काठमाडौँ महानगरको पार्किङ सहितको आठतले भवन बन्ने

आश्विन २६,२०७८

-आस्था न्यूज

असोज २६,२०७८ काठमाडौं।
काठमाडौँ महानगरपालिकाको आठतले केन्द्रीय भवनको शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले टेकु ९हाल वातावरण विभाग रहेको ठाउँ०मा भूमिगत तलासहितको आठतले भवन शिलान्यास गर्नुभएको हो ।
 
सो भवन कुल तीन ३ हजार ८३ दशमलव ८२ वर्ग फुट क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । भवन ६ हजार ६८३ दशमलव ३३ वर्गमिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउन्ड कभरेज ४० प्रतिशत हुनेछ । भवनमा १० जना क्षमताका दुईवटा लिफ्ट जडान हुनेछन् । भवन २०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्नेछ ।
 
समानान्तर निर्माण सेवा प्रालिले ६९ करोड ५८ लाख १९ हजार ३५९ रुपियाँमा भवन निर्माणको जिम्मा पाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालिले संयुक्त रूपमा तयार पारेको हो ।
 
शिलान्यासपछि प्रमुख शाक्यले भन्नुभयो, “सुरुमा हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ तर मुद्दा–मामिलामा अल्झिनुपरेकाले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौ ।” मुद्दा किनारा लागेपछि भवनलाई पुनर्निर्माण गरिने उहाँले भन्नुभयो ।
 
त्यस क्रममा उहाँले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हाबी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको अनुभव सुनाउनुभयो । शाक्यले आगलागी नियन्त्रण गर्ने दमकल भवन निर्माण गर्ने योजनासमेत मुद्दा खेप्नुपरेको नमीठो अनुभव सुनाउनुभयो ।
 
सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठले समयमा भवन निर्माण सम्पन्न भएर नागरिकले सुविधासम्पन्न ठाउँबाट सेवा लिन पाउने अपेक्षा गर्नुभयो । सरकारका पात्र परिवर्तन भइरहन्छन् तर स्वीकृत कार्यक्रम नियमित चलिरहन्छ । यसको दिगोपनाका लागि कर्मचारीले चनाखो हुनुपर्ने बताउनुभयो । भवन भूूकम्पीय सुरक्षाका कोणबाट दरिलो र बाहिरबाट हेर्दा आकर्षक हुने उहाँको अपेक्षा गरिएको छ ।
 
कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, महानगरका नीतिको कार्यान्वयनबाट देखिने विकास महसुस हुन थालेको बताउनुभयो । वडा १२ का अध्यक्ष विकास डङ्गोलले आफ्नो वडामा महानगरको केन्द्रीय कार्यालय निर्माण हुनुले आफूलाई वडाध्यक्षका रूपमा गौरव महसुस भएको उल्लेख गर्नुभयो ।
 
करिब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधि प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ गर्न सकिनेछ । गोरखापत्रमा खबर छ ।