कुरालाई मनन गर्दै आपसी एकता ,समन्वय र सहयोगको भावना साथ कर्म गरेमा समृद्ध नेपाल बन्नमा सहयोग पुग्छ ।
३.कानूनको पालना एवं कार्यान्वयनः
राज्यको कानून तोड्ने जो कोही भए पनि सजायको भागी हुनुपर्दछ ।साथै भेदभाव रहित तवरबाट कानून उल्लंघन गर्नेलाई सजाय गरिनु पर्दछ । सरकारले शक्ति पद्धतिद्बारा नियन्त्रित छ भन्ने कुरामा सबै आश्वस्त हुने वातावरण सिर्जना हुनुपर्दछ । कानूनको पालना गर्नु र अनुशासित हुनु प्रतिष्ठाको विषय हुनुपर्दछ भने कानून र अनुशासनको उल्लंघन गर्नु लज्जाजनक विषय बन्ने वातावरण हुनुपर्दछ ।आफ्नो अधिकार र व्यक्तिगत सुविधा मात्र खोज्ने र पदको दुरुपयोग गर्ने जस्ता कार्यलाई निरुत्साहित गर्नुपर्दछ । सबै सरकारी पदाधिकारीहरुले सामूहिक हितका विषयमा निश्वार्थरुपले कार्य गरी इमान्दार र मेहनेती भई जनताले सामना गर्नुपरेका समस्याहरु प्रति चिन्तित भई तिनीहरुलाई व्यवहारिक सेवा प्रदान गर्न अग्रसर हुनुपर्दछ । कानूनको शासनलाई नैतिकताको शासनसँग समेत जोडने विषयलाई मनन गरिनु पर्दछ ।
४. सुयोग्ग नेतृत्वको सम्मान एवं सदाचारिताको अवलम्बनः
भनिन्छ असल वस्तु बनाउन फलाम पनि असलै हुनुपर्दछू तसर्थ राजनीतिमा इमान्दारिता प्रवर्द्धन हुनु पर्दछ । त्यसैगरी राजनीतिक मान्यतामा पनि निरन्तर प्रष्ट हुनुपर्दछ । राजनीतिक नेतृत्वले राज्यका मामिलाहरुबारे चिन्तित हुन प्रथम हुने र सुख सुविधा एवं विलासी भोग गर्ने कुरामा अन्तिम हुने आर्दश सदा मनमा राख्नु पर्दछ ।राजनीतिमा इमान्दार र विश्वासयोग्य हुनु, सादा जिवन व्यतित गर्ने कुरा प्रतिष्ठाको विषय बनाईनुपर्दछ भने लाभको लागि सिद्धान्तको वलि चढाउनु, फजुलखर्ची जीवन व्यतित गर्नु लज्जाजनक विषय बन्नुपर्दछ ।
राजनीति एवं कर्मचारीतन्त्रमा सदाचारी एवं इमान्दारी व्यक्तिहरुको समूह बनाईनुपर्दछ । त्यसैगरी राजनीतिज्ञले विज्ञ एवं सल्लाहकार राख्दा योग्य, इमान्दार व्यक्ति चयन गरिनुपर्दछ र उनीहरुको प्रयत्नलाइ सघाउने एवं प्रोत्साहित गर्ने वातावरण सिर्जना गरिनुपर्दछ । राजनीतिज्ञका विज्ञ एवं सल्लाहकारहरुले राष्ट्रको मामिलामा अध्ययन अनुसन्धान गरी राजनीतिज्ञलाई तथ्यपरक एवं सत्य सल्लाह सुझाव दिनु पर्दछ । राज्यको सेवा सुविधा मात्र उपयोग गर्ने कुरामा मात्र केन्द्रित हुने र केवल सामाजिक संजालमा मात्र प्रतिक्रिया जनाउन सक्रिय हुने कुरालाई निरुत्साहित गर्नु पर्दछ ।राजनीतिक दलभित्र इमान्दारितालाई समर्थन गर्ने वातावरण बन्नपर्छ त्यसैगरी नैतिकतालाई पश्रय दिने, फजुल खर्चको विरोध गर्ने, देखावटी कार्यमा नलाग्ने जस्ता कुरामा जोड दिनुपर्दछ ।
साथै अनुशासनको पालना गर्ने एवं आफ्नो व्यवहारको आफै सुपरिवेक्षण गर्नुपर्दछ । राजनीतिक नेतृत्वमा रहेका पदाधिकारीहरुले जनताका हित र व्यक्तिगत हितलाई छुट्याउनु पर्दछ र जनताको हितलाई व्यक्तिगत हित भन्दा अगाडी राख्नुपर्छ ।सार्वजनिक कोष सार्वजनिकहितका लागि खर्चिनु पर्दछ यसलाई व्यक्तिगत हितको साधनका रुपमा कहिल्यै पनि प्रयोग गरिनुहुन्न भन्ने कुरा मनन गर्नुपर्छ ।
५. अपराध एवं भष्टाचारको नियन्त्रणः
भनिन्छ “जो लगाम लगाएर शासन गर्न सिपालु छ उसले सर्वप्रथम आफैलाई लगाम लगाउनु पर्दछू तसर्थ हामीहरुले हाम्रो कामका सबै पक्षमा मितव्ययीतालाई व्यवहारमा उतारी फजुल र आडम्बरीमुक्त देखावटी स्वाङको विरोध गरी नियन्त्रण गर्ने प्रयास गरिनु पर्दछ । एउटा भनाई छू किराहरु सडेगलेको वस्तुमा मात्र हुर्किन सक्छनू तसर्थ शासकीय पद्धति प्रयोगमा सुधार गर्ने, अर्कमण्डयता अन्त गर्ने, विलासीपन निरुत्साहित गर्ने, खर्चिलो पन एवं फजुल खर्चको विरोध गर्ने तथा घटाउने, सबै भष्टाचार र दूराचार विरुद्ध लड्ने, शक्तिलाई व्यवस्थाको सीमाभित्र थुनीराख्ने गरिनुपर्दछ ।
भनिन्छ श्रम र धन सुखको मुहान हो तसर्थ हामीले श्रमको सम्मान गर्ने र जसले श्रम गर्दछन तिनीहरुले सुख मनाउने स्थिति सिर्जना गरिनु पर्दछ र जसले श्रम गर्दैन उसले विचौलीयाको रुपमा एवं दलालीको रुपमा भ्रष्टाचार गरी बसीबसी कमाउने स्थितिको अन्त गरिनुपर्दछ । त्यसैगरी आम्दानीको तुलनामा खर्च बढी देखिने र अकुत सम्पति आर्जन गर्ने तथा अनुचित समृद्धि हासिल गर्नेहरुको सम्पत्तिमाथि छानविन गरि कारवाहीको दायरमा ल्याईदिनु पर्दछ साथै उनीहरुको अकूत सम्पतिको राष्ट्रियकरण हुनु पर्दछ।
६. धर्मसंस्कृतिको सम्मान र संरक्षणः
धर्म संस्कृति भनेको कुनै पनि देश र समाजका अमूल्य सम्पत्ति हुन तसर्थ धर्म, सस्कृति र कलाको सम्मान, संरक्षण र प्रवर्द्धन गरिनुपर्दछ । हामीले अन्धाधुन्ध रुपमा अन्य देशका संस्कृतिहरुको नक्कल गरिनु हुँदैन । अन्य संस्कृतिको उपलब्धीबाट शिष्ट रुपले फाइदा लिनुपर्दछ तर कहिल्यैपनि हाम्रो देशको आफ्नो मौलिकतालाई विर्सनु हुँदैन । हामीले अन्धोरुपमा विकासको नाममा अन्य राष्ट्रहरुको विकासका मानचित्रहरुलाई जवरजस्तरुपमा नक्कल गरिनु राम्रो हुँदैन । आफ्नो देशको विशेषताअनुरुपको विकास कार्यलाई अगाडी बढाईनु पर्दछ । आफ्नो देशको कला, धर्म, संस्कृतिको उत्थान र पतनका लागि प्रत्येक व्यक्ति जिम्मेवार हुन्छ । हामीले कानून, नीति बनाउदा हाम्रो आफ्नो धर्म संस्कृति माथि आघात गर्ने गरी बनाईनु हुँदैन । तसर्थ हाम्रो आफ्नो धर्म संस्कृति र कलाको सम्मान संरक्षण र प्रवर्द्धन गरेमा समृद्ध नेपालीको नारा साकार हुनसक्छ ।
७. उत्पादनमा वृद्धि तथा पूर्वाधार निर्माणः
कडा परिश्रमबाट नै समृद्धि आँउछ भने सुखी जीवन कडा मेहनतबाट प्राप्त हुन्छ । यथोचित रुपमा उत्पादनमा वृद्धि गरी निर्यात बढाउने र आयात प्रतिस्थापनमा जोड दिनुपर्दछ । तुलनात्मक लाभ भएका बस्तुहरुको पहिचान गरी उत्पादनमा वृद्धि गर्नुपर्छ । त्यसैगरी उर्जा उत्पादन एवं प्रयोगमा जोड दिनुपर्दछ भने पेट्रोलियम पदार्थको आयात घटाउनु पर्दछ । भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्दछ । रित्ता एवं खोक्रा कुराहरुले राष्ट्रलाई हानी पुर्याउछ भने कडा परिश्रमले देशलाई माथि उठाउछ एवं उत्पादन वृद्धि हुन्छ भन्ने कुरालाई मनन गर्नु पर्छ । जल, जमिन र जंगलमा नीजि स्वामित्व अन्त गर्दै सामूहिक स्वामित्व अवलम्वन गर्नुपर्दछ । प्राकृतिक श्रोत साधनको व्यवस्थापन र सुपरिपेक्षणको व्यवस्थामा सुधार ल्याउनुपर्छ । पहाड, जलासय, वनजंगल, खेतियोग्य जमिन, तालतलैयाहरुको दीगो एवं समूचित उपयोग गर्दै प्रकृतिका नियमहरुको अनुसरण गरी वातावरण सन्तुलन राख्ने तर्फ जोड दिनुपर्ने हुन्छ ।विलासिताका वस्तुहरुको आयातलाई निरुत्साहित गरिनुपर्दछ ।कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिनु पर्दछ साथै कृषकको परिश्रममाथि विचौलियाहरुको रजाई हुने परिपाटीको अन्त गर्नु पर्दछ ।
८ . समान अवसर र पंहुचः
वस्तुको उत्पादन र वितरणमा एउटा मानक योजना अनुसार समानाताका लागि विनिमयित हुनुपर्दछ। सबै नागरिकलाई सामाजिक न्याय, सामाजिक सुरक्षा विना अवरोध प्राप्त हुनुपर्दछ । जनताका आवश्यकता पूरागर्न एवं जनताको बोझ कर्मगर्न तर्फ ध्यानदिनुपर्छ । राज्यको श्रोत साधन अवसरमा समान रुपमा सबैको समान पहुँच हुने अवसर प्राप्त हुनु पर्दछ ।न्यून आय भएका व्यक्तिहरुको आयस्तर सुधार्न एवं उनीहरुको सशक्तिकरणमा जोड दिनुपर्दछ । समाजमा रहेको विभेदपूर्ण चरीत्रलाई बदल्नु पर्दछ ।
अत समृद्ध नेपालको संवैधानिक दायित्वलाई पूरा गर्न राजनीतिक स्थिरताका साथै नीतिगत स्थिरता पनि अपरिहार्य हुन्छ । राजनिति भनेको सवै नितिको माउ नीति भएकोले राजनीतिज्ञहरुको आफ्नो उर्जा राष्ट्र निर्माणको कार्यमा केन्द्रित हुँदा खर्च भएको देखिनु पर्दछ । राज्यको शासन व्यवस्थामा संलग्न राजनीतिज्ञ तथा राजनेताहरुको अधिकांश समय एवं उहाँहरुको उर्जा आफ्नो दल मिलाउन, नेता मिलाउन र आफ्नो दलको कार्यक्रममा सहभागी हुन खर्च हुने हुँदा राष्ट्र निर्माणको नीति वनाउन , योजना वनाउन र सोको कार्यान्वयन तर्फ प्राथमिकतामा कम पर्ने स्थिति देखिएको पाईन्छ यसले गर्दा पनि समृद्धिको उद्देश्य हासिल गर्न बाधा परेको देखिन्छ । समृद्धिको सपना साकार पार्न त्यसको लागि दृढ राजनीतिक इच्छाशक्तिको साथसाथै इमान्दार राजनीतिक नेतृत्वको आबाश्यकता पर्दछ ।
त्यसैगरी उच्च प्रशासनिक क्रियाशीलता एवं सबै पक्षको सार्थक प्रयत्न र सहयोग पनि जरुरी छ । लाओत्सुले जसरी भ्रष्ट र वेईमानहरुको पहिचान गरी कारवाही गरे त्यसैगरी हाम्रो देशमा पनि भ्रष्ट्राचार गरेर अकूत सम्पति थुपार्नेहरुको उक्त अवैध सम्पति राज्यको नियन्त्रणमा ल्याई गुणस्तरीय पूर्वाधार निर्माणमा खर्चिएमा समृद्धिको उद्देश्य हासिल गर्न सकिन्छ।त्यसैगरी ईमान्दार तथा योग्य व्यक्तिहरुको राज्यसंयन्त्रमा वर्चस्व स्थापित हुने वातावरण सिर्जना गरिनु पर्दछ ।