पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल, तराईमा हुस्सु र कुहिरो

माघ ०४,२०७७

-

माघ ४,२०७७ काठमाडौं ।
 
अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । 
 
उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
 
अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने उहाँले बताउनुभयो । आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । 
 
यसैबीच आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको छ । राति बादल लागेकोले न्यूनतम तापक्रम बढेको र केही न्यानो भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । 
 
काठमाण्डौमा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस हुने अनुमान गरिएको छ । अहिले सामान्य बद्ली रहेको काठमाण्डौ उपत्यकामा दिउँसो घाम लाग्ने मौसम पूर्वानूमाान् महाशाखाले जनाएको छ ।