Trending :
 

मानिसको कर्म र भाग्य

पौष २१,२०७७

यज्ञ भट्टराई

-यज्ञ भट्टराई

पुस २१,२०७७ काठमाडौं ।
  • यज्ञ भट्टराई-
विगतका शासन व्यवस्थामा तत्कालीन नेतृत्व एवं शासकहरुले गरेका राम्रा तथा नराम्रा कार्यहरुको परिणाम अर्थात त्यसको प्रतिफल अहिले हामीले  भोगिरहेका छौ । त्यस समयमा भएका  असल एवं राम्रा कार्यहरुवाट राम्रै परिणाम प्राप्त भएको छ भने  नराम्रा कार्यहरु एवं अर्कमण्ड्यताको  प्रतिफल नराम्रै तरिकाले भोग्नु परेको  छ । तत्कालिन शासकहरुले शतिप्रथा तथा दास प्रथा उन्मुलन गरेको हुँदा त्यसप्रकारको दुखपिडा अहिलेको पुस्ताले भोग्नु परेको छैन ।
 
त्यसैगरी भौतिक पूर्वाधारहरु जस्तै सिंहदरवार ,वागदरवार , सितल निवास, थापाथली दरवार, वसन्तपूर दरवार, पाल्पा दरवार लगायतका भवनहरु नीज तवरमा वनाईएको बनाएको भएपनि अहिले राज्यले विभिन्न मन्त्रालय एवं विभागहरुको कार्यालय राखेको छ र प्रयोग  गरिरहेका छौ । त्यसैगरी महेन्द्र राजमार्ग वन्यो हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सरर यात्रा गर्न पाएका छौ भने विगतमा राष्टिय निकुन्जहरु वनाईएको हुँदा त्यसको परिणाम जंगल जोगिएर वातावरण सन्तुलनमा सहयोग पुगेको छ ।
 
तसर्थ विगतमा त्यसवेलाका शासकहरुले गरेका राम्रा कर्मको परिणाम अहिले हाम्रो पुस्ताले राम्रै पाएको हुन्छ र त्यो  हाम्रो भाग्यमा  दर्ज  भएको हुन्छ । त्यसैगरि विगतमा शासकहरुले राम्रो कर्म नगरिदिएको कारण अहिले हाम्रो देशमा रोजगारीको सिर्जना भएन , प्रतिव्क्ति आय वढेन, भौतिक पूर्वाधारको विकास हुन सकेन , गरिवी हटन सकेन , हुने र नहुने वीच धेरै खाडल वढन गयो , शिक्षा , स्वास्थ्यमा सर्वसाधारण नागरिकको पहुँच पुग्न सकेन , नागरिकमा समान अवसर र पंहूच स्थापित हुन सकेन  तसर्थ अहिले पनि हामी गुणस्तरीय जीवन जिउन सकेका छैनौ , विकसित देशका नागरिकले जस्तै सुख सुविधाको उपभोग गर्न पाईएका छैनौ तथा भौतिक पूर्वाधारको प्रयोग गर्न  एवं  न्युनतम आधारभूत आवाश्यकताको प्राप्तिवाट समेत वन्चित हुन पुगेका छौ ।
 
यसकारण हामीले सुख पाउने हाम्रो भाग्यमा नै रहेनछ भन्ने गरेका छौ जुन अहिलेको पुस्तामा त्यो अभाग्यमा दर्ज हुन पुगेको छ।  सिंगापूरमा लिक्वान , चीनमा देङस्याओपिङ , मलेसियामा महाथिर मोहम्मदले अतितमा गरेका राम्रा कार्यले गर्दा अहिले वर्तमानमा त्यहाँका जनताको राम्रै भाग्य वनेको छ भने त्यसैगरी अहिले हाम्रो शासकहरुले तथा हामीले गरेको कार्यको परिणाम भविश्यमा ति पुस्ताको लागि भाग्य वनेर जान्छ।
 
विगतमा  शासकहरुद्धारा गरिएका राम्रा नराम्रा कार्यको परिणाम अहिलेको पुस्ताले भोग्नु परेको छ भने अहिलेका शासकहरुले गरेका राम्रा नराम्रा कार्यको प्रतिफल पछिका पुस्ताले व्यहोर्नु पर्दछ।व्यक्तिगत रुपमा पनि हामी आफैले विगतमा गरेका कार्यको प्रतिफल अहिले भोगिरहेका छौ। राम्रो कर्म गरेकोमा राम्रै अवसर अहिले पाएका छौ भने नराम्रो कर्म गरेको भए अहिले पछुताई रहेका छौ ।
 
त्यसैगरी अहिले गरेको कर्मको परिणाम पछि प्राप्त गर्छौ ।असल कर्म गरिरहेको भएमा त्यसको प्रतिफल भविश्यमा राम्रै पाउने छौ ,खराव कर्म गर्दै रहेको भए भविश्यमा पछूताउनु शिवाय हरु केही हुनेछैन।अस्तित्वमा भईरहेका घटनाहरुको प्रतिफल पनि हामीले भोग्नु गरेको छ ।
 
 
कर्म भनेको काम अर्थात कार्य हो । कर्मवादले शुभ वा अशुभ कर्मको फल अवश्य भोग्नु पर्छ भन्ने कुरालाई वताउछ। कर्ममा विश्वास गर्ने वाद नै कर्मवाद हो । भाग्य भनेको मनुष्यले आफ्नो कर्मलाई पूर्व नियोजित योजनाको फलका रुपमा स्वीकारेको दैवी विधान र सो अनुसारको कमाई तथा प्रारव्ध हो । भाग्यवाद भनेको प्रारव्धमा जेछ त्यहीमात्र जीवनमा भोग्नुपर्छ भन्ने सिद्धान्त हो । यो मान्छेले पूर्व जन्मको कमाई नै भोग्नुपर्छ भन्ने परम्परा एवं मान्यता हो ।
 
 
संसारमा दुई प्रकृतिका व्यक्ति रहेका छन जसमा पहिलोमा कर्मवादी र दोश्रोमा भाग्यवादी । कर्मवादीले सबै चिज हाम्रो आफ्नो हातमा छ, सबै कुरा हाम्रो आफ्नो कर्ममा निर्भर रहन्छ भन्ने  मान्यता र विश्वास राख्दछन भने भाग्यवादीले सबै चिज विधातामा निर्भर छ , हामी त केवल पात्र मात्र हो भन्ने मान्यता राखेका हुन्छन । यि दुई वादमा पूरै सत्यता  हुँदैन , केवल आधा सत्यता मात्र हुन सक्छ । सत्य कुरा के हो भने जुन चिज हाम्रो हातमा छ र हुन्छ त्यो हामी वदल्न सक्छौ र जुन चिज हाम्रो हातमा छैन त्यसलाई हामी केही परिवर्तन गर्न सक्दैनौ । कर्मवाद र भाग्यवाद दुई विपरित होइनन यि दुवै एक अर्काका परिपूरक हुन ।
 
धर्मशास्त्र अनुसार कर्म विभिन्न प्रकारका हुन्छन । जसमा सात्विक कर्म, राजसी कर्म, तामसी कर्म, पापकर्म, पूण्ड्य कर्म लगायत पर्दछन । राग, द्धेष र आशक्तिरहित भएर नियमित रुपमा निश्वार्थ भावनाले गरिने कर्म सात्विक कर्म हो । आफ्नो इच्छापूर्ति गर्न अंहकारको भाव राखी व्यक्तिगत स्वार्थको लागि गरिने कर्मलाई राजसी कर्म भनिन्छ ।तामसी कर्म भन्नाले अर्कालाई दुखदिने नियतले मोहवस गरिने हिंसाजन्य र उत्तरदायित्वविहिन कर्मलाई बुझाउँछ । त्यसैगरी आफैलाई मात्र फाईदा पुग्ने, अरुलाई हानी गर्ने र अन्तत्वगत्वा आफैलाई असन्तुष्ट वनाउने कर्म पाप कर्म हुन भने राष्ट्रहित, सार्वजनिक हित, जनहित एवं अधिकतम व्यक्तिको अधिक्तम हित हुने गरी गरिने कर्म पूण्ड्‍य कर्म हुन ।
 
 
सन्त कविरले भन्नुभएको छ की “कर्मको फल अमिट हुन्छ, करोडौ युग वित्दा पनि कर्म अनुसारको फल अवस्य मिल्ने छ, कर्ता कर्म गर्नमा स्वतन्त्र छ त्यसैले उसले आफ्नो कर्मको फल भोग्नै पर्छ ।”गौतम वुद्धले दुख निवारणको आष्टाङगिक मार्ग मध्ये एउटा मार्ग सम्यक कर्म हो भन्नु भएको छ।सम्यक कर्मको अर्थ हो त्यही गर्नु जो आफूलाई गर्न योग्य लाग्छ, त्यही गर्नु जो आफ्नो ह्रदयले गर्न भन्छ । श्री कृष्ण भगवान भन्नु हुन्छ “ फलको अपेक्षा नराखी कर्म गर ,कर्म तिम्रो हातमा छ तर फल तिम्रो हातमा हुदैन। त्यसैगरी ओशो शैलेन्द्रले “कर्म र भाग्य अर्थात कर्मको सिद्धान्त र भाग्यको सिद्धान्त एक अर्काका परिपुरक हुन, विपरित होइनन, जसलाई हामी भाग्य भन्छौ त्यो हाम्रो चार प्रकारका कर्मको मिश्रण हो” भन्नु भएको छ । चार प्रकारका कर्ममा व्यक्तिगत अतितको कर्म, व्यक्तिगत वर्तमानको कर्म , सामूहिक कर्म , अस्तित्वगत घटना रहेका छन।
 
 
व्यक्तिगत अतितको कर्म हामी आफूले अतितमा गरेको कर्मको परिणाम आज भोगिरहेका हुन्छौ । अघि हामीले जे गरेका थियौ त्यो क्रमश हाम्रो आदत बनिरहेको हुन्छ र त्यही आदतले गर्दा हामी आदत अनुसारको कर्म गर्न बाध्य हुन्छौ । जो हाम्रो विगत अर्थात वितेका समयमा कर्म थियो त्यसको फल हामीले अहिले खाईरहेका छौ । वितेको समयमा गरेको कर्मलाई हामीले अहिले बदल्न सक्दैनौ ।
 
गतविगतमा हामीले आँपको विरुवा रोपेका थियौ भने अहिले आँपको फल नै फलेको हुन्छ, त्यसैगरी निमको विरुवा रोपेको भए निमको फल नै फलेको हुन्छ तर निमको विरुवाबाट वर्तमानमा आपको फल कदापी फल्न सक्दैन र विगतमा रोपेको निमको फलवाट वर्तमानमा आँपको फलको स्वाद लिन पनि सक्दैनौ ।पछिल्लो जो कर्म हो त्यसको परिणाम अहिले आईरहेको छ वा आउँछ ।
 
 
व्यक्तिगत वर्तमानको कर्म स् व्यक्तिगत वर्तमानको कर्म जुन छ त्यसमा आज हामीले जुन विउ रोप्छौ भोली त्यही विउको फल फल्दछ । आज हामी निमको बीज रोप्छौँ भने भोली निमकै फल आउछ । आज हामी आँपको फल रोप्छौ भने भोली आपकै फल आँउछ । हामीले वर्तमानमा गरेको कर्म भविष्यमा भाग्य बन्दछ । हामीले हाम्रो आफ्नो भाग्य आफै निर्माण गर्छौ यस अर्थमा गर्न सक्दछौ की अहिले गरेको कर्मको परिणाम केही वर्षपछि प्राप्त गर्दछौ त्यो त्यस समय भाग्यमा परिणत हुन्छ। हाम्रो वर्तमानको कर्म भविश्यको भाग्य बन्न जान्छ । 
 
 
सामुहिक कर्म (अतितको र वर्तमानको) हामीले सामूहिक रुपमा भएको कर्मको परिणामसमेत व्यक्तिगत रुपमा भोग्नु परेको हुन्छ । यो हाम्रो व्यक्तिगत कर्मको परिणाम होइन । संसारमा हामी एक्लो छैन यहाँ विभिन्न रुप र रंगका मानिसहरुको बसोबास छ । करिव ७ अरब ८० करोड जनसंख्या विश्वमा रहेको छ भने नेपालमा मात्र करिव ३ करोड मानिस रहेका छन । तिनीहरुले कुनै न कुनै रुपमा कर्म गरेका हुन्छन त्यो कर्मको संयुक्त परिणाम निस्कन्छ जुन प्रत्येक व्यक्तिले भोग्नु परेको छ ।
 
पछिल्लो समयमा नेपालमा विलासिलाका वस्तुको आयात बढेको छ, सवारी साधनको आयातमा वृद्धि भएको छ जसले पेट्रोलियम पदार्थको खपत बढेको छ, प्रदूषणको मात्रा अधिक बढेको छ जसको असर प्रत्येक व्यक्ति जसले सवारी साधन चलाउँदैन, पहाडको कुना कन्दरामा बस्ने निर्दोषले समेत भोग्नु परेको छ ।
 
त्यसैगरी देशमा हत्या, हिंसा ,चोरी ,डकैती आतंकवाद, भष्ट्राचार, वातावरण प्रदूषण, सम्पति शुद्दिकरण  लगायतका सामूहिक रुपमा हुने नकारात्मक कर्म तथा अपराधहरुको परिणाम प्रत्येक निर्दोष व्यक्तिले भोगिरहेको अवस्था छ ।  चीन र भारतले गरेको औद्योगिकिकरणवाट सिर्जित प्रदूषणको असर नेपालले समेत भोगेको अवस्था छ ।
 
यसरी सामूहिक रुपमा गरेको राम्रा र नराम्रा कार्यको परिणाम हरेक व्यक्तिले व्यक्तिगत रुपमासमेत भोग्नु परेको छ । समाज परस्पर अन्तरनिर्भर छ कुनै व्यक्तिले गरेको खराव कामको परिणाम समेत निर्दोष व्यक्तिले भोग्नुपर्दछ । यस्तो प्रकारको सामूहिक कर्म वर्तमानको पनि हुन्छ र अतितको पनि हुन्छ । जुन आफूले नगरे तापनि अर्काले गरेका कार्यको असर भोग्नै पर्छ त्यो हाम्रो हातमा छैन । देशका शासकहरुले गरेका राम्रा तथा नराम्रा कार्यहरुको प्रतिफल हरेक नागरिकले व्यक्तिगत रुपमासमेत भोग्नु परेको हुन्छ ।
 
अस्तित्वगत घटना स् यो अस्तित्व एक सुनिश्चित दिशामा विस्तारै अघि बढेको छ ।अस्तित्वमा बिभिन्न घटनाहरु घटेका हुन्छन जसले हाम्रो जीवनमा प्रभावित गरेको हुन्छ । जस्तै ज्वालामुखी विष्फोट हुनु, भुकम्प जानु ,उल्का बर्षा हुनु, सुनामी आउनु जस्ता घटनासंग हाम्रो प्रत्यक्ष सम्बन्ध हुँदैन । हामी पृथ्वीमा बस्छौ जो घटना आज घटछ वा भोली घटनेछ त्यसको सव परिणाम अवश्य पनि हामीले भोग्नै पर्छ । विस २०७२ सालमा नेपालमा भूकम्प आयो २०७७ सालमा कोरोना भाईरस आयो त्यसबाट धैरै व्यक्ति प्रभावित भयौ । जो प्रभावित भयौ ती व्यक्तिको सिधा रुपमा नत भूकम्पसंग केही लेनादना थियो नत कोरोना भाईरससंग तर हामी यस अस्तित्वको हिस्सा भएकोले अस्तित्वमा जे हुन्छ त्यसले हाम्रो जिवनमा प्रभावित गर्छ । यी घटनाको मिलिजुली जोड भाग्य बनेको हुन्छ ।
 
 
यसरी अस्तित्वगत घटना, सामूहिक रुपमा मनुष्यबाट गरिएको अतितको  एवं वर्तमानको कर्म , व्यक्तिगत अतितको कर्म र व्यक्तिगत वर्तमानको कर्म यी चार कर्म मिलेर नै हाम्रो भाग्य बन्छ । यि सबै कर्मको योगफल नै भाग्य हुन्छ । यसमा केही कुरा हाम्रो हातमा छ, केही कुरा हाम्रो हातमा हुदैन। पृथ्वीमा, चन्द्रमामा, सूर्यमा साथै ब्रहमाण्डमा के हुन्छ, भविष्यमा के हुने हो त्यो हाम्रो अधिनमा हुँदैन । निश्चित रुपमा पनि कर्मको एकहिस्सा हामीले निभाएका हुन्छौ त्यही एक चिज हामीले बदल्न सक्छौ जुन हाम्रो वशमा हुन्छ । बाँकी चिज हाम्रो वशमा हुँदैन र हामी बल्दन पनि सक्दैनौ ।
 
वर्तमानमा हामी जुन कर्म गरिरहेका छौ वा हुन्छौ त्यही मात्र हामीले बदल्न वा परिवर्तन गर्न सक्छौ, त्यो हामी स्वंयमबाट शुरु गर्न सक्छौ । भाग्यको लघुअंश हाम्रो वर्तमान कर्मबाट  निर्मित हुन्छ । आज हामीले जस्तो कार्य गर्दछौ त्यो भविष्यको पुस्ताको लागि भाग्य बन्दछ । अतितमा राज्यको बागडोर संहालेका नेतृत्व तथा शासकहरुले गरिदिएको कर्मको फल आज हामीहरुले भोगीरहेका छौ भने आजको शासन शत्ताको जिम्मेवारी लिएका अधिकारीहरुले गरिदिएको कार्यको परिणाम पछिको सन्ततिले भोग्ने हो ।
 
तसर्थ हामीले वर्तमानको हाम्रो बदल्न सकिने कर्मलाई बदलेर कर्मको शुरुवात गरेमा सवैको भलो हुनेछ । भनिन्छ जसरी सिंह मरिसकेपछि उसलाई अन्य पशुले खान सक्दैन, उसको आफ्नो शरीरका किराले नै उसलाई खाई सिध्याउछ, त्यसैगरी  हामी भौतिक रुपमा जति शक्तिशाली भए तापनि आफूभित्रकै लोभ, मोह , अहंकार ,हिंसा र अपरिग्रह जस्ता किराले नै  हाम्रो आफ्नो शरीरलाई नष्ट गर्नेछ हमीलाई सिध्याउने छ तसर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई गौण ठानी भावी पुस्तालाई हेरेर हामी सबैले कर्म गर्दा नै सर्वथा उचित हुनेछ।
 
 
अन्तमास् यो सांसारिक जिवनमा दुई प्रकृतिका व्यक्ति पाईन्छन जुन भाग्यवादी र कर्मवादी हुन।कर्मवादीले  सबकुछ हाम्रो हातमा छ, हामीमा निर्भर छ भन्ने मान्यता राख्दछन । भाग्यवादीले सबकुछ विधाताबाट हुन्छ भन्ने मान्यता राख्दछन । यी दुवै मान्यता अतिवादी छन । नत सवै कुरा  स्वयम हामीमा नै निर्भर हुन्छ नत सबै कुरा विधातामा निर्भर हुन्छ । कर्म र भाग्य एक अर्कामा विपरित नभई परिपूरक छन । अस्तित्वगत घटना हाम्रो हातमा हुदैन, त्यसैगरी व्यक्तिगत अतितको कर्म पनि हाम्रो हातमा अहिले छैन , त्यसको परिणाम मात्र भोगेका हुन्छौ ,जुन अतितमा हामीबाट भईसकेको हुन्छ, त्यसलाई अहिले वदल्न सकिदैन।
 
सामुहिक कर्मको परिणाम पनि हामीले भोग्नै परेको हुन्छ, जस्तै धनी राष्टले गरेको प्रदूषणको मार गरिव राष्टले भोग्नु परेको छ, आतंकवादीले गराएको बम विष्फोटबाट निर्दोष व्यक्तिले ज्यान गुमाउनु परेको हुन्छ, भष्ट्राचारीले गरेको भष्ट्राचारको मार गरिव तथा निर्दोष नागरिकले भोग्नु परेको छ, त्यसलाई स्वयम हामीले वदल्न सकिदैन, जुन हाम्रो आफ्नो हातमा हुदैन ।
 
सत्य कुरा यो होकी हामी आफैले स्वयम वदल्न सक्ने भनेको आफ्नो वर्तमानको कर्म मात्र हो जुन आफ्नो हातमा छ जसलाई जतिबेला पनि वदल्न सकिन्छ , आफ्नो कर्म वदल्न लाग्नु नै सबैको लागि सर्वथा उचित हुनेछ ।