तुइन काटिएको विषयमा सम्बोधन गर्ने भारतको प्रतिबद्धता

आश्विन २६,२०७८

-आस्था न्यूज

आश्विन २६, २०७८ काठमाडौं ।
भारतीय सशस्त्र सुरक्षा बल ९एसएसबी० ले तुइन काटिदिँदा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय पक्षले अनुसन्धान गर्ने र त्यसको रिपोर्टको आधारमा नेपाली पक्षको चासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
 
पाँच दिनको भारत भ्रमण सकेर सोमबार साँझ नेपाल फर्किएका पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सहमहामन्त्री प्रकासशरण महत नेतृत्वको टोलीसँग सत्तारुढ भारतीय जनता पार्टीका पदाधिकारी र सरकारका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएको महतले बताए ।
 
‘तुइन प्रकरणलाई सामान्य घटनाका रुपमा निलिइयोस्, हेर्दा सामान्य लागे पनि यो नेपाली जनताको भावनासँग जोडिएको विषय हो । तल्ला निकायबाट गल्ती हुन्छन् । त्यस्ता गल्तीलाई स्वीकारेर भविष्यमा यस्ता घटना दोहोरिन दिन्नौँ भन्दा भारतको महानता नै बढ्छ’ भारतीय विदेशमन्त्री र सत्तारुढ दलका अध्यक्षसहित पदाधिकारीसँगका भेटवार्ताबारे आफूले राखेको अडान उल्लेख गर्दै महतले भने, ‘हामी सडकमा आक्रोश पोख्दैनौँ । 
 
हामीले भन्ने ठाउँ यहीँ हो । विना हिच्किचावट कुरा राख्छौँ भनेर मैले तुइन प्रकरणदेखि महाकाली र लिप्यियाधुरा अतिक्रमणको विषयसमेतमा हाम्रो धारणा प्रष्ट राखेँ । भारतीय पक्षले हामीले उठाएका सबै विषयलाई सकारात्मक रुपमा लिएका छन् ।’
 
महतका अनुसार तुइन प्रकरणमा भारतले नेपालले पठाएको कुटनीतिक नोटको अध्ययन गर्ने र आफ्नो पक्षबाट अनुसन्धनान गरी नेपाली पक्षको चासो सम्बोधन गर्न तयार भएको बचन दिएको छ ।
 
गत साउन १५ गते भारतीय सशस्त्र बल एसएसबीले तुइनको तार काटिदिँदा नेपाली युवा धामी नदीमा खसेर बेपत्ता छन् । यस विषयमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको समितिले एसएसबीलाई दोषी देखाउँदै कारवाहीको सिफारिस गरेको थियो । समितिको रिपोर्ट आएको लामो समयपछि सरकारले भारतस्थित नेपाली दूतावासमार्फत् कुटनीति नोट पठाएको थियो । कान्तिपुरबाट