राईस कुकर भित्र एक किलो सुन लुकाएर ल्याउने पक्राउ

चैत्र २५,२०७७

-आस्था न्युज

२५ चैत, काठमाडौं ।दुबईबाट  नेपाल आएका यात्रीले  राइस कुकरमा सुन लुकाएर  ल्याएका छन् l उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्दा सुन फेला परेको हो l

 

 

धनुषाका प्रकाश महरा मंगलबार राति सवा १० बजे दुबईबाट  फ्लाई दुबईको विमानबाट नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेका हुन्।

 

महराले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

 

 

'महराले ल्याएको प्रेसर कुकरको तौल जाँच्दा बढी देखायो। पटक-पटक चेक गर्दा पनि तौल बढी भएपछि हामीले खोलेर हेर्‍यौं,' उनले भने,'कुकरको भित्र सुन राखिएको रहेछ।'

 

महराको साथबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको बाँस्तोलाले बताए। त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो।  उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको  छ।