चीनबाट खरिद गरेको खोप नेपाल आइपुग्यो, ६० वर्ष मुनिकालाई प्राथमिकता दिइने

आषाढ २५,२०७८

-आस्था न्यूज

असार २५, २०७८ काठमाडौं ।
सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ ।
 
नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो ।
 
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।
 
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए ।
 
पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।