प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

पौष २७,२०७८

-रासस

पुस २७, २०७८ काठमाडौं। 
प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा एपीएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो । 
 
यस जितसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो । बागमती र प्रदेश नं २ को समान दुई÷दुई अङ्क छ । बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ भने बागमतीले प्रदेशले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाए । 
 
एपीएफका लागि लोकेश बमले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलको सामना गदै १० चौका र एक छक्काको मद्दतमा  ५० रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ३६ रन जोड्दै अविजित रहे । 
 
बलिङतर्फ बागमती प्रदेशका प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो । बागमती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खान १९ रन बनाए । 
 
एपीएफका अविनास बोहराले सर्वाधिक ४ विकेट लिए भने कमल ऐरीले दुई विकेट हात पारे । त्यस्तै शरद् भेषवाकर र किशोर महतो एक/एक विकेट लिए ।