मंसिर २७ देखि प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

मंसिर ०६,२०७८

-आस्था न्यूज

मंसिर ६, २०७८ काठमाडौं ।
पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ ।
 
सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो । 
 
प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ ।
 
प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ ।  
 
प्रतियोगिताका सबै खेलहरु आर्मी अफिसर्स क्लबको दुई वटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् । 
 
प्रतियोगिताका सम्पूर्ण खेलहरु कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर खेलाइने नेपाली सेनाले जनाएको छ ।
 
प्रतियोगितामा सहभागी खेलाडीहरूले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०/५० हजार रुपैयाँ धनराशीको पुरस्कार पाउनेछन् भने डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
 
त्यस्तै भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आउँदो मंसिर २७ देखि पौष ५ गतेसम्म हुनेछ ।