राष्ट्रपतिको हत्यापछि अमेरिकासँग सैन्य सहयोग गर्न हाइटी सरकारको आग्रह

आषाढ २६,२०७८

-आस्था न्यूज

असार २६, २०७८ काठमाडौं ।
हाइटीले राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि मुलुकमा उत्पन्न संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गरेको छ । हाइटीले संयुक्त राष्ट्र संघ र अमेरिकासँग सैन्य सहयोगको आग्रह गरेको हो ।
 
अमेरिकाले भने राष्ट्रपति मोइजको हत्याको छानबिनमा टोली पठाउने बताए पनि तत्काल सेना पठाउने आफ्नो योजना नरहेको बताएको छ । अमेरिकाले सेना नपठाए पनि अनुसन्धानमा लागि एफबीआई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारी भने पठाउने बताएको छ । संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय सेना पठाउन पनि सुरक्षा परिषद्बाट स्वीकृति पाउनुपर्छ ।
 
हाइटी प्रहरीले यसअघि राष्ट्रपति मोइजको हत्यामा २८ जना विदेशी नागरिक रहेको समूह संलग्न भएको बताएको थियो । राजधानी पोर्ट–अ–प्रिन्समा भएको संघर्षमा १७ जनालाई नियन्त्रणमा लिएको हाइटी प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रपतिको हत्यामा संलग्न हुनेहरूमध्ये अधिकांश कोलम्बियाका अवकाशप्राप्त सैनिक रहेको पनि हाइटी प्रहरीको दाबी छ ।
 
त्यस्तै दुई जना आक्रमणकारी भने हाइटियन मूलका अमेरिकी नागरिक रहेको बताइएको छ । आक्रमणकारीहरू ताइवानी नियोग हुँदै राष्ट्रपति मोइजको निजी निवासमा प्रवेश गरेका थिए । तीन जना संदिग्ध आक्रमणकारी भने भिडन्तमा मारिएका छन् । आक्रमणमा संलग्न भएका भनिएका ८ जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
राष्ट्रपतिको हत्यापछि हाइटीमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । अमेरिकी क्षेत्रकै सबैभन्दा गरिब मुलुक हाइटीमा संकटकाल लागू भएको छ । राष्ट्रपतिको हत्यापछि हाइटीमा सरकार सञ्चालनबारे अन्योल देखिएको छ ।