चैत्र २५,२०७७
-आस्था न्युज
२५ चैत, काठमाडौं ।दुबईबाट नेपाल आएका यात्रीले राइस कुकरमा सुन लुकाएर ल्याएका छन् l उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्दा सुन फेला परेको हो l
धनुषाका प्रकाश महरा मंगलबार राति सवा १० बजे दुबईबाट फ्लाई दुबईको विमानबाट नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।
महराले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
'महराले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्यौं,' उनले भने,'कुकरको भित्र सुन राखिएको रहेछ।'
महराको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रमुख समाचार