तीन वर्षमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट

फाल्गुण २०,२०७७

-रासस

फागुन २०, २०७७ काठमाडौं ।
गएको ३ वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट भएको छ ।
 
राजस्व अनुसन्धान विभागले हिजो सार्वजनिक सूचना निकालेर तीन वर्षको अवधिमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको छ । अन्य १७ मुद्दामा सात अर्ब रुपैयाँको बिगो कायम गरी निर्णयका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको जनाइएको छ ।
 
राजस्व अनुसन्धान विभागले झण्डै तीन वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै आर्थिक अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ । महानिर्देशक दीर्घराज मैनालीको ३३ महिने कार्यकालको विवरण सार्वजनिक गर्दै विभागले सूचना प्रविधिको प्रयोगसँग जोडेर अनुसन्धान प्रणालीलाई व्यवस्थित गरिएकाले व्यावसायिक आचरण कायम गर्न विभाग सफल भएको जनाएको हो ।
 
यस्तै विदेशी विनिमय अपचलनतर्फ ४४० लाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिनुभयो । यस्तै मूल्य अभिवृद्धिकरका झुठा तथा नक्कली बीजक जारी गरी ठूलो परिमाणमा राजस्व छली गर्नेविरुद्ध १६० मुद्दा दर्ता गरिएको छ । ती मुद्दामा १९ अर्ब रुपैयाँ बढी बिगो बराबरको छली गरेको आरोप लगाइएको छ ।
 
विभागले २०७६ साउनदेखि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोबारलाई औपचारिकतर्फ लैजान भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिष्टम ९भीसीटीएस० प्रयोगमा ल्याएको थियो ।
 
आर्थिक सुशासन प्रवर्द्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐनको दफा १३ ‘ग’ मा भएको व्यवस्थाअनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो । विभागबाट प्राप्त विवरणअनुसार यसले राजस्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।
 
यो सूचना प्रणाली छल्न खोज्ने व्यक्तिविरुद्ध झण्डै ३० करोड रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको मैनालीले बताउनुभयो । पछिल्लो समयमा एक हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई  पाँच करोड रुपैयाँ बढी जरिवानासमेत लगाइसकिएको छ ।
 
सार्वजनिक सूचनाअनुसार यस प्रणालीका प्रयोगकर्ता नै एक लाख १३ हजार पुगिसकेका छन् । हालसम्म ४१ खर्ब रुपैयाँ बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराइ ओसारपसार भइसकेको छ । यसले राजस्व वृद्धिमा सहयोग पुर्‍याएको विभागको भनाइ छ । मैनाली हिजोदेखि विभागबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएको छ ।