प्रधानन्यायाधीशहरुलाई नभेटेको ओलीको स्पष्टीकरण

माघ ०३,२०७७

-

माघ ३,२०७७ काठमाडौं ।
प्रधानमन्त्री ओलीले आफूले न्यायाधीशहरुलाई नभेटेको दाबी गर्नुभएको छ ।
 
प्रदेश १ सम्पर्क कमिटीले काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले न्यायाधीशहरुले भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न पनि चुनौति दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले यसपटक मात्रै होइन, शायद कहिलेकाहीँ भेटेको छैन ।’
 
उहाँले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले भेटघाटबारे समाचार छाप्ने सञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको’ संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, ुन्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ?’
 
उहाँले मिडियामार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाज पनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला ।’
 
प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाउनुभएको थियो ।