एमाले नेपाल समुहका २७ सांसदले ओलीलाई बुझाए स्पष्टीकरणको जवाफ

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९,२०७८ काठमाडौं ।
नेकपा एमालेको खनाल-नेपाल समूहका २७ सांसदले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् । 
 
मंगलबार ओलीले तीन दिने म्याद राखेर संघका २७ र प्रदेशका ५ सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
 
उनीहरुमध्ये केहीले एमाले संसदीय दलको कार्यालय त केहीले इमेलमार्फत जवाफ बुझाएका हुन् । अध्यक्ष ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने २ दिनको समय र अन्यलाई ३ दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । 
 
ओलीले चित्तबुझ्दो जवाफ नदिए सांसदबाटै हटाउने चेतावनी दिएका थिए । 
 
नेता सुरेन्द्र पाण्डेले पनि आजै स्पष्टीकरणको जवाफ पठाएका छन् । उनले केपी ओलीले अध्यक्षका हैसियतले चालेका कदमहरू पार्टीको विधानविपरीत भएको आरोप जवाफ दिएका छन् । 
 
साथै पार्टीमा आफुहरुले गरेको आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने लोकतन्त्रको नै मृत्यु हुने र पार्टीको माक्र्सवाद-लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको अवसान हुने जवाफ फर्काएका छन् ।