‘ओलीलाई फादर अफ द नेशनको रुपमा युवाले स्विकारिसके’: महेश बस्नेत

मंसिर ०७,२०७८

-आस्था न्यूज

मंसिर ७, २०७८ काठमाडौं ।
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।
 
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए । 
 
नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे । उनले भने,‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’
 
पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए । उनले भने,‘जनपरिचालनको हिसाबले हामीयो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ ।’
 
उनले नेतृत्व चयनको विषयमा अनेकखालको बहस हुने गरेको पनि स्मरण गराए । उनले भने,‘कम्युनिष्ट पार्टी नेताप्रधान होईन, नीति प्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो, तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौं, दुईधारको संघर्षको नाममा नोहरुलाई खुईल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ ।
 
भारतले नरेन्द्र मोदीलाई र चीनले सि जिनफिङलाई अघि बढाएका छन्। यो महाधिवेशनबाट हामी केपी ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसबाले अगाडि बढाउन चाहिरेका छौं ।’ 
 
अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा नेपालको गरिमा विश्वसामू बढेको पनि बस्नेतले स्मरण गराए । उनले भने,‘केपी ओलीले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा जुनखालको प्रभाव दिनुभयो, त्यसले नेपाली जनताको शान, मान र गौरव बढ्यो । संसारको मार्गचित्रमा नेपालको गरिमा बढेको छ ।’
 
उनले रिपोर्टर्स क्लबमार्फत अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए । उनले भने,‘उहाँले दुई कारणले उम्मेद्धवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेद्धवारी दिने अनि जित्ने कुनै सम्भावना छैन् ।
 
तर, पराजित भएपनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ, भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन । उहाँले उम्मेद्धवारी फिर्ता गरेर जानुपर्छ । चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ, विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ ।’ 
 
उनले कम्युनिष्ट आन्दोलनलाई थप क्षति नहोस भनेर रावलले उम्मेद्धवारी फिर्ता लिँदा नै राम्रो हुने टिप्पणी गरे । 
 
विगतमा मधेशमा एमाले र ओलीविरुद्ध गतिविधि भएको पनि बस्नेतले स्मरण गराए । उनले भने,‘अहिले एमालेको प्रभाव दुई नम्बर प्रदेशमा धेरै राम्रो प्रभाव छ । एमालेको लहर सिर्जना भएको छ । द्धन्द्धको बेलामा एमालेको मनोभाव कमजोर थियो । ओलीले कार्यकर्ताको संरक्षण गर्नुभयो । हामीले एमालेको पँक्तिको मनोवल बढाउने काम गर्यौं ।
 
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कामको नेतृत्व ओलीले गर्नुभयो । एमालेको सरकार मजबुद बनाउने कुरामा, मधेशका मुद्दा सम्बोधन गर्ने, विप्लव समूह र सिके राउतलाई मूलधारमा ल्याउन भूमिका खेल्नुभयो । त्यसको लागि हामीले सशक्त भूमिका खेल्यौं । मैले भक्तपुरलाई नमूना विकासको मोडेल जिल्लाको रुपमा अघि बढाएको छु । १३ महिना उद्योगमन्त्री भएको बेला सुधारको लागि मैले धेरै भूमिका खेलेको छु ।
 
जिर्ण रहेका उद्योगलाई पूनर्जिवन दिएँ । विकासको एउटा मोडेलको रुपमा झत्तपुरलाइ अघि बढाएको कुरा सबैलाई थाहा नै छ, सरकारको नेतृत्व गर्दा अध्यक्ष ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्ने अभियानमा म सशक्त रुपमा अघि बढेको छु, म सधैं अग्रपँक्तिमा लागें ।’
 
उनले यसपटकको महाधिवेशनमा तीन खालको नेतृत्व समेट्नुपर्ने पनि सुझाव अघि सारे । उनले भने,‘एउटा लामो समय योगदान दिएका नेताहरुलाई समेट्नुपर्छ, अर्को समावेशीको मुहारलाई देखाउन केन्द्रीय कमिटी चयन गर्नुपर्छ र नयाँ पुस्ताका (कामकाजी पुस्तालाई) समेट्नुपर्छ । अहिले पार्टीमा संस्थागत् गुटबन्दी सकिएको छ ।
 
तर हिजो संकट हुँदा एमालेलाई काँध थापेर अघि बढेको समूह छ, माओवादीबाट आएकाहरुलाई पनि समेट्नुपर्नेछ, माधव नेपाल छोडेका साथीहरुलाई समेट्नुपर्छ । निर्वाचन हुँदापनि विवेकपूर्ण ढंगले उहाँहरुलाई समेट्नुपर्छ । यदि विवेक पुगेन भने केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित गर्ने प्रावधानअनुसार पदाधिकारीमा पनि मनोनित गर्ने मोडेलमा जानुपर्छ ।’
उनले एमालेमा अहिले तीन खालको उमेर समूह रहेको पनि सुनाए ।