ओलीलाई योगेशको जवाफः केटो भनिपाउँदा मलाई दुःख छैन, तपाईँको स्तर थाहा पाएँ

माघ ०४,२०७७

-आस्था न्यूज

माघ ४,२०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि प्रचण्ड-नेपाल पक्षका योगेश भट्टराईले जवाफ फर्काएका छन् । 
 
उहाँले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओलीले कुर्सी पाएको उल्लेख गरेका छन् । 
 
भट्टराईले लेखेका छन्ः ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो ।’
 
हिजो प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई बैगुनी केटाको संज्ञा दिएका थिए । भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताएका थिए ।
 
ओलीले भनेका थिए ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’।