युरो कपमा स्विट्जरल्यान्डको पहिलो जित

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७, २०७८ काठमाडौं ।
जेर्दान शाकिरीले दुई गोल गरेपछि स्विट्जरल्यान्डले युरोकप २०२० मा पहिलो जित हात पारेको छ । बाकुमा आइतबार राति भएको समूह ए को खेलमन स्विट्जरल्याण्डले टर्कीलाई ३-१ ले पराजित गरेको हो ।
 
जितपछि स्विट्जरल्यान्डले वेल्स समान ४ अंक जोडे पनि गोल अन्तरमा वेल्स अघि रह्यो । वेल्स आइतबारै भएको खेलमन इटलीसँग १-० ले पराजित भए पनि समूह उपविजेता बन्यो ।
 
पहिलो खेलमा वेल्स र स्विट्जरल्यान्डले १-१ को बराबरी खेलेका थिए । दोस्रो खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गरेको थियो भने स्विट्जरल्यान्ड इटलीसँग ३-० ले पराजित भएको थियो ।
 
स्विट्जरल्याण्डका लागि जेर्दान शाकिरीले २६औँ र ६८औँ मिनेटमा गोल गरे भने हरपस सेफेरोभिकले छैटौं मिनेटमा गोल गरे । टर्कीका लागि इर्फान काहभेचीले ६२औँ मिनेटमा गोल गरे ।
 
पहिलो जित हात पारेको स्विट्जरल्याण्डले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ तर तेस्रो हुनेमध्ये उत्कृष्ट चारमा पर्न अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ ।
 
टर्की लगातार तीन खेल हार्दै अंकविहिन बनेर समूह चरणबाटै बाहिरिएको छ ।