आइतबार सेयर बजारमा भारी अंकको गिरावट

मंसिर १२,२०७८

-आस्था न्यूज

मंसिर १२, २०७८ काठमाडौं ।
मौद्रिक समीक्षापछि आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत राखेपछि आइतबार बजारमा ८०.२९ अंकको गिरावट आएको हो ।
 
यसअघि मौद्रिक नीतिले एक बैंकबाट सेयरमा लगानीका लागि ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । समीक्षामार्फत यो व्यवस्थाको दायरा बढाइने धेरैको अनुमान थियो । परिसूचकमा भारी गिरावट आए पनि कारोबार रकम केही बढेको छ । ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ ।
 
आइतबार सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ३४, ब्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैंक २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रोफाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अंकले घटे । १८२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मात्रै बढेको छ ।