बलिप्रथा भ्रम र पशुअधिकारको संरक्षण

आश्विन २०,२०७८



असोज २०,२०७८ काठमाडौं ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै नजिकिदै छ । यस पर्वमा देवी देवताको नाममा देशका हजारौ शक्तिपीठहरुमा पशुपंक्षीहरुको बलि दिने गरिन्छ । कतिपय शक्ति पीठहरुमा पशुहरुलाई दुख ,पीडा , कष्ट दिएर क्रुर तरिकाले काटमार तथा  हत्या गरिन्छ ।
 
उधाहरणको लागि गुल्मी जिल्लाको मदाने गाँउपालिकामा रहेका म्यालपोखरी, बाँझकटेरी र पूर्कोटदह समेतका कोटहरुमा बोका र राँगाको बलि दिईन्छ । राँगाहरु बकेर्ना टकेर्ना गरी ठूलाठूला चढाईन्छ ,उनीहरुलाई काटने बेलामा टाउको बटार्दिने र पुच्छर तान्दिने समेतका कार्य गरी कायल पारेर लुलो वनाएर तडपाईतडपाई काटिन्छ । त्यसैगरी प्यूठान जिल्लाको बाँधिकोटको शक्तिपिठमा भर्खर जन्मिएका दुधे लैना पाडाहरुलाई बलि चढाई काटिन्छ ।गुल्मीको मर्भुङको कोटमा त शान्तिको दुत परेवा समेत  चढाई काटिन्छ ।
 
यी त केबल दृष्टान्त मात्र हुन यस्तो प्रकारको कार्य मुलुकका हजारौ स्थानहरुमा हुने गर्दछ । ती निर्दोश पशुहरुको पीडामा र उनीहरुको हत्यामा हामी मानवहरुले गौरव महशुस गरेका छौ, मनोरन्जन गरेका छौ, यो दृष्य देख्दा लाग्छ मानवको संवेदना हराईसकेको छ, मानव प्रवृति दानवीय प्रवृतिमा रुपान्तरण हुँदै गईरहेको आभास हुन्छ ।
 
पशुहरुलाई धेरै किसिमले मानिसले कष्ट दिईरहेका हुन्छन । परम्परा तथा धर्मको नाममा लाखौ पशुहरुलाई निर्ममतापूर्वक रेटेर मार्ने , एक ठाँउबाट अर्को ठाँउमा ‌ओसारपसार गर्दा कष्टपूर्ण तरिकाले गर्ने , हाँस कुखुरालाई निर्जिव वस्तु सरह उधोमन्टो लगाएर तथा झुण्डाएर साईकलमा राखेर  ओसार्ने, पशुको क्षमता र शारीरिक अवस्थालाई वेवास्ता गरी भारी वोकाउने, पशुहरुबाट फाईदा आउन्जेल लिउने ततपश्चात सडकमा लगेर छाडने, जङगली जनावरलाई कष्टपूर्ण तवरले थुनेर राख्ने, जीउदो चौरी गाईबाट रगत निकालेर पिउने लगायतका कार्यहरुबाट पशुहरुमाथि मानिसले क्रुर र यातनापूर्ण व्यवहार गरेको पाईन्छ ।
 
पशुहरुको अवस्था अत्यन्त दयनीय र कारुणीक रहेको छ । मानवहरुको यसप्रकारको कार्यले गर्दा पशुपन्छीहरुको बाँच्न पाउने अधिकारको हनन भएको अवस्था छ ।
मानवको जिवनमा आठ प्रकारको आवाश्यकताको जरुरत पर्दछ, जसमा भोक प्यास मेटाउने शारीरिक आवाश्यकता, कामवासनाको जरुरत मेटाउने सेक्सुअल निड, सुरक्षाको आवाश्यकता, प्रेमको आवाश्यकता ,समाज तथा संगठनको आवाश्यकता, एस्टिम निड तथा महत्वकांक्षा,स्वयथार्त वोध एवं सेल्फ एक्चुअलाईजेशन निड,मुमुक्षा एवं परम स्वतन्त्रताको आवाश्यकता पर्दछन ।उक्त आवाश्यकताहरुलाई तिन हिस्सामा बांडन सकिन्छ ।जस्तो पाशविक एवं एनिमल निड,  मानवीय आवाश्यकता र दिव्य एवं डिवान निड पर्दछन ।
 
उल्लिखित आठ प्रकारका आवाश्यकता मध्यै पाँच प्रकारको आवाश्यकता पशुलाई पनि जरुरत पर्दछ जसलाई एनिमल निड भनिन्छ । पशुपंक्षीहरुको पनि सुन्दर समाज तथा संगठन हुन्छ, सामाजिक व्यवस्था हुन्छ, उनीहरुलाई पनि सुरक्षा चाहिन्छ, भोजन चाहिन्छ, कामवासनाको तृप्ती चाहिन्छ, उनीहरुलाई पनि प्रेम चाहिन्छ । मानिसहरुको जस्तै पशुपंक्षीहरुको पनि आफ्नो स्वतन्त्रता रहेको हुन्छ । उनीहरुलाई पनि वाँच्न पाउने हक हुन्छ । उनीहरुको स्वतन्त्रताको सम्मान गर्नु मानवको कर्तव्य हुन्छ । यो जगत सवै प्राणीहरुको हो ।यस जगतमा वाँच्न र नाच्न पाउने सवैको अधिकार छ ।
 
परम्परागतरुपमा पशुपंक्षीलाई मानिसको निजी सम्पति मानिन्थ्यो र उनीहरुलाई जुनसुकै प्रकारको व्यवहार गर्न पाउने छुट मानिसमा हुन्छ भन्ने मान्यता थियो तर अहिले मानिसले पाल्ने पशुपंक्षी जसले पालेको छ उसको निजी सम्पति भए तापनि  मानिसले स्वेच्छाचारी र अमानवीय तवरबाट पशुपंक्षीहरुको प्रयोग गर्न सक्दैन । मानिसको निजी सम्पति भए तापनि पशुपंक्षीमा जीवन रहेको हुन्छ र त्यस जीवनको सम्मान गर्नु मानिसको कर्तव्य हुन्छ । अन्य निर्जिव बस्तु सरह पशुपंक्षीलाई व्यवहार गर्न पाईदैन ।
 
प्राण हुने भएकोले पशुपंक्षीमा पनि मानिसमा जस्तै भावना हुन्छ, पीडा आनन्द, डर, दया, माया, निरासा जस्ता मनोविज्ञानहरु उनीहरुमा पनि रहेका हुन्छन। त्यसकारण दया, माया, करुणा लगायतका मूल्यमान्यताको आधारमा मानवले उनीहरुसंग व्यवहार गर्नु पर्छ ।
 
पशुकल्याण सम्वन्धी आधारभूत सिद्धान्तले पनि पशुपंक्षीहरुको आधारभूत पक्षको सुनिश्चितता गरेको छ । पशुपंक्षीलाई भोक , प्यास र कुपोषण हुन नदिने , डर त्रास र तनाव हुन नदिने, भौतिक तथा शीत र तापजन्य असुविधाबाट सुरक्षित गर्ने ,पीडा ,घाउचोट र रोग व्याधिबाट सुरक्षित राख्ने , सामान्य व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने हक सुनिश्चित गर्ने समेत रहेको छ। पशुअधिकार सम्बन्धी आधुनिक अवधारणा अनुसार मानिसवाहेकका अन्य प्राणीहरुको पनि यातना र पीडाबाट मुक्त भई जीउन पाउने हक हुन्छ । प्रतेक नागरिकहरुमा प्राणीहरुप्रति दया र करुणा राख्ने कर्तव्य रहन्छ ।
 
धर्मशास्त्र अनुसार देवी भगवतीलाई जगत जननी मानिन्छ । जननी भनेको आमा हुन ।धार्मिक मान्यता अनुसार देवी भगवती सम्पूर्ण प्राणी मात्रकी जननी हुन । आमाका लागि  आफ्ना हरेक सन्तति प्रति अतुलनीय ममता र करुणा रहन्छ । उनै जननीका नममा उनकै सन्ततीले उनकै सन्ततीलाई वली दिएर देवी खुसी र सन्तुष्ट हुन्छिन होला त रु  यो भ्रम मात्र हो, अवश्य हुदिनन।
 
हाम्रो देशमा मठ मन्दिरहरु लाखौ छन र त्यसमा दैनिकरुपमा हजारौको संख्यामा पशु बली दिईन्छ ।हिन्दु समाजमा बलीप्रथा निकै लामो समयदेखि चलिआएकोले जरो गाडेको छ । यस बलीप्रथा हरेक दृष्टिकोणले उपयुक्त मानिदैन । पशुको पनि बाँच्न पाउने हक हुन्छ भन्ने कानूनी मान्यता बिसौ शताव्दीको उपज हो । जेरमी वेन्थमले कसैको अधिकारको सम्बन्धमा निश्कर्ष निकाल्दा  त्यो वस्तु वोल्न वा तर्क गर्न सक्छ वा सक्दैन भन्ने आधारमा नभएर उसले पीडा वोध गर्छ गर्दैन भन्ने आधारमा निचोडमा पुग्नु गर्दछू भनी भनेका छन ।
 
तसर्थ जसरी मानिसले पीडा बोध गर्दछ त्यसैगरी पशुपंक्षीले पनि पीडाबोध गर्दछ र आफ्नो भाषामा पनि अभिव्यक्त गर्दछ । जनावरमा पनि पिडा ,आनन्द ,निराशा ,डर,हतास, एक्लोपना, मातृत्व ,प्रेम महशुस गर्ने क्षमता र स्वभाव हुन्छ । यसैको आधारमा नै अधिकारको निर्धारण गरिनु पर्दछ ।
 
महात्मा गान्धीले कुनै पनि देश कति महान छ हेर्नलाई त्यहाँ मानिसले पशुहरुसंग गरेको व्यवहारलाई हेर्नु पर्दछू भनी भनेका छन । बर्नाडशाले जनाबरहरु मेरा मित्र हुन मैले मेरा मित्रहरुलाई हत्या गरेको छैन  भनेका छन । पाईथागोरसले जबसम्म जनावरको हत्या चलिरहन्छ मानिसले एकअर्काको हत्या पनि गरिनैरहनेछ ।बास्तवमा जसले हत्या र पीडाको बिउ रोप्छ उसले आनन्द र प्रेम फलाउन सक्दैन भनी भनेका छन । लियोटल्सायले जबसम्म जनाबरहरु मारिनेछन तबसम्म युद्ध भईरहनेछ भनी भनेका छन ।
 
कानूनी रुपमा पनि पशु अधिकार र कल्याण सम्वन्धमा व्यवस्था गरिएको पाईन्छ । मुलुकी अपराध संहिता २०७४ को  परिच्छेद २७ ले पशुपंक्षी सम्वन्धी कसुरको सम्बन्धमा व्यवस्था गरेको छ । अन्तराष्ट्रिय कानूनी दस्तावेजहरुले पनि पशु अधिकार र कल्याणको संरक्षणको व्यवस्था गरेका छन । भारतीय अदालतले समेत पशु अधिकारको संरक्षण गर्ने गरी आदेश दिएको पाईन्छ ।  नेपालमा पनि सर्वोच्च अदालतले पशु अधिकार र कल्याणको लागि तथा बलीप्रथा विरुद्धमा निर्देशात्मक आदेश जारी गरेको अवस्था छ ।
 
अत पूर्बीय दर्शन ध्यान योग र साधनामा आधारित मोक्षमार्गी दर्शन हो । हिन्दु धर्म पनि यही दर्शनमा आधारित छ । हिन्दु धर्मले पुनर्जन्ममा विश्वास राख्दछ । यसर्थ पुनर्जन्ममा विश्वास गर्नेले हत्याहिंसा गर्नुहुदैन भन्ने मान्यता छ । जनावरलाई हत्या गर्ने गराउनेले जीवनप्रति सम्मान दिदैन । जसलाई जीवनप्रति सम्मान छैन उ गहिरो प्राथनामा डुव्न पनि सक्दैन । जसले परमात्माका अन्य सन्तान माथि मित्रभाव राख्दैन उ स्वयम परमात्माप्रति मित्रभावमा रहन पनि सक्दैन ।बलीप्रथा धार्मिक, सामाजिक, साँस्कृतिक, पर्यावरणीय, नैतिक वा तार्किक कुनै पनि पक्ष वा दृष्टिकोणबाट उपयुक्त मानिदैन ।
 
अन्तत यो प्रथा  क्रमश वन्द गरिनु नै पर्दछ ।पशु बलिको सट्टामा अन्य चिजवस्तुको बलि दिने प्रथा शुरुवात गरिनु पर्दछ । धर्म संस्कृतिको नाममा  निर्दोश प्राणीको क्रुर तरिकाले हत्या गर्ने साथै मन्दिर जस्तो पवित्र स्थललाई बधशालामा रुपान्तरण गर्ने र पशुहरुको रगतको आहालमा होली खेल्ने जस्तो निर्दयी कार्य र  व्यवहारलाई निरुत्साहित गरिनु पर्दछ ।
 
देवी देवताको नाममा मान्छैको स्वार्थ पूरा गर्ने , मनोरन्जनको नाममा मनोघात गर्ने र शक्ति प्राप्त गर्ने नाममा अहंकारको पूर्ति गर्ने जुन प्रवृति छ त्यसमा रुपान्तरणको खाँचो छ । धर्म भनेको प्रणीको कल्याण गर्नु हो । हरेक प्रणी ईश्वरका सृष्टि हुन र सन्तान हुन तसर्थ प्राणीको हत्या गरेर धर्म प्राप्ति हुन्छ भन्नु ठूलो भ्रम हो ।
 
यस्तो कार्यबाट नत धर्म प्राप्त हुन्छ नत शान्ति र आनन्द प्रप्ति हुन्छ । पवित्र धार्मिक स्थलमा पशुपंक्षीहरुको बलि चढाउनुको सट्टा आफूभित्र रहेका रिपुहरु कामवाशना, क्रोध, लोभ, मोह , द्धेष र ईर्श्याको बलि चढाई आफूलाई रुपान्तरण गरिनु पर्दछ । ओशो भन्नुहुन्छ मान्ने होईन जान्ने र जाग्ने हो। परम्पराको नाममा निर्दोश पशुको क्रुर तरिकाले पशुबलि दिने प्रथालाई मानेर होईन त्यसप्रति जानेर र जागेर अध्यात्मलाई आत्मसात गरेर शान्ति र आनन्द प्राप्त गरौ ।