पाकिस्तानको एक होटलमा विस्फोट, चार जनाको मृत्यु

बैशाख ०९,२०७८

-

वैशाख ९, २०७८ काठमाडौं ।
पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् ।
 
बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।
 
पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विस्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विस्फोट भएको थियो ।
 
सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विस्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ ।
 
विस्फोटको जिम्मा तालिवानले लिएको छ । क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ । बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ ।
 
बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ । त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले बताएका छन् । यद्यपि चिनियाँ राजदूत नोङ्ग रोङ्ग क्वेटा शहरमा रहे पनि सो होटलमा भने थिएनन् ।