आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी

चैत्र २०,२०७७

-आस्था न्यूज

चैत २०, २०७७ काठमाडौं ।
आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । 
 
आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गर्नुभयो ।
 
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । 
 
बिहिबार आन्तरिक राजश्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई रेमिटलाई सम्मान गरेको हो । 
 
यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौँ राष्ट्रिय कर दिवसका अवसरमा आज आइएमई सहित ती कम्पनीहरुलाई सम्मान प्रदान गरिएको छ । 
 
श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिट्यान्स बैंकिङ्ग सञ्जालमार्फत नेपाल भित्ररयाउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिट्यान्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ । 
आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो ।
 
नेपालको रेमिट्यान्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ ।