सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार

श्रावण १९,२०७८

-आस्था न्यूज

साउन १९, २०७८ काठमाडौं ।
सरकार सञ्चालनका लागि साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले बुँदागत रुपमा मस्यौदा तयार पारेको हो । मस्यौदामाथि आज पनि छलफल हुने कार्यदलका सदस्य केशवराज जोशीले जानकारी दिनुभयो । 
 
मस्यौदाको अन्तिम टुङ्गो लागेपछि मात्रै सार्वजनिक गर्ने तयारी छ । गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाएको हो ।
 
कार्यदलमा कांग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव हुनुहुन्छ । सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायतका विषयमा कार्यदलले आवश्यक खाका तय गर्नेछ ।
 
देउवा नेतृत्वमा सरकार गठन भएको तीन हप्ता हुनै लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। बालुवाटारमा शीर्ष नेताहरुबीच हिजो भएको छलफलमा साझा कार्यक्रमपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ।
 
केही दिनभित्रै साझा न्यूनतम कार्यक्रम ल्याउने र त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनका दलहरुबीच सहमति भएको हो । मन्त्री छनोटदेखि संवैधानिक तथा राजनीतिक नियुक्तिसम्मका लागि साझा कार्यविधि तयार पारिएको छ । 
 
कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठकले छिट्टै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । 
 
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार गर्न पहल गरेको भए पनि गठबन्धनका कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट मन्त्री बन्ने सबैको नाम तय हुन सकेको छैन । 
 
एमाले नेता माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताइसकेको छ ।