संसद् ठीक बाटोमै अघि बढिरहेको सभामुख सापकोटाको दाबी

आश्विन ०२,२०७८

-रासस

असोज २,२०७८ काठमाडौं । 
सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन् ।
 
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलोे विश्वविद्यालय बनेको धारणा व्यक्त गरे ।
 
सभामुख सापकोटाले भने, “समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ  जारी भएको नेपालको संविधान महत्वकाङ्क्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ । लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो ।”
 
सङ्घीय ससद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको बताए । 
 
प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले भने, “संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ ।” 
 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र सङ्घीयता कार्यान्वयनको प्रतिफल नागरिकले के कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने धारणा राखे । 
 
राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले लामो सङ्घर्ष र ठूलो बलिदानीको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानका उल्लेखित मौलिक अधिकार लगायतका विषयवस्तु कार्यान्वयन गरी जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न सबैको इमान्दार प्रयासको खाँचो औंल्याइन् ।
 
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोकतान्त्रिक मूल्यमान्यतालाई राजनीतिक दल, नागरिक समाज र भ्रातृ सङ्गठनलाई एक ठाउँमा भेला भएर जनता र मुलुकको हित प्रवद्र्धनका लागि अनुभव साटासाट गर्न सकियोस् भन्ने हेतुले संविधान दिवसका अवसरमा लोकतन्त्र मेला आयोजना गरिएको जानकारी दिए । 
 
सो अवसरमा संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र सङ्घीयताः हिजो, आज र भोलि, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले  संविधान र समावेशिता तथा अधिवक्ता माधवकुमार बस्नेतले संविधान र मौलिक हक विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि नेपाल कानुन आयोगका निवर्तमान अध्यक्ष माधव पौडेलले टिप्पणी गरे ।
 
त्यस अवसरमा सभापति मेघी गुरुङद्वारा लिखित नेपालमा कानुनको सामाजिक जाँच ९उत्तरविधायिकी परीक्षण० नामक पुस्तिकको लोकार्पण गरिएको थियो ।