हाम्रो माग पूरा नभएसम्म संसद् चल्न दिँदैनौं : टोपबहादुर रायमाझी

भाद्र ३१,२०७८

-आस्था न्यूज

भदौं ३१, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर फालेको टिप्पणी गरे । 
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सत्ता गठबन्धन चुनावमा जानको लागि डराएको पनि बताए । 
 
उनले अब कुन पार्टी सही र कुन पार्टी गलत ? भनेर जनताले मूल्यांकन गर्ने बेला आईसकेको भन्दै संविधान र लोकतन्त्र रक्षाको लागि पनि चुनावमा जानुपर्ने बताए । उनले संसद् औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरुको माग भएको पनि स्पष्ट पारे । 
 
रायमाझीले आफ्नो पार्टीले उठाएका माज पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि स्पष्ट पारे । उनले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे ।
 
उनले भने,‘उहाँलाई त नैतिकताको आधारमा एक सेकेण्ड पनि पदमा बस्ने अधिकार छैन् । हामी त्यस्तो भएर बस्दैनौं ? सभामुख, सांसद, मन्त्री, प्रधानमन्त्री भएरमात्रै सबै चिज हुन्छ ? विचार र राजनीति नै ठूलो कुरा हो । 
 
सांसद र मन्त्री हुने र नहुने त भैरहन्छ नि । हाम्रो हकमा एक दिनपनि नपर्खिकन कारबाहीको सूचना टाँस्ने काम गर्नुभयो, तर एमालेले १४ जना सांसदलाई कारबाही गर्दा अन्टसन्ट गर्ने ?’
उनले एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने बताए । उनले भने,‘एमसीसीबारे हामीले बोल्नुपर्छ जस्तो लाग्दैन् । सरकारले आफ्नो स्थिति क्लियर गरोस । हुन त अहिलेसम्म सरकार नै बनाउन सकेको छैन् ।
 
किन पास गर्ने अथवा नगर्ने हो भने किन नगर्ने ? यसबारे सरकारले स्पष्ट पार्नुपर्छ । एमसीसी संसद्मा विचाराधिन छँदैछ नि । एमसीसी संसद्मा गएकै हो । बहस चलेकै हो ।
 
देशको हितमा नभएका प्रावधान करेक्सन गरेर अघि बढाउनुपर्छ भन्ने मेरो धारणा हो । यो कुरा मले उर्जामन्त्री भएको बेलापनि भनेको थिएँ । एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्यो । सरकारले कसरी ल्याउँछ, पहिला प्रस्ताव त्यो हेर्नुपर्यो ।’
उनले एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै गुनासो पोखे ।