कतार रंगशालामा विश्वकप फुटबल हेर्न जानेलाई कोरोना खोप अनिवार्य

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७,२०७८ काठमाडौं ।
कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइदिने भएको छ  । खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने पनि कतारले बताएको छ ।
 
कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् । ‘हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाहरुको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो,’ अल थानीले भने ।
 
‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोना खोप लगाइसकेका हुनेछन् । यद्यपि केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन्, त्यस्तोमा कतारले उनीहरुलाई कोरोना खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेशको अनुमति दिंदैन,’ उनले थपे ।
 
कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ । एजेन्सी