ओलीले राजीनामा नदिए संसद्‍बाट समाधान खोज्ने प्रचण्डको भनाई

फाल्गुण २१,२०७७

-

फागुन २१, २०७७ काठमाडौं ।
 
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने बताएका छन् । असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापना भइसकेपछि प्रधानमन्त्रीबाट राजीनामा गर्नु ओली र देशका लागि सहज हुने दाहालको भनाइ थियो। 
 
दाहाल(माधवकुमार नेपाल पक्षको नेकपा संसदीय दलको बैठकबाट दलको नेता निर्वाचित भएपछि दाहालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका हुन् । उनले संसदीय दलको बहुमत सदस्यले आफूलाई नेतामा निर्वाचित गरेपछि ओलीले राजीनामा दिनुपर्ने बताए ।
 
ुअब आउने दिन सहज बनाउने हो भने केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि र आज संसदीय दलको बहमुत, झन्डै ११५ जना सांसदको हस्ताक्षर सहितको बहुमतले मलाई दल नेता निर्वाचित गरिसकेपछि प्रधानमन्त्री केपी ओलीले अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज उनको भनाई ।
 
यदि ओलीले राजीनामा नदिए संविधान, नियम, कानुन, प्रक्रियाअनुसार संसदबाट नै समाधान खोज्ने प्रचण्डको भनाई छ ।
 
अध्यक्ष दाहालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा नगरेमा संसद्‍मा अविश्वासको प्रस्ताव अगाडि बढाउन आफूहरू बाध्य हुने बताए । प्रधानमन्त्रीले अझैसम्म पनि राजीनामा नदिएकाले अविश्वासको प्रस्ताव अगाडि बढाएर संसदीय प्रक्रियाअनुसार हटाउन बाध्य हुने उनको भनाइ थियो ।
 
अबको प्रधानमन्त्री तपाईं नै हो भन्ने प्रश्नमा भने प्रचण्डले संसदमा रहेका अरु राजनीतिक दलहरूसँग छलफलपछि निर्णय लिइने बताए । अबको सरकार गठनबारे दलहरू छलफलमा रहेको बताउँदै उनले भने, सबै राजनीतिक दलहरू जो संसद विघटनको विरुद्धमा हुनुहुन्छ, जसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी भनेर सडकमा गए ती सडकमा गएका दलहरूसँग मुद्दाको हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो भने भोलि सरकार बनाउने कुरामा पनि सहकार्य हुन्छ । मलाई लाग्छ एक(दुई दिनमा टुंगो लाग्छ ।
 
प्रतिनिधिसभा विघटन भएपछि पुस ९ गते पनि दाहाललाई नेकपा दाहाल-नेपाल पक्षले संसदीय दलको नेतामा निर्वाचित गरेको थियो । तर फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै सोसँग सम्बन्धित भएर गरिएका सबै निर्णय बदर भएको फैसला गरेको थियो । दाहाल-नेपाल पक्षले उक्त निर्णय राजनीतिक भएको तर शुक्रबारको निर्णय भने कानुन बमोजिम भएको जानकारी दिएको छ ।
 
संसदीय दलका २५ प्रतिशत सांसदहरूले मुख्य सचेतक देवप्रसाद गुरुङलाई पत्र लेखेको र सोहीअनुसार बैठक बोलाएर ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बैठक बसेर दलको नेतामा दाहाललाई निर्वाचित गरिएको हो । दलको उपनेता भने नेता दाहालले निर्वाचित गर्ने खनालले बताए ।