गठबन्धनको सरकार बनाउन असफल भएपछि कांग्रेस, माओवादी र जसपा नेताहरू समिक्षामा

बैशाख ३१,२०७८

-आस्था न्यूज

वैशाख ३१,२०७८ काठमाडौं ।
 
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक जारी छ । 
 
शुक्रबार ११ बजेपछि सुरु भएको बैठकमा कांग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहति शीर्ष नेता र जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु सहभागी छन् ।
 
गठबन्धनको सरकार बनाउन असफल भएपछि त्यसको समीक्षा र अबको विपक्षी रणनीतिबारे बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
 
बिहीबार बसेको कांग्रेस पदाधिकारी र माओवादीको स्थायी कमिटी बैठकले नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूह प्रतिबद्धताविपरीत अन्तिम समयमा पछि हटेको निष्कर्ष निकालेका थिए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद‌्बाट विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९२० अनुसार बहुमतको सरकारका लागि तीन दिनभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
 
तर, विपक्षी गठबन्धन बहुमत जुटाएर बिहिबार राति ९ बजेसम्म दाबी पेस गर्न नगएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।