डेल्टा र ओमिक्रोन जस्ता भाइरससँग जुध्न जीवनशैली सुधार्न सुझाव

माघ ०९,२०७८

-आस्था न्यूज

माघ ९, २०७८ काठमाडौं
कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड-१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ । यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ
 
तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सजग र सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।
 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनले नेपालमा देखिएको कोभिड-१९ को नयाँ सङ्क्रमणको लहर तीन दिनदेखि एक सातासम्म रहेको पाइएको बताउनुभयो उहाँले अहिले नेपालमा देखिएको कोभिड-१९ को लक्षण र प्रभाव हेर्दा नयाँ लहर लामो समयसम्म नरहने बताउनुभयो ।
 
नेपालमा ओमिक्रोन र डेल्टाको अनुपातबारे अध्ययन गर्न बाँकी नै रहेको बताउँदै उहाँले बेलायत, अमेरिका र अफ्रिकाजस्ता देशमा डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ती देशहरूमा ७०-८० प्रतिशतसम्म डेल्टा भाइरसलाई ओमिक्रोनले प्रतिस्थापन गरेको छ । लक्षणका आधार र ती देशको आधार मान्ने हो भने ओमिक्रोन बढेको छ । परीक्षण गर्न महँगो र जनशक्तिको अभाव हुँदा नेपालमा ओमिक्रोनको अनुपात कस्तो भन्ने यकिन हुन सकेको छैन ।”
 
फरक लक्षण
डा. पुनका अनुसार कोभिड–१९ को नयाँ लहरमा अलि फरक लक्षण देखिएको छ । डेल्टा भाइरसले स्वास्थ्य निकै जटिल बनाएपछि ओमिक्रोनले त्यति धेरै गलाउन नसकेको उहाँले बताउनुभयो । डा. पुनले भन्नुभयो, “डेल्टा भाइरसले निमोनिया, श्वासप्रश्वास गर्न गाह्रो हुने, ज्वरो अत्यधिक, स्वाद गन्ध थाहा नपाउने र खोकी लाग्ने लक्षण थियो तर ओमिक्रोनको सङ्क्रमण त्यत्ति जटिल छैन ।” उहाँका अनुसार ओमिक्रोन भाइरसको सङ्क्रमणबाट घाँटी दुख्ने, टाउकोको अगाडिको भाग र आँखा दुख्ने, शरीर असाध्यै दुख्ने र मन्द ज्वरो आउने लक्षण देखिएका छन् ।
 
उहाँले भन्नुभयो, “लक्षणकै आधारमा यही हो भन्न मिल्दैन । सङ्क्रमितको अवस्था हेर्दा अहिलेको लहर त्यति खतरापूर्ण देखिँदैन । खोप लगाइसकेको हुनाले लक्षण मन्द र सामान्यीकरण हुँदै गएको हो भन्न सकिन्छ ।”
 
कसरी जोगिने ?
कोभिड–१९ को नयाँ लहरले क्रसित बनाए पनि यसबाट बच्नका लागि आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने डा. पुनको धारणा छ ।
 
उहाँले भन्नुभयो, “कोभिड-१९ बाट बच्ने उपाय सर्ने तयारीसँग सम्बन्धित हुन्छ । हावाबाटै सर्ने भएकाले सङ्क्रमित कोही भएमा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गर्ने र मास्क लगाएमा यसको जोखिम कम हुन्छ ।” डा. पुनले यस पटक तीन दिनदेखि एकसातासम्ममै सङ्क्रमितले स्वास्थ्यलाभ गरिसकेको पाइएको बताउनुभयो । उहाँले दीर्घरोगीलाई स्वास्थ्य समस्या आउन सक्ने बताउँदै स्वास्थ्य जटिल भएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिनुभयो ।
 
जीवनशैलीमा सुधार आवश्यक
मनोचिकित्सक डा। कपिलदेव उपाध्यायले कोभिड-१९ प्रकोप सुरु भएपछि नेपाली स्वास्थ्य क्षेत्रमा भौतिक सुधार भएको बताउनुभयो तर स्वास्थ्य सुविधा वृद्धि हुनुभन्दा पनि बिरामी नहुनेतर्फ ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
 
उहाँले भन्नुभयो, “कोभिड-१९ जस्ता महामारीसँग जुध्न जीवनशैली परिवर्तन गर्नुपर्छ । खानेकुराबाटै रोग भित्रिन्छ । जथाभावी खाने र जीवनशैली भड्किलो त्याग्नुपर्छ । ”
 
प्रदूषित वातावरणका कारण युवावस्थामै गम्भीर रोग लाग्ने, मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता रोग बढेको बताउँदै डा।.उपाध्यायले प्रत्येक व्यक्ति सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “निद्रा राम्रो छैन, रोग प्रतिरोधी शक्ति कम छ भने प्रकोपसँग लड्न सकिँदैन । त्यसैले सन्तुलित खाना खाने, चिनीबाट बनेका मिठाई, मादक पदार्थ, चुरोट आदि नखाने र नियमित शारीरिक व्यायाम गर्नुपर्छ । ” गोरखापत्रबाट