चियाको पहिलो टिपाइ शुरु, हरियोपत्तीको मूल्य पनि बढ्यो

चैत्र २०,२०७७

-रासस

चैत २०,२०७७ काठमाडौं ।
चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउँछन् । 
 
“पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ”, शर्माले भने, “यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ ।” 
  
चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ । यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ । पटकपटक यो समस्या किसानले भोग्नु परेको छ । 
    
आकाशे पानी सङ्कलनमार्फत पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागाईँको भनाइ छ । बर्खाको पानी सङ्कलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाई बताउनुहुन्छ । यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उनको भनाइ छ । 
 
कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागाईँको छ । सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईँले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने बताए ।